सडकमा सत्ताको तामासा- गृहमन्त्रीका कार्यकर्ताले गरे लाठीचार्ज, राज्यको लाठी लुकाउँदै पछि हटे प्रहरी – Nepal Press

सडकमा सत्ताको तामासा- गृहमन्त्रीका कार्यकर्ताले गरे लाठीचार्ज, राज्यको लाठी लुकाउँदै पछि हटे प्रहरी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक विधेयक स्वीकृत नगरेको भन्दै सत्तारुढ नेपाली कांग्रेसनिकट नेपाल विधार्थी संगठनका नेता कार्यकर्ता आइतबार इट्टा, लाठ्ठी र चिर्पटसहित सडकमा उत्रिए ।

प्रहरी र नेविसंघ कार्यकर्ताबीच झडपको स्थिति बन्यो । नेवि संघ कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्लादहन गरे। हातमा लाठी बोकेर हिँडेका नेविसंघका कार्यकर्ताले प्रहरीलाई लाठीचार्ज गर्दा कानूनले नै लाठीचार्ज गर्ने अधिकार दिएका प्रहरी निरीह भएर सरकारले दिएको लाठी लुकाएर बसिरहेका थिए ।

नेवि संघ कार्यकर्ताहरु आक्रामक बन्दै गरेका बेला फिल्डमा खटिएका प्रहरी भने आफैँ संयमित भइरहेका थिए । फिल्ड कमान्डरहरुले प्रहरीलाई रोकिरहेका थिए । सरकारको निर्णयको पक्षमा सत्तारुढ दलकै कार्यकर्ताहरु आन्दोलनमा निस्कनु स्वभाविक मानिदैन।

राष्ट्रपति भण्डारीले प्रतिपक्ष दलहरुलाई साथ दिएर नागरिकता विधेयक अड्काएको आरोप सत्तारुढ दल र उसका संगठनहरुको छ।

तर सामान्य प्रदर्शनमा समेत बल प्रयोग गरिहाल्ने प्रहरी आइतबारको प्रदर्शनमा संयमित हुनुलाई स्वभाविक मान्न सकिँदैन । सरकारले प्रहरीलाई रोकेर आफ्ना कार्यकर्तालाई प्रतिपक्षीविरुद्ध कसरी प्रयोग गर्छन् भन्ने एउटा उदाहरण पनि हो । नेवि संघ हालका गृह मन्त्री बालकृष्ण खाँण कुनैबेला अध्यक्ष रहेको संगठन पनि हो ।

नेपाल प्रहरीका पूर्वनायव महानिरिक्षक डीआईजी हेमन्त मल्ल सत्ताको आडमा प्रहरीमाथी दमन हुनुले राज्यका सुरक्षा एजेन्सीहरु कमजोर बन्ने बताउँछन् ।

‘हाम्रो दुर्भाग्य के भने सत्तामा जो छ, उ र उसका नजिकका हरुसँग राज्यका अन्य एजेन्सीहरु डराउँछन्’, मल्ल भन्छन्, ‘प्रहरीले आफुले चाहेअनुसार र आवश्यकताअनुसार गर्न नपाएर दमन मात्र सहि रहँदा त्यसले उनिहरुको आत्मसम्मानमा पनि असर गर्छ।’

लामो समय गम्भीर अपराध अनुसन्धानमा बिताएका पूर्व डीआईजी मल्ल सत्ताले बारम्बार झुकाउँदा प्रहरीले साँच्ची नै आवश्यक परेका बेला खह्रोरुपमा नउत्रने सम्भावना रहने बताए। ‘प्रहरीले आफ्नो जिम्मेवारीअनुसार काम गर्न पाएन भने राज्यलाई साँच्चीकै आवश्यकता परेका बेला उनिहरुको आवश्यक उपस्थिती नदेखिन सक्छ’, मल्लले भने।

गृह मन्त्रीले कुनै समय नेतृत्व गरेको संस्था भएका हिसाबले संगठनका कार्यकताहरुमा जे गरेपनि न्यायसंगत हुने र त्यसले राजनीतिकरण पाउने सोच उनिहरुमा रहने सुरक्षा अधिकारीहरु बताउँछन् । ‘हाम्रोजस्तो राजनीतिक शक्ति केन्द्रको बलियो हस्तक्षेप रहेको सुरक्षा संगठनमा प्रहरीले लाठ्ठी हान्नु अघि त्यो व्यक्ती कुन पार्टीको हो भनेर सोच्नुलाई अस्वभाविक मान्नु हुँदैन’, नेपाल प्रहरीका एक बहालवाल उच्च अधिकारी भन्छन्। राष्ट्रघाती विधेयक भन्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेयक स्वीकृत गर्न आनाकानी गरिरहेकी छन् ।

उनले पहिलोपटक अस्विकृत गरेर फिर्ता पठाएकामा संसदले फेरी पास गरेर स्विकृतीका लागि राष्ट्रपतीलाई पठाएको हो । नेवि संघले बिहान प्रदर्शन गरेपछि त्यसको काउन्टरमा प्रतिपक्षी दल एमालेनिकट अनेरास्ववियुले अपरान्ह नागरिकता विधेयकको विरोध र राष्ट्रपति भण्डारीको समर्थनमा जुलुस निकालेको छ।

भिडिओ:

 

 


प्रतिक्रिया

One thought on “सडकमा सत्ताको तामासा- गृहमन्त्रीका कार्यकर्ताले गरे लाठीचार्ज, राज्यको लाठी लुकाउँदै पछि हटे प्रहरी

  1. परमादेशि ग्रिहमन्त्रि नेबिसँघ र ठगबन्दनको हो देशको होिन् ुस्को काम नै तमासा देखाउनु र दलालको चाकढि र गुलामि गर्नु अनि प्रहरिलाइ निरिह बनाउनु हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर