सेनामा एक वर्षमै फेरियो कमान्ड कन्ट्रोल संरचना, प्रधानसेनापति शर्माले ब्युँताए ८ पृतना – Nepal Press

सेनामा एक वर्षमै फेरियो कमान्ड कन्ट्रोल संरचना, प्रधानसेनापति शर्माले ब्युँताए ८ पृतना

काठमाडौं । नेपाली सेनामा निवर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले सफलताका रूपमा अघि सारेको कमान्ड कन्ट्रोलको संरचना एक वर्षमै फेरिएको छ ।

प्रधान सेनापति प्रभुराम शर्माले ८ वटा पृतनाको संरचना ब्युँताएका छन् । यद्यपि पृतना ब्युँतिए पनि यसअघि कायम रहेको थ्री प्लस वन संरचना अवधारणाका रूपमा अस्तित्वमा रहने र आवश्यक परेका बेला उक्त संरचनामा पनि जान सकिने नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

‘थ्री प्लस वनको संरचना विस्थापित गरेर पृतना संरचनामा जाने निर्णय भएको छ तर थ्री प्लस वन अवधारणा भने कायम रहन्छ । राज्यलाई आवश्यक परेका बेला त्यो संरचनामा जान सकिने विकल्पसहित अहिलेलाई पृतना ब्युँताइएको हो’, उनले भने । सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको कमान्ड संरचना परिवर्तन गर्ने निर्णय गरेको हो ।

तत्कालीन प्रधान सेनापति थापाले २०७८ साउन १ गतेदेखि नेपाली सेनामा पूर्वी कमान्ड, मध्य कमान्ड र पश्चिम कमान्ड अनि उपत्यका कमान्डको संरचना ल्याएर पृतनालाई विस्थापित गरेका थिए । सैनिक मुख्यालयअन्तर्गत ती चारवटा कमान्ड कन्ट्रोल रहने व्यवस्था थियो ।

तत्कालीन सैनिक नैतृत्वले थ्री प्लस वनको संरचना नेपालको रणनीतिक र भौगोलिक हिसाबले निकै महत्वपूर्ण र सान्दर्भिक रहेको दाबी गरेको थियो । तर, नेपाली सेनाको नयाँ कमान्ड संरचनाले राज्यको प्रशासनिक संरचनासँग तारतम्य मिलाउन नसकेको सैनिक प्रवक्ता सिलवालले बताए ।

प्रदेशगत संरचनामा देशभर सातवटा प्रदेश रहेको तर नेपाली सेनाको भने थ्री प्लस वन संरचना भएकाले राज्यको प्रशासनिक संरचनाअनुसार काम गर्न कठिनाइ भएको उनको भनाइ छ ।

‘तर, त्यतिबेला थ्री प्लस वनको संरचनामा जाँदा पनि हाम्रो दरबन्दी थप भएको थिएन । अब पृतनाको संरचनामा जान पनि दरबन्दी थप हुने छैन’, उनले भने । पृतनाको नेतृत्व उपरथीले गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर