कांग्रेसका टिकट आकांक्षी शेखरको दैलो धाउँदै, सीट बाँडफाँटमा दबाब बढाउँदै – Nepal Press

कांग्रेसका टिकट आकांक्षी शेखरको दैलो धाउँदै, सीट बाँडफाँटमा दबाब बढाउँदै

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छ । त्यहाँ प्रधानमन्त्रीका रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विराजमान छन् । जहाँ दिनहुँ सत्तारूढ गठबन्धनका शीर्ष नेता र सीट बाँडफाँट कार्यदलको बैठक बसिरहन्छ ।

महिनौंदेखि चल्ने यस्ता बैठकहरूको समयावधि पछिल्ला दिनहरूमा झन्झन् लम्बिँदै गएको छ । तर, सीट बाँडफाँट टुंगिने छाँटकाँट छैन । सीट बाँडफाँट कार्यदल र शीर्ष नेताहरूबीचको माथापच्चीले भागबन्डा अझै अन्योल छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नजिकै कांग्रेसका नेता शेखर कोइरालाको सचिवालय छ । जहाँ हरेक दिन बिहान ठूलै जमघट हुन्छ । त्यहीबाट कोइरालाले सीट बाँडफाँटमा दबाब बढाइरहेका छन् । उनले भन्दै आएका छन्, ‘कांग्रेसलाई प्रतिनिधिसभामा १०० सीटभन्दा तल झारेर गठबन्धन गरे निकै ठूलो समस्या निम्तिनसक्छ ।’

कोइराला त्यत्तिमै सीमित छैनन् । गठबन्धनमा कांग्रेस १०० सीटभन्दा तल झरे बहुसंख्यक क्षेत्रमा कांग्रेसका ‘बागी’ उम्मेदवार उठ्नसक्ने धम्की दिइरहेका छन् उनी । देशभरबाट टिकटको आशा बोकेर आएका हजारौं नेता-कार्यकर्ताहरूसँग पनि उनी त्यसैगरी प्रस्तुत भइरहेका छन् ।

बालुवाटारमा रहेको उनको सचिवालयमा यो सिलसिला चलेको महिनादिन बढी भइसक्यो । उनी दिनहुँ सचिवालयमै बसेर नेता-कार्यकर्ताहरुसँग भेटघाट गरिरहेका छन् । त्यहीबाट आकांक्षीका नाम संकलन गर्ने, उनीहरूका कुरा सुन्ने, जिल्ला तथा निर्वाचन क्षेत्रको रिपोर्टिङ लिइरहेका छन् । आफूकहाँ आउने नेता–कार्यकर्ताहरुको रिपोर्टिङअनुसार गठबन्धनको सीट बाँडफाँटमा दबाब सिर्जना गर्ने काम गरिरहेको स्रोत बताउँछ ।

सचिवालयमा यो कामका लागि बिहान ८ देखि ११ बजेसम्मको समय निर्धारण गरिएको छ । सचिवालयका अनुसार महिनादिनदेखि निरन्तर यसरी नै नेता-कार्यकर्ताहरूसँग भेटघाट र रिपोर्टिङ चलिरहेको छ ।

‘दैनिक ५ सयभन्दा बढी नेता-कार्यकर्ता आउने गरेका छन् । उहाँले सबैका कुरा सुन्नुहुन्छ । उम्मेदवारका आकांक्षीहरूले आफ्नो नाम टिपाउनु पनि हुन्छ’, सचिवालय स्रोतले भन्यो ।

यसरी आउनेहरू शेखर समूहका मात्रै नरहेको सचिवालयको दाबी छ । सचिवालयका एक सदस्यले भने, ‘कांग्रेसका सबै नेतासँग निकट रहेका नेता-कार्यकर्ताहरू आइराख्नुभएको छ । शेखर’दाले सबैका कुरा समान ढंगबाट सुनिराख्नुभएको छ ।’

यसरी आउनेहरू अधिकांशले गठबन्धनमा नगई कांग्रेस एक्लै लड्नुपर्ने धारणा राखिरहेको सचिवालयका ती सदस्यले बताए । ‘शेखर‘दा पनि तालमेलको पक्षमा त हुनुहुन्न । पार्टी बैठकले नै निर्णय गरेपछि मान्नैपर्छ भन्ने अवस्थामा हुनुहुन्छ’, ती सदस्यले भने, ‘तर, पार्टीले कांग्रेसको एकल बहुमत आउने गरी तालमेल गर्ने निर्णय गरेकाले सीट बाँडफाँट पनि सोहीअनुसार हुनुपर्नेमा उहाँको जोड छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर