वृहत पदयात्रामा पत्नी राधिकासहित पुगे ओली (तस्बिरहरू) – Nepal Press

वृहत पदयात्रामा पत्नी राधिकासहित पुगे ओली (तस्बिरहरू)

काठमाडौं । संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा बृहत वाकथन (पदयात्रा) शुरु गरेको छ ।
पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको हो ।

ओली आफैंले पदयात्राको नेतृत्व गरेका छन् । उनको साथमा पत्नी राधिका शाक्य पनि पुगेकी छन् ।

निर्वाचन आयोगले असोज ३ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने मिति तोकेकाले असोज १ गते उपत्यकामा हजारौंको सहभागितामा वाकथन (पदयात्रा) आयोजना गरेको एमालेले जनाएको छ ।

वाकथनको वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम तय गरिएको छ । पार्टी अध्यक्ष केपी ओलीले वसन्तपुरमा सम्बोधन गरी कार्यक्रम समापन गरिनेछ ।

संविधान दिवसका अवसरमा आयोजित यस कार्यक्रमलाई पार्टीको घेराभित्र सीमित नगरिएको र देशभक्त, सामाजिक क्षेत्र, पेशा, व्यवसायमा संलग्न तथा एमालेप्रति शुभेच्छा राख्ने आम समुदायलाई सहभागिताका लागि आह्वान गरिएको थियो ।

संविधासनभामा संविधान निर्माणको अगुवाइ गरेका तथा संविधान जारी गरेबापत भारतले लगाएको नाकाबन्दीको समेत सामना गरेका नेता केपी शर्मा ओलीको नेतृत्वमा एमालेले पदयात्रा गरेको हो ।

 यस वाकाथनमार्फत एमालेले एकातिर संविधान निर्माणको अगुवाइ गरेको पार्टीले नै संविधानको वास्तविक स्वामित्व लिएको सन्देश दिन खोजेको प्रचार विभाग उपप्रमुख विष्णु रिजाल बताउँछन् ।

‘सबैलाई थाहा छ । त्यसवेला संविधान जारी गर्न कांग्रेस डराइसकेको थियो । माओवादी पनि अलमलमा थियो विशेषगरी प्रचण्ड भारतबाट फर्केपछि । त्यसवेला एमाले र त्यसको अध्यक्ष केपी ओलीले लिएको अडानका कारण संविधान जारी भयो र त्यसबापतको नाकाबन्दीको सामना पनि उहाँले नै गर्नुभयो । त्यसैले यो संविधानको पूर्ण स्वामित्व कसैको छ भने एमालेकै हो भन्ने सन्देश दिन खोजेका छौं ’, रिजाल भन्छन् ।

एमालेले यो पदयात्रामार्फत पार्टी चुनावको दौडमा होमिएको सन्देश पनि दिन खोजेको नेताहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर