एमालेले असोज १ गते बिहान पदयात्रा गरेर दिन खोजेका यी हुन् दुई सन्देश – Nepal Press

एमालेले असोज १ गते बिहान पदयात्रा गरेर दिन खोजेका यी हुन् दुई सन्देश

काठमाडौं । संविधान दिवसको सातौं वर्षगाँठका अवसरमा नेकपा एमालेले असोज १ गते काठमाडौंमा आयोजना गर्ने पदयात्रा (वाकाथन) बाट एकैसाथ दुई सन्देश दिने भएको छ ।

संविधासनभामा संविधान निर्माणको अगुवाइ गरेका तथा संविधान जारी गरेबापत भारतले लगाएको नाकाबन्दीको समेत सामना गरेका नेता केपी शर्मा ओलीको नेतृत्वमा एमालेले पदयात्रा गर्न लागेको छ ।

ओली आफैं नयाँ बानेश्वरदेखि बसन्तपुरसम्म पैदल हिँड्नेछन् । एमालेले असोज १ गते वाकाथन गरेर एकातिर संविधान निर्माणको अगुवाइ गरेको पार्टीले नै संविधानको वास्तविक स्वामित्व लिएको सन्देश दिन खोजेको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने, ‘सबैलाई थाहा छ । त्यसवेला संविधान जारी गर्न कांग्रेस डराइसकेको थियो । माओवादी पनि अलमलमा थियो विशेषगरी प्रचण्ड भारतबाट फर्केपछि । त्यसवेला एमाले र त्यसको अध्यक्ष केपी ओलीले लिएको अडानका कारण संविधान जारी भयो र त्यसबापतको नाकाबन्दीको सामना पनि उहाँले नै गर्नुभयो । त्यसैले यो संविधानको पूर्ण स्वामित्व कसैको छ भने एमालेकै हो भन्ने सन्देश दिन खोजेका छौं ।’

एमालेले वाकाथनमार्फत दिन खोजेको दोस्रो सन्देश भनेको अब सिंगो पार्टी पंक्ति चुनावी दौडमा अघि बढेको छ । असोज २ गते समानुपातिकतर्फको बन्दसूची पेस हुनुभन्दा अगाडि एमालेले राजधानीमा पदयात्रा गरेर पार्टी चुनावको दौडमा होमिएको सन्देश दिन खोजेको रिजालले बताए ।

उनले भने, ‘एमाले कसैको बैशाखी टेकेर, को गठबन्धनमा आउला भनेर पर्खिने पार्टी होइन । अध्यक्षकै नेतृत्वमा पदयात्रा गरेर देशभरको पार्टी पंक्तिलाई ‘रेडी, गेट, सेट अनि गो’ भन्न खोजेको हो । यो पदयात्रा मंसिर ४ सम्म रोकिँदैन ।’

एमाले नै संविधानको संरक्षक भएको तथा चुच्चे नक्सा जारी गरेर मुलुकको गुमेको भूभाग फिर्ताको प्रक्रिया थालेको विषयलाई एमालेले अघि सारेको छ । असोज १ गते शनिबार बिहान पौने ७ बजेबाट सुरु हुने पदयात्रामा सहभागी हुन एमालेले सबैमा आह्वान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर