फुलकोर्टको निर्णय- ‘सिटिङ जज’लाई महाअभियोग समितिमा बोलाउन मिल्दैन
काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्ट बैठकले महाअभियोग सिफारिस समितिले बोलाएको ठाउँमा बयान दिन नजाने निर्णय गरेको छ ।
बहालवाला न्यायाधीशलाई महाअभियोग लगाइएको अवस्था बाहेक बयानका लागि बोलाउनु अपरिपक्व निर्णय भएकाले नजाने सहमति भएको एक न्यायाधीशले नेपाल प्रेसलाई बताए ।
यसअघि महाअभियोग सिफारिस समितिले बयानका क्रममा चोलेन्द्रले मुछेका नामहरूलाई पनि बोलाएर बुझिने निर्णय गरेको थियो।
आफू विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि हाल सिफारिस समितिसँग बयान दिइरहेका चोलेन्द्रले सर्वोच्च अदालतका केही न्यायाधीशदेखि वरिष्ठ वकिल, नेता, पत्रकारहरूको नाम लिएका थिए ।
उनी विरुद्ध सोधिएका ४३ प्रश्नको जवाफ दिने क्रममा चोलेन्द्रले आफू विरुद्ध ल्याइएको महाअभियोगको प्रस्ताव वाइयात भएको तर्क गरेका थिए।
सर्वोच्च अदालतका एक न्यायाधीशले महाअभियोग लागेका व्यक्तिले नाम मुछेकै भरमा सर्वोच्च अदालतका बहालवाला न्यायाधीशलाई बयानमा बोलाइनु स्वतन्त्र न्यायपालिकाको अवधारण विपरीत भएको निष्कर्ष निकाल्दै फुलकोर्टले उक्त निर्णय गरेको बताए ।
उनले भने, यो स्वतन्त्र न्यायपालिकाको अवधारण विपरीत भयो भन्ने हाम्रो ठहर रह्यो ।’
यसअघि महाअभियोग सिफारिस समितिको बुधवारको बैठकले सर्वोच्च अदालतका कामु प्रधान न्यायाधीश दीपककुमार कार्कीसहित हरिकृष्ण कार्की, प्रकाशमान सिंह राउत, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई बयानमा बोलाउने निर्णय गरेको थियो । त्यस लगत्तै फुलकोर्टको बैठक बसेको थियो ।
असोज १ गतेदेखि चालू संसद्को आयू सकिन लागेकाले त्यसअघि नै प्रतिवेदन पेश गर्नुपर्ने दबाबमा महाअभियोग सिफारिस समिती रहेको छ । चालू संसद्ले यो प्रक्रिया पुरा नगरे के हुने भन्नेमा संविधानविद्हरू नै विभाजित देखिएका छन् ।