वैद्यका विद्यार्थीको उद्दण्डताः विजयस्मारकका प्रअलाई कार्यकक्षमै दले कालोमोसो (भिडिओ) – Nepal Press

वैद्यका विद्यार्थीको उद्दण्डताः विजयस्मारकका प्रअलाई कार्यकक्षमै दले कालोमोसो (भिडिओ)

एमसीसीको विषयमा विद्यार्थीलाई क्लास लिन नदिएको आरोप

काठमाडौं । आफूलाई अखिल क्रान्तिकारी वैद्य समूहका नेता भन्दै चिनाएका केही युवाले विजयस्मारक विद्यालयका प्रधानाध्यापकलाई कार्यकक्षभित्रै दुर्व्यवहार गरेका छन् । एमसीसीलगायत राष्ट्रघातका विभिन्न विषयमा विद्यार्थीहरुलाई क्लास लिने प्रस्ताव अस्वीकार गरेको भन्दै उनीहरुले प्रधानाध्यापक डिल्लीप्रसाद शर्मा ढकाललाई कालोमोसो दलेका हुन् ।

आज बिहान १० बजेर २० मिनेट जाँदा दुई युवाहरु सो स्कुलमा प्रवेश गरेका थिए । उनीहरुले केही कुरा राख्नुपर्ने भन्दै प्रधानाध्यापक ढकाललाई भेटे । त्यसपछि ढकालले आफ्नै कार्यकक्षमा राखेर उनीहरुको कुरा सुनेका थिए । कुराकानीकै क्रममा एकजना युवा थपिएका थिए ।

ती युवाले एमसीसीलगायतका विषयमा विद्यार्थीहरुलाई कक्षा लिन चाहेको भन्दै समय मिलाइदिन अनुरोध गरे । तर, प्रधानाध्यापक ढकालले अहिले विद्यालयमा पठनपाठन भइरहेको र कक्षा ११ मा भर्नाको क्रम पनि चलिरहेकाले तत्काल कक्षा उपलब्ध गराउन नसक्ने बताए । उनले बरु अन्तिम पिरियडमा मिलाइदिने भने पनि युवाहरुले मानेनन् । त्यसपछि विवाद सुरु भएको थियो ।

विवादकै बीच सो विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र शिक्षक-अभिभावक संघका अध्यक्ष पनि प्रधानाध्यापकको कार्यकक्षमा आइपुगेका थिए । उनीहरुले पनि प्रअ ढकाललाई साथ दिँदै विद्यार्थीको पढाइमा अवरोध हुने गरी राजनीतिक विषयमा क्लास लिन नदिइने बताए ।

‘यसरी विद्यार्थी संगठनका नाममा गतिविधि गर्न दिँदै जाने हो भने भोलि विद्यालय नै राजनीतिक थलो बन्न पुग्छ’, सबैको साझा भनाइ थियो ।

त्यसपछि व्यवस्थापन समिति अध्यक्ष र शिक्षक-अभिभावक समिति अध्यक्ष त्यहाँबाट निस्किए । उनीहरु गएपछि युवाहरु प्रअमाथि खनिएका थिए । उनीहरुले प्रअलाई कारबाहीको चेतावनी दिँदै त्यहाँबाट निस्किए । प्रअ पनि खाना खान क्यान्टिनतिर लागे ।

खाना खाएर फर्किँदा ती तीनैजना फेरि उनकै कार्यकक्षमा पर्खिरहेका थिए । आफू पस्नासाथ उनीहरुले ‘तपाईं हामीलाई क्लास लिन नदिने ?’ भन्दै कालोमोसो दलेको ढकालले बताए ।

‘एकाएक छापामार शैलीमा कालोमोसो दले र फोटोहरु खिचेर हिँडे’, उनले भने । ढकालका अनुसार त्यतिबेला उनको कार्यकक्षभित्र विद्यालयका अरु कोही पनि उपस्थित थिएनन् ।

प्रअ ढकालले विद्यार्थी संगठनका नाममा गरिएको ज्यादतीविरुद्ध कानूनी उपचारमा जाने बताएका छन् । उनले आफूनिकट शिक्षक संगठनलाई घटनाबारे जानकारी गराइसकेका छन् । ढकालका अनुसार ती विद्यार्थीहरुले अखिल क्रान्तिकारी वैद्य समूहको केन्द्र, प्रदेश र जिल्ला नेताका रुपमा आफूलाई चिनाएका थिए ।

 


प्रतिक्रिया

One thought on “वैद्यका विद्यार्थीको उद्दण्डताः विजयस्मारकका प्रअलाई कार्यकक्षमै दले कालोमोसो (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर