प्रकाशमानलाई मिश्रका १५ प्रश्न- बीपी, किसुनजी र गणेशमानको आदर्श मारेर मलाई व्यंग्य ? – Nepal Press

प्रकाशमानलाई मिश्रका १५ प्रश्न- बीपी, किसुनजी र गणेशमानको आदर्श मारेर मलाई व्यंग्य ?

१५ प्रश्नमार्फत् दिए जवाफ

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले आज कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई १५ बुँदे प्रश्न तेर्स्याएका छन् ।

हिजो एक सार्वजनिक कार्यक्रममा सिंहले मिश्रलाई आफ्नो पार्टी दुई वर्ष टिकाउन नसक्नेले देश बनाउन नसक्ने भन्दै आरोप लगाएका थिए ।

उनले भनेका थिए, ‘नयाँ दलहरू के भन्छन् भने- पुरानाले गर्न सकेन । अब हामी आउँछौं, गर्छौं । आफ्नो नेतृत्वमा स्थापना गरेको दललाई त एक/दुई वर्ष टिकाउन सक्दैन भने काम गरेर देखाउनसक्ला ? क्षमता होला ?’

नयाँ दल खोल्नु भनेको नाङ्लो पसल राख्नुजस्तै भएको नेता सिंहले बताएका थिए । उनले भनेका थिए, ‘नयाँ दल खोलेर परिवर्तन गर्छु भन्नेको हालत के छ ? त्यो त देखिइहाल्यो नि !’

सोही व्यंग्यको जवाफ फर्काउँदै फेसबुकमार्फत मिश्रले सिंहलाई उल्टै १५ प्रश्न तेर्स्याएका हुन् ।

जसमा उनले लेखेका छन्,‘लगातार १५ वर्ष (तीन पटक) सांसद भइसकेका एकजना ‘वरिष्ठ नेता’ ले मलाई नराम्रैसँग व्यङ्ग गर्नुभएछ । उहाँले यसअघिको चुनावमा त मेरो दिवंगत बुबालाई घोचपेच गर्नुभएको थियो । अहिले मलाई गर्नुभएछ, त्यो चाहिँ ठिकै भयो । तर, उहाँलाई केही प्रश्न सोध्नै मन लाग्यो ।’

त्यसपछि क्रमशः उनले १५ प्रश्न उल्लेख गरेका छन् । जसमा १५ वर्ष सांसद हुँदा संसदमा उपस्थित भएको/नभएको, नभएको दिनको भत्ता खाएको नआएको, सांसद भएर देशको तात्कालिक र दूरगामी राष्ट्रिय महत्वका विषयमा बोलेको/नबोलेको, राजधानी सहर काठमाडौं व्यवस्थित पार्न भूमिका निर्वाह गरेको/नगरेको, वातावरणमन्त्री हुँदा काठमाडौंको वातावरण स्वच्छ बनाउन भूमिका खेलेको/नखेलेको लगायतका प्रश्नहरू उल्लेख छन् ।

यस्तै काठमाडौंका सम्पदा संरक्षण, वागमती नदी तथा खोलानालाको प्रदूषण, सुशासन कायम तथा भ्रष्टाचार न्यूनीकरण, नागरिकता विधेयक लगायतका विषयका प्रश्नहरू पनि उल्लेख छन् ।

यस्तो आफूलाई दुई वर्ष पार्टी टिकाउन नसकेको भन्ने व्यंगका विषयमा उनले कांग्रेस नेताहरू बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको आदर्श नै देशको हितमा रहेछ भन्ने बोध भएर मार्ग परिवर्तन गरेको प्रष्टोक्ति दिएका छन् ।

‘तपाईंले मलाई दुई वर्ष पनि पार्टी टिकाउन नसक्ने भन्नु भएछ । मैले त बीपी, कृष्ण प्रसाद र गणेशमानहरूको आदर्श नै यो देशको हितमा रहेछ भन्ने बोध भएपछि मार्ग परिवर्तन गरेको हुँ,’ उनले लेखेका छन्, ‘गत स्थानीय चुनावमा नराम्रो नतिजा आएपछि अध्यक्ष पदबाट राजीनामा दिएको हुँ ।’

बरु सिंहले नै ती महान् नेताको आत्मा मारेको मिश्रको आरोप छ । ‘तपाईंले त ती तिनै महान् नेताका आत्मा मारिदिनुभयो,’ उनले अगाडि लेखेका छन् ।

१५ वर्ष सांसद, मन्त्री, उपप्रधानमन्त्री, पार्टीको उपसभापति, महामन्त्री भएर सिंहले केही गर्न नसकेको मिश्रको उल्टो आरोप छ । उनले लेखेका छन्, ‘मौका पाए कोही नबस्ने देश बनाउनु भयो । राष्ट्रपतिदेखि प्रधानमन्त्री, सर्वोच्च, प्रहरी, प्रशासन, अख्तियार, सबैलाई राजनीतिकृत, भ्रष्ट र असक्षम बनाइदिनुभयो । खै के भनुँ !’

अहिले आफूलाई व्यंग्य गर्नुभन्दा आफूजस्तै राजनीतिबाट राजीनामा दिन सिंहलाई सुझाएका छन् । ‘अहिले बेकारमा मलाई व्यङ्ग गर्नु हुन्छ । मैले त पार्टी अध्यक्षबाट राजीनामा दिएँ, तपाईं चाहिँ राजनीतिबाटै राजीनामा दिने कि?,’ उनले अगाडि लेखेका छन् ।

हेर्नुस् प्रकाशमानलाई मिश्रका १५ प्रश्न


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर