माधव नेपालको प्रश्न : मैले केपी ओलीलाई चुट्की बजाउँदा चोलेन्द्रलाई किन पोल्यो ? (भिडिओ) – Nepal Press

माधव नेपालको प्रश्न : मैले केपी ओलीलाई चुट्की बजाउँदा चोलेन्द्रलाई किन पोल्यो ? (भिडिओ)

‘१४ जना सांसदको मुद्दाबारे चिन्ता लिएकै हो’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई ‘चुट्की बजाएर हटाएको’ अभिव्यक्ति आफूले नदिएको बताएका छन् । राणाले हालै महाअभियोग सिफारिस समितिमा नेपालले यस्तो अभिव्यक्ति दिएको दाबी गरेका थिए ।

आज संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै नेपालले राणामाथि चुट्की बजाएको आफूलाई सम्झना नरहेको उल्लेख गरे ।

उनले भने, ‘खोइ मैले उहाँलाई कहिले चुट्की बजाएँ, मलाई अहिले पनि थाहा छैन । चुट्की बजाएएको अडियो वा भिडियो छ भने त्या पनि हेरौं । यदि मैले चुट्की बजाएकै हो भने त्यो केपी ओलीलाई हो । ओलीलाई बजाउँदा किन उहाँलाई पोल्यो मलाई थाहा भएन । उहाँहरुको बीचमा केही छ कि ?’

ललिता निवासको विषयमा आफूमाथि लागेको आरोपबारे पनि नेपालले जवाफ दिए ।

उनले भने, ‘ललिता निवसको बारेमा कुरा के हो भने उहाँकै (राणा) इजलासले प्रम बाबुराम र माधव नेपालमाथि कुनै मुद्दा चलाउनु आवश्यक छैन, त्यो पर्दैन भनेर भनेको हो । यसमा मैले धेरै भन्नै पर्दैन । हामीमाथि कुनै कुरै छैन ।’

पार्टीका १४ जना सांसदमाथिको मुद्दामा भने आफूलाई चिन्ता लागेको नेपालले स्वीकार गरे ।

उनले भने, ‘जहाँसम्म १४ जना सांसदको कुरा छ, उनीहरुलाई पार्टीबाट र सांसदबाट निष्काशन गरिएको हुनाले त्यसमा अदालतले के फैसला गर्छ भन्ने चिन्ता लागेकै हो । यसबारे अनेक कुरा सुनिएको पनि हो । सुनिएको कुरा यथार्थ हो कि होइन, त्यो उहाँले बुझ्न सक्नुहुन्छ या थाहा पाउनेले भन्न सक्लान् । मान्छेलाई आशंका त थियो । उहाँले त्यो सरकार ढाल्नका लागि केपी ओलीसँग एक रात पहिले गोप्य वार्ता गरेको हल्ला चलेको हो । सत्य हो कि होइन म जान्दिनँ ।’

 


प्रतिक्रिया

One thought on “माधव नेपालको प्रश्न : मैले केपी ओलीलाई चुट्की बजाउँदा चोलेन्द्रलाई किन पोल्यो ? (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर