ट्राफिक रुल- नगरौं है भुल (तस्बिरहरू)
काठमाडौं । यो भएन, त्यो भएन भन्दै अरुलाई दोष थोपर्ने बानी परेका हामी आफैँ चाहिँ कति जिम्मेवार र अनुशासित छौं भन्ने केहीबेर सडकमा उभिए थाहा भइहाल्छ ।
कुनै पनि देशको सभ्यताको मापन ट्राफिक व्यवस्थापन पनि हो । तर, काठमाडौं उपत्यकालगायत ठूला सहरका सडकमा जेब्राक्रस, आकाशे पुल हुँदाहुँदै जथाभाबी बाटो काट्नेहरू भेटिन्छन् । फुटपाथको प्रयोग नगर्ने, जहिले हतार गर्ने, मोबाइलमा व्यस्त हुँदा सामान्य असावधानीले दुर्घटना निम्तिरहेको छ । जानेबुझेका भनिने नै सडक नियमको पालनामा लापरबाही गर्छन् ।
तथ्यांकमा पनि अधिकांश सवारी दुर्घटनामा मृत्यु र घाइत हुने पैदलयात्री बढी छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले एकताका ट्राफिक नियम नपछ्याउने पैदलयात्रीलाई जरिबाना सुरू गरेको थियो । त्यसको विरोध भएपछि सडकमै केहीबेर उभ्याएर सचेत गराउन थालियो । अहिले त्यो पनि छैन ।
त्यसो त सवारी चालक नै पनि सडक आफ्नै मात्र हो भनेजस्तो गरी पैदलयात्रीको अधिकारमा ख्याल नै गर्दैनन् । स्पष्ट देखिने गरी ट्राफिक संकेत नराख्ने, आवश्यकताअनुसार जेब्राक्रस नहुने भएको ठाउँमा संकेत मेटिने, बढी चाप हुने ठाउँमा आकाशे पुल नबनाउँदा सर्वसाधारणलाई पनि सास्ती छ ।
हेरौं काठमाडौंको सडकका केही तस्बिरहरू: