कांग्रेस सहमहामन्त्री तथा खानेपानी मन्त्री उमाकान्त चौधरीसहित ३ नेता ‘निलम्बित’ – Nepal Press

कांग्रेस सहमहामन्त्री तथा खानेपानी मन्त्री उमाकान्त चौधरीसहित ३ नेता ‘निलम्बित’

काठमाडौं । चुनावको टिकट वितरणको रस्साकस्सी चलिरहेका बेला नेपाली कांग्रेसको बारा जिल्लाले खानेपानी तथा सरसफाइ मन्त्रीसमेत रहेका केन्द्रीय सहमहामन्त्री उमाकान्त चौधरीसहित तीनजना नेतामाथि अनुशासनको कारवाही सिफारिस गरेको छ ।

जिल्ला अनुशासन समिति बाराले भदौ २८ गते मंगलबार केन्द्रीय अनुशासन समितिलाई जानकारी गराएको पत्रमा सहमहामन्त्री चौधरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको उल्लेख छ ।

त्यस्तै, जिल्ला अनुशासन समितिले पूर्वसांसद तथा महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र २ नम्बर क्षेत्रीय समितिका सभापति रामप्रवेश प्रसाद यादवलाई पनि निलम्बन गरिएको जानकारी लिखित रुपमा पठाइएको छ ।

स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन अन्तर्घात गरेको उजुरीको आधारमा सहमहामन्त्री एवम् खानेपानी मन्त्री चौधरी, पूर्वसभासद यादव र क्षेत्रीय सभापति यादवलाई जिल्ला अनुशासन समितिको बैठकको निर्णय अनुसार साधारण सदस्य नरहने गरि निलम्बन गरिएको नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराका संयोजक अरूण कुमार यादवले बताए ।

संयोजक यादवका अनुसार मन्त्री चौधरीले नेपाली कांग्रेसका सिम्रौनगढ नगरपालिकाको मेयर पदका उम्मेदवार विजयशंकर यादवविरूद्ध लागि लोसपाका उम्मेदवारको पक्षमा मत मागेको, पूर्व सभासद यादव र क्षेत्रीय सभापति यादवले महागढीमाई नगरपालिकाका उम्मेदवार उपेन्द्र प्रसाद यादवको विरूद्धमा लागि जसपाका उम्मेदवारको क्याम्पमै गएर मत मांगेको र मत दिलाउन लगाएकाले पार्टीको साधारण सदस्य समेत नरहने गरि निलम्बन गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर