मदिरा सेवन गरी पिट्ने गरेको भन्दै श्रीमतीको हत्या, शव सडे पनि सिमकार्डबाट फेला परे अभियुक्त
काठमाडौं । मदिरा सेवन गरेर पिट्ने गरेको भन्दै एक व्यक्तिले ललितपुरको फुलचोकी जंगल पुर्याएर श्रीमतीको हत्या गरेको दावी प्रहरीले गरेको छ।
४७ वर्षीया रुपा क्षेत्रीको शव आइतबार दिउँसो गोदावारीबाट करिब ६ किलोमिटरको दुरिमा रहेको फुलचोकी जङ्गलमा फेला परेको थियो । स्थानीयले शव भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए । शव सडिसकेको अवस्थामा भेटिएपनि घाँटीमा डोरीले कसेको जस्तो देखेपछि प्रहरीले हत्या आशंका गरेको थियो ।
घटनास्थलमा भेटिएको मोबाइल र मृतक महिलाको ब्यागमा रहेको पुरुष व्यक्तिको पासपोर्ट साइजको फोटोका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सोमबार बिहान ६३ वर्षीय घ्याल्मो लामा पक्राउ परेका छन् । लामा मृतक क्षेत्रीका श्रीमान हुन् ।
प्रहरीले घटनास्थलमा भेटिएको मोबाइल र तस्वीरका आधारमा लामाको पहिचान गरेको थियो । ललितपुर प्रहरी परिसर प्रमुख यज्ञविनोद पोखरेलले लामाले श्रीमतीको हत्या गरेको स्वीकार गरेको दाबी गरे। प्रहरीका अनुसार भदौ १६ गते लामाले श्रीमतीको हत्या गरेका हुन् । छोरीको घरमा बस्दै आएका लामा त्यस दिन श्रीमतीसँग झगडा परेपछि निस्किएर हिँडेका थिए । त्यसपछि क्षेत्री पनि श्रीमानको पछि लागेकी थिइन् ।
बिहानै श्रीमतीले रक्सी खाएर आएर दुई थप्पड हानेपछि लामा घरबाट निस्किएका रहेछन् । त्यसपछि श्रीमानको पछिपछि लाग्दै गाडीमा चढेका उनीहरु पछि ओर्लिएर फुलचोकी जंगलमा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यहाँ विवाद हुने क्रममा दुईमध्ये एक नरहने कुरा उठेपछि लामाले नजिकै रहेको डोरीले घाँटी कसेर श्रीमतीको हत्या गरेको पाइयोु, एसएसपी पोखरेलले भने ।
मृतक क्षेत्री, लामाकी तेस्रो श्रीमती हुन् । २०७२ सालको भुकम्पपछि ज्यामी काम गर्ने क्रममा उनीहरुबीच भेट भएर सँगै बस्न थालेको लामाले प्रारम्भिक अनुसन्धानका क्रममा बताएका छन् ।
तर सँगै बस्न थालेको ६ महिनापछि नै उनीहरुबीच सम्बन्ध बिग्रिएको लामाले बताएका छन् । श्रीमतीले सँधै रक्सी खाने र पिट्ने गरेपछि लामाले घर छाडेर हिँड्न थालेका रहेछन् । त्यसपछि लामालाई खोज्न उनी पछि लाग्ने रहिछन् । अस्ती मातातीर्थ औँसीको बेला पनि क्षेत्री करिब दुई साता घर छाडेर पछि फर्किएको लामाले बताएका छन्, पोखरेलले भने । प्रहरीका अनुसार उनीहरुतर्फबाट छोराछोरी छैनन् ।
सडिसकेको शव पोस्टमार्टमका लागि पठाइएकाले रिपोर्ट आएपछि थप कुराहरु खुल्न सक्ने प्रहरीले जनाएको छ ।