चुनावी मिसनमा युवा संघ : प्रचार भेलाका लागि देशभरबाट प्रतिनिधि डाकियो (सर्कुलरसहित) – Nepal Press

चुनावी मिसनमा युवा संघ : प्रचार भेलाका लागि देशभरबाट प्रतिनिधि डाकियो (सर्कुलरसहित)

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले निर्वाचनलक्षित राष्ट्रिय प्रचार भेला आयोजना गर्ने भएको छ । आगामी असोज ७ गते हुने राष्ट्रिय प्रचार भेला-२०७९ मा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतासहित विविध विषयगत प्रशिक्षण हुनेछ । कार्यक्रममा प्रदेशदेखि गाउँपालिकाबाट प्रतिनिधि छनोट र सहभागिताका लागि संघले सर्कुलर जारी गरेको हो ।

संघका अध्यक्ष किरण पौडेलले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित भेलामा प्रत्येक प्रदेश, जिल्ला र पालिका तहसम्म प्रचार विभाग र साइबर सर्कल विभाग गठन गरी प्रमुख र उपप्रमुख तोकेर छनोट गरी असोज ४ गतेभित्र केन्द्रीय कार्यालयमा नाम पठाउन मातहतका कमिटीहरुलाई सर्कुलर जारी गरेका हुन् ।

मिडिया समन्वय, समाचार लेखन, सम्प्रेषण आदिमा अनुभव, रुचि, दक्षता भएका युवाहरुलाई प्रचार विभागमा र इन्टरनेट, सामाजिक सञ्जालमा सक्रिय, अनुभव, रुचि र दक्षता भएका युवाहरुलाई साइबर सर्कल विभागमा समेटेर प्रतिनिधि चयन गरी पठाउन सर्कुलरमा भनिएको छ ।

प्रदेश कमिटीबाट प्रचार र साइबर सर्कल विभागका प्रमुखसहित ९ जना, जिल्लाबाट अध्यक्ष, प्रचार साइबर सर्कल विभागका प्रमुखसहित ४ जना, महानगरबाट ४ जना, नगरबाट २ जना, अन्तर जिल्ला कमिटीबाट २ जना तथा गाउँपालिका २ जना प्रतिनिधि छनोट गरी सहभागीताका लागि पठाउन निर्देशनमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर