पछि हट्यो पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, निगमसँग ३ बुँदे सहमति – Nepal Press

पछि हट्यो पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, निगमसँग ३ बुँदे सहमति

२० प्रतिशत ढुवानी भाडा वृद्धि हुने

काठमाडौं । नेपाल आयाल निगमले नेपाल पेट्रोलियम ढुवानी व्यवसायीसँग सबै माग पूरा गर्ने ३ बुँदे सहमति गरको छ । ढुवानी भाडा २० प्रतिशत वृद्धि गर्न निगम तयार भएको हो । सरकारसँग ३ बुँदे सहमतिसँगै व्यवसायीले विरोधका कार्यक्रम फिर्ता लिएका छन् ।

भदौ १९ गतेबाट हवाई इन्धन ढुवानी बन्द भएको थियो भने आगामी महिनाबाट सबै प्रकारको ढुवानी बन्द गर्ने भनेर व्यवसायीले घोषण गरेको थिए । तर सरकारले नै व्यवसायीको सबै माग पूरा गर्ने भन्दै सहमति गरेको हो । उद्योग दिलेन्द्र बडू, नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानी र महासंघका पदाधिकारीहरुबीच आज साँझ सहमति भएको हो । असोज ७ गतेभित्र व्यवसायीको सबै माग सम्बोधन गर्ने सहमति पत्रमा उल्लेख छ ।

यस्ता छन् ३ बुँदे सहमति

१. नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विगत लामो समयदेखि ढुवानी भाडा समयसापेक्ष वृद्धि तथा समायोजनका लागि पेश भएका मागका विषयमा व्यवसायीका माग अनुरुपको भाडा वृद्धि सम्बन्धि सञ्चालक समितिमा पेश भएको प्रतिवेदन आगामी असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमति गरियो ।

२. नेपाल पेट्रोलियम टैंकर चालक संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले राखेका मागका सम्बन्धमा महासंघको प्रतिनिधिसहित सम्बन्धित संघ तथा संगठनको प्रतिनिधीहरूको उपस्थितिमा आवश्यक छलफल गरी शीघ्र उचित सम्बोधन गर्ने ।

३. आज भएको सहमति र आउँदै गरेको नेपालीहरूको महान चाडपर्वहरूका कारण आमजनताको आवागमनलाई ध्यानमा राखी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सञ्चालन गरेका आन्दोलनका कार्यक्रमहरू हाललाई स्थगित गरी आजैको मितिबाट आपूर्ति सहज गर्न ढुवानी सेवा सुचारु गर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *