दक्षिण एसियाली फुटबल: कमजाेर रहेन भूटान, संकटमा नेपाल – Nepal Press

दक्षिण एसियाली फुटबल: कमजाेर रहेन भूटान, संकटमा नेपाल

काठमाडौं । केही वर्षअघिसम्म भूटान दक्षिण एसियाको सबैभन्दा कमजोर टोली मानिन्थ्यो । हुन पनि दक्षिण एसियाली फुटबल महासंघ-साफ च्याम्पियनसिपमा ८ संस्करण खेल्दा भूटानको प्रदर्शन कमजोर रहँदै आएको थियो । उसले २४ खेलमा २२ हार, एक जीत र एक बराबरीको नतिजा निकालेको छ ।

सन् २००८ मा आयोजित साफ च्याम्पियनसिपमा भूटानले पहिलो चरणमा बंगलादेशसँग १-१ गोलको बराबरी र अफगानिस्तानलाई ३-१ गोलले हराएर सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यतिवेला सेमिफाइनलमा भारतले भूटानलाई २-१ गोलले हराउन अतिरिक्त समयसम्म खेल्नुपरेको थियो ।

त्यसपछि भूटानले पहिलो चरणमा बराबरीसमेत पनि खेल्न सकेन । अन्तिमपटक सन् २०१८ मा सहभागी हुँदा समूहगत चरणमा भूटानले बंगलादेशसँग २-०, नेपालसँग ४-० र पाकिस्तानसँग ३-० गोलको हार व्यहोरेको थियो ।

तर, पछिल्ला चार वर्षमा भूटान फुटबलमा फरक देखिएको छ । सन् २०१९ मा आयोजित दक्षिण एसियाली खेलकुद-सागअन्तर्गत पुरुष फुटबलमा भूटानले अप्रत्याशित नतिजा निकाल्यो । भारत सहभागी नभएको त्यस प्रतियोगितामा भूटान फाइनलसम्म पुगेको थियो । फाइनलमा नेपालसँग २-१ गोलको नतिजामा पराजित भएको थियो ।

पाँच टोली राउन्ड रोबिन लिगको प्रतिस्पर्धामा शीर्ष दुई स्थानमा रहेर नेपाल र भूटानबीच उपाधि भिडन्त भएको थियो ।

लिग चरणमा भूटानले बंगलादेशलाई १-०, माल्दिभ्सलाई २-१ र श्रीलंकालाई ३-० गोलले हराएको थियो । नेपालसँग भने ४-० गोलले पराजित भएको थियो । साग फुटबलमा यू-२३ राष्ट्रिय टोली सहभागी हुन्छन् । सन् २०१९ मै आयोजना भएको साफ यू-१८ च्याम्पियनसिपमा भूटान सेमिफाइनलसम्म पुगेको थियो ।

समूहगत चरणमा भूटानले नेपाललाई ३-० गोलले हराएको थियो भने माल्दिभ्ससँग गोलरहित बराबरी खेलेको थियो । भूटान गत वर्ष आयोजना भएको साफ च्याम्पियनसिपमा भने सहभागी भएन । यसै वर्ष भारतमा आयोजित साफ यू- २० च्याम्पियनसिपमा पनि भूटान थिएन ।

तर, बहराइनमा भइरहेको एएफसी यू- २० एसिया कप छनोटमा भने भूटानले शानदार सुरुवात गरेको छ । समूहगत चरणको आफ्नो पहिलो खेलमा भूटानले शनिबार राति नेपाललाई २-० गोलले पराजित गरेको छ ।

दक्षिण एसियाली फुटबलमा भारत सबैभन्दा बलियो मानिन्छ । दोस्रो स्थानका लागि भने माल्दिभ्स, बंगलादेश र नेपालको प्रतिस्पर्धा देखिने गरेको थियो । तर, पछिल्लो समय भूटान पनि सशक्त टोली भएर देखापरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *