राणामाथि पूर्वमहान्यायाधिवक्ताको आरोप : करोडभन्दा तलको गिनाइ नै थिएन – Nepal Press

राणामाथि पूर्वमहान्यायाधिवक्ताको आरोप : करोडभन्दा तलको गिनाइ नै थिएन

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आरोपित गरेका कानून व्यवसायीहरुसँग प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले आज छलफल गरेको छ । छलफलका क्रममा कानून व्यवसायीहरुले आफूहरुमाथि लगाइएको आरोपको प्रतिवाद मात्रै गरेनन्, राणामाथि प्रत्यारोपसमेत लगाएका छन् ।

पूर्वमहान्यायाधिवक्ता समेत रहेका माओवादीनिकट कानून व्यवसायी रमण श्रेष्ठ राणाविरुद्ध कडारुपमा प्रस्तुत भए । उनले राणालाई ‘पैसाको काल’ भन्दै गालीगलौज गरेका थिए । ‘त्यस्तो मान्छेलाई प्रधानन्यायाधीश बनाएको छ । पैसाको काल हो । करोडभन्दा तल गिनाइ नै छैन,’ श्रेष्ठले भने ।

३५ बुँदे अभियोगमा उल्लेख भएका मुद्दाहरूमा राणाले ठूलो लेनदेन गरेको उनको आरोप थियो । ‘कतिपय मुद्दामा कागज भएको छ, चेक लिएको छ । त्यसविरुद्ध हामी बोल्यौं । हामी आफैं भ्रष्टाचारमा संलग्न भएको भए कसरी न्यायाधीशविरूद्व बोल्थ्यौं ?’ उनले प्रश्न गरे । भ्रष्टाचारले सीमा नाघेर वकिलले न्यायाधीशलाई कारवाही गर्ने अवस्था सिर्जना भएको उनले बताए । श्रेष्ठले थपे, ‘न्यायाधीशको अनुहार हेरेर थाहा हुन्छ, घर बनाएको भनेर हेर्नै पर्दैन । सर्वोच्च अदालतको न्यायाधीशप्रति विश्वास ठूलो कुरा हो ।’

अदालतमा जग्गा दलालजस्तै दलालहरू हाबी भएको उनले गुनासो गरे । न्यायाधीशले घुस खान पनि बिचौलिया सिर्जना गरिएको समेत उनले बताए । ‘प्रतिनिधिसभाको विघटनमा मलाई दिएको समय उहाँसँग २०/२५ मिनेट सवालमै जान्थ्यो । झगडा पथ्र्यो,’ श्रेष्ठले भने, ‘सुशीलालाई महान्यायाधिवक्ताको हिसाबले महाअभियोग लगाएको, अगुवाइ गरेको कुरा गर्दा मैले लोकमानलाई पनि महाभियोग लगाएको हो नि ।’

उनले अगाडि थपे, ‘मैले भनेर चण्डेश्वरजी (तत्कालीन बार अध्यक्ष) ले महाअभियोग बोक्नुपर्छ र ? भ्रष्टाचारको मुद्दामा एक भएका हौं । रञ्जन कोइरालाको मुद्दामा गरिएको एउटै फैसला महाअभियोग लगाउन पर्याप्त छ । न्यायाधीशले विश्वास नगर्नु अर्को आधार हो ।’

प्रतिनिधिसभा कार्यकाल सकिए पनि महाभियोग निष्क्रिय नहुने उनले दाबी गरे । महाअभियोग नटुंगिएसम्म राणाले कुनै काम गर्न नपाउने दलिल पनि उनले पेश गरे ।

‘राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष, सर्वोच्च सबैलाई बोधार्थ दिएर फर्किन मिल्दैन भनेर पठाउनुस् । यो ऐतिहासिक हुन्छ,’ श्रेष्ठले भने ।


प्रतिक्रिया

One thought on “राणामाथि पूर्वमहान्यायाधिवक्ताको आरोप : करोडभन्दा तलको गिनाइ नै थिएन

  1. खुवाउने त तिमी जस्ता नै ह‍ोउला हाेईन ? वकिलले नखुवाई कुनै पनि न्यायाधिशले कसरी खान्छ ? न्यायालय बिगार्ने एक नम्बर वकिल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर