गठबन्धन सरकारकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको छ : प्रधानमन्त्री देउवा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार र सत्ता गठबन्धनकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको बताएका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले वर्तमान गठबन्धन सरकार गठनसँगै परराष्ट्र सम्बन्धमा सुधार आएको उल्लेख गर्दैसरकार निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन प्रतिबद्ध रहेको समेत बताए । उनले प्रतिपक्षी दलको नेताले अहिलेको सरकारलाई परमादेशको सरकार भन्ने गरेको भन्दै संसद नै परमादेशबाट आएको र जसका कारण प्रतिपक्षी र सत्तापक्षसँगै काम गर्न पाइरहेको तर्क गरे । देउवाले वर्तमान संसद्को कार्यकालमा महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी पनि गरे ।
प्रधानमन्त्री देउवाले देशभर आएको बाढीपहिरामा भएको क्षतिको लेखाजोखाका साथै त्यसमा पीडितको तत्काल उद्दार गरिएको, घाइतेको उपचार, घरबारविहीन तथा मृतक परिवारलाई राहत उपलब्ध गराउन सरकार लागिपरेको जानकारी गराए ।