लुम्बिनीका २६ सीट भागबण्डाको सूचना चुहिएपछि गठबन्धनमा रडाको
रुपन्देही । लुम्बिनीका २६ प्रतिनिधिसभाको सीटमध्ये २१ वटाको बाँडफाँटमा सहमतिनजिक पुगेको केही दलका नेताले ल्याएको सूचनाले गठबन्धनभित्र रडाको मच्चिएको छ ।
बुधबार राति २१ सीटमा करिब सहमति भएको र ५ सीटमा त्रिपक्षीय दाबी भएका कारण टुंगो लाग्न नसकेको समाचार बाहिर आएपछि लुम्बिनीमा माओवादी र जसपाले आपत्ति जनाएको हो । सूचना दिने कांग्रेस, नेकपा एस तथा जनमोर्चाका नेताहरूले केही दलले असहमति जनाएको र पुनः छलफल हुने बताएका छन् । तर, मुख्य दलले ग्रीनसिग्नल दिएकाले यसलाई करिब सहमतिको आधार मान्न सकिने स्रोतको दाबी छ ।
पहिलो चरणको सहमतिमा नेपाली कांग्रेस १०, माओवादी केन्द्र ६, नेकपा समाजवादी ३ तथा जसपा र जनमोर्चाले १-१ सीट पाउने करिब टुंगो लागेको छ भने बाँकी ५ सिटमा धेरैको दाबी भएकाले अड्किएको छ । सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको रुपन्देहीका ५ वटा क्षेत्रमध्ये क्षेत्र नं ३, ४ र ५ गरी ३ वटा क्षेत्रमा कांग्रेसले पाउने निश्चितजस्तै भएको बाँकी २ वटामा त्रिपक्षीय दाबी छ । रुपन्देही क्षेत्र नम्बर १ र २ मा धेरैको दावी छ । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस, जसपा र माओवादीको दाबी छ । यसैगरी क्षेत्र नम्बर २ मा कांग्रेस र एकीकृत समाजवादीले दाबी गरेका छन् ।
नवलपरासीपश्चिममा यस्तैगरी धेरैको दाबी परेको छ । क्षेत्र नम्बर १ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने २ कांग्रेसलाई छाड्न दलहरु सहमतजस्तै छन् । दुई क्षेत्र रहेको पाल्पामा नेकपा एस र कांग्रेस एक एक क्षेत्र लिन तयार भएपनि क्षेत्र नं १ मा एमाले बलियो भएकाले दुवैको रोजाई क्षेत्र नं २ परेकाले समस्या परेको छ । क्षेत्र नं २ मा नेकपा एसका अहिलेका सांसद तथा अध्यक्ष माधवकुमार नेपालका सम्धी सोमप्रसाद पाण्डेको भएकाले पनि यो क्षेत्रमा बलियो दाबेदारी छ तर कांग्रेसले पनि यही क्षेत्र पाउनुपर्ने र पाण्डेलाई एमालेका मत तान्न १ नं क्षेत्रमा पठाउनुपर्ने तर्क राख्दै आएको छ ।
कपिलवस्तुको क्षेत्र नम्बर १ माओवादी केन्द्रले लिने र २ र ३ कांग्रेसले पाउने करिब टुंगो लागेको छ । अर्घाखाँचीमा कांग्रेस र प्यूठानमा जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पाउने सहमति भएको छ । कांग्रेसबाट अर्घाखाँचीमा अहिले समानुपातिक सांसद तथा उपसभामुख पुष्पा भुसाल बलियो दाबेदारीमा छन् तर उनीबाहेक सिफारिस भएका ४ जना पार्टी संस्थापनइतरका भएकाले उनलाई जित्न कठिन हुने तर्क पार्टी नेताहरुले राख्दै आएका छन् भने प्यूठानमा चौथो दल रहेको जनमोर्चालाई सबै मत खन्याएर जिताउन नसकिने विचार नेपाली कांग्रेसले राखिसकेको छ । कांग्रेसबाट यहाँ डा. गोविन्द पोखरेल बलियो दाबेदार हुन् ।
उता दुई क्षेत्र रहेको गुल्मीको १ कांग्रेसले लिनेछ भने २ एकीकृत समाजवादीलाई छाड्न गठबन्धनका दलहरु सहमत भएका छन् । यहाँबाट नेकपा एसकी सचिव रामकुमारी झाँक्री दुई नम्बर र एक नम्बरमा कांग्रेसका चन्द्र भण्डारी वा चन्द्र केसीले दाबेदारी गरिरहेका छन् । भण्डारीइतर समूहका हुन् भने केसी संस्थापन समूहबाट केन्द्रीय सदस्य छन् ।
माओवादी केन्द्र बलियो रहेको भनिएको रुकुमपूर्व र रोल्पा उसैको भागमा परेको छ । तीन क्षेत्र रहेको दाङको क्षेत्र नं १ एकीकृत समाजवादी, २ माओवादी र ३ कांग्रेसको भागमा परेको छ । यहाँबाट एसका मेटमणि चौधरी, माओवादीबाट कृष्णबहादुर महरा तथा कांग्रेसबाट दीपक गिरी उठ्ने निश्चितजस्तै छ । यसैगरी बाँकेमा तीनवटै क्षेत्रमा सहमति भएको छ । क्षेत्र नम्बर १ माओवादी, २ जसपा र ३ कांग्रेसले लिनेगरी आन्तरिक सहमति गरेका छन् । बर्दियाको १ कांग्रेस र २ माओवादीको भागमा पर्ने लगभग टुंगिएको छ ।
दलहरुले पहिलो चरणमा गरेको यो सहमति सबै प्रदेशको एकमुष्ठ मिलाउने सन्दर्भमा आएको र गठबन्धन नै बिग्रनेगरी विवाद भए फेरिनसक्ने भएकाले यसलाई औपचारिक भन्न नमिल्ने र आफ्नो स्रोत खुलाउन पनि नहुने जनाएका छन् ।
कांग्रेस, नेकपा एस र जनमोर्चाका नेताहरुले यो सूचना बाहिर ल्याएपनि नेकपा माओवादी र जसपाका नेताहरु भने यो आधिकारिक नभएको जनाएका छन् । माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले छलफलमा एक दलले राखेका विषयलाई सहमति भन्न नसकिने र संघ तथा प्रदेशको एकमुष्ठ सहमति हुनसक्ने बताए । जसपा प्रदेश अध्यक्ष अशोक यादवले सहमति नै नभएको विषय बाहिर ल्याएर गठबन्धन भाँड्नेगरी प्रचार गरिएको बताए ।
‘प्रदेशमा हामीले ५ सीट मागेको छौं, यसरी गलत प्रचार गराइएको छ, रुपन्देहीको १ र ४, कपिलवस्तुमा १, बाँकेमा १ र बर्दियामा १ हाम्रो बटमलाइन हो । यसरी पेल्दै गए प्रदेशमा गठबन्धन हुनै सक्दैन’, यादवले भने ।
नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले आधिकारिक सहमति नभएपनि यसकै सेरोफेरोमा रहेर टुंगो लाग्ने र प्रारम्भिक सहमतिजस्तै भएको बताए ।
‘ठ्याक्कै सहमति त नभनौं तर यहाँसम्म धेरै समहतिका आधार तयार भएका हुन, सबैलाई मिलाउन समस्या हुन्छ तर सहमतिका लागि यसो गर्न खोजिएको हो, केही ठाउँमा त्रिपक्षीय दाबी छ, यसलाई मिलाउने प्रयास भइरहेको छ’, उनले भने ।