देशभरका प्लस टूका शिक्षकहरूद्वारा आज पेन डाउन, चुनावपछि भौतिक आन्दोलन गर्ने चेतावनी
काठमाडौं । देशभरका प्लस टूका शिक्षकहरूद्वारा आज पेन डाउन (कलम बन्द) गरेका छन् ।
विद्यालयको संरचना कक्षा १२ सम्म पुर्याएपछि पनि सरकारले प्रति विद्यालय दुई जना अस्थायी शिक्षक, केही आंशिक र अनुदानका गरी जम्मा ६ हजार शिक्षकलाई मात्र अस्थायी रुपमा व्यवस्थापन गर्दै आएको हुँदा आफ्नो न्यायोचित व्यवस्थापनको माग गर्दै शिक्षकहरूले आज पेन डाउन गरेका हुन् ।
त्यसैको विरोधमा भदौ १७ गते बाट देशभर दवावमूलक कार्यक्रमहरु आयोजना गरेको थियो ।आज शिक्षकहरुले विद्यालय गएर आन्दोलनको विषयमा विद्यार्थीहरुलाई समेत जानकारी गराएका थिए । तर अध्यापन भने गराएनन् ।
भदौ २६ र २७ गते देशका सबै निर्वाचन क्षेत्रमा जिल्ला र स्थानीय माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन) कार्य समितिहरुले सहकार्य गरी संघीय संसदमा प्रतिनिधित्व गर्ने आ(आफ्ना माननीयहरुलाई ज्ञापन पत्र बुझाएका थिए । शिक्षकहरुले आफ्ना पेशागत मागहरुबारे आफ्नो विद्यालयका प्रधानाध्यापकलाई जानकारी गराउदै केन्द्रबाट उनीहरुको नाममा प्रेषित पत्र बुझाएका थिए।
उनीहरुले मंगलबार साविक उच्च मा.वि. तहका देशभरका शिक्षकहरुले हातमा कालो पट्टी बाँधेर अध्यापन गराएका थिए ।
हिस्टुनले घोषणा गरेको आन्दोलनको कार्यक्रम अनुसार केही दिनमानै संसद समेत स्थगन हुने सँगसँगै दशैं, तिहार जस्ता पर्वहरु परेको र संघीय चुनाव समेत भएकाले केही समय आन्दोलन स्थगित गर्ने निर्णय गरेको छ ।
चुनाव लगतै पनि हिस्टुनका मागहरु प्रति राज्य उदासिन रहेको अवस्था रहेमा सबै जिल्लाहरुबाट शिक्षकहरुलाई राजधानी आउन आव्हान गरी काठमाण्डौं केन्द्रीत भौतिक आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ ।
हिस्टुनले एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयको प्रमाणपत्र तह खारेज गरिएपछि उच्च मावि तह हुँदै अहिले सामुदायिक विद्यालयको कक्षा ११ र १२ मा कार्यरत अनुदान रदरबन्दीका ६००० संख्याका मावि द्वितीय श्रेणी, शिक्षा ऐनको आठौं संशोधन, उप प्राध्यापक सरह (उ।मावि।शिक्षा ऐन २०४६)का शिक्षकहरुको पेशागत भविष्य अन्यौलग्रस्त बनेको उल्लेख गरेको छ ।
शिक्षकहरु स्थायित्व र कुनै पनि सुविधा विनानै बीसौ वर्ष देखि काम गरेर उमेरको हदका कारण समेत रित्तो हात घर जान बाध्य भएको भन्दै गुनासो गरेको छ ।
संविधानमै यस तहको शिक्षा निःशुल्क भनिएपनि आज सामुदायिक विद्यालयहरुमा उक्त कक्षाहरुमा अध्यापन गर्न एकजना पनि स्थायी शिक्षक नभएको अवस्था छ र कक्षा ११ र १२ मा ६ विषय नियमित अध्ययन अध्यापन हुने भएपनि १र२ अस्थायी शिक्षक अनुदानमा उपलब्ध गराएर राज्य विद्यालय शिक्षा ध्वस्त पारी अदृष्य रुपमा कुनै वर्गको पृष्ठपोषण गरिरहेको परिणामतः विद्यालयको अन्तिम खुड्किलो भनिएको कक्षा १२ मा यस वर्ष ५०१, भन्दा बढी विद्यार्थी अनुतिर्ण भई उच्च शिक्षा अध्ययन गर्न बाट समेत वञ्चित भएको उल्लेख गरेको छ ।