चोलेन्द्रमाथि महाअभियोग लगाउन समितिद्वारा ९ बुँदे आरोपको प्रतिवेदन तयार
काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग लगाउन ९ बुँदे आराेपसहितकाे प्रतिवेदन तयार गरेको छ ।
११ सदस्यीय समितिको शनिबार बसेको बैठकले दुई बुँदे सुझावसहित ९ बुँदे आरोप प्रतिवेदनमा उल्लेख गरेको छ । यद्यपि समितिमा सामान्य बहुमतले मात्रै प्रतिवेदन पारित गरेको हो । नेकपा एमाले र लोसपाले फरक मत राखेका छन् । एमालेले ८ बुँदे फरक मत राखिसकेको छ ।
बैठकपछि समितिकी सदस्य कल्याणी खड्काले राणाविरुद्धको महाभियोग लगाउने आधारमा उनकै बयान रहेको दाबी गरिन् । अरु ५ जनालाई पनि महाअभियोग लगाउनुपर्थ्यो मलाई मात्रै किन भनेर राणाले दिएको बयान नै काफी भएको खड्काको भनाई छ । यीसहित समितिको बहुमतले ९ बुँदे आधार तयार गरेको उनले बताइन् । प्रतिवेदन सर्वसम्मत हुनुपर्ने यद्यपि त्यो नसकिएको बताइन् । उनले राणालाई महाअभियोग लगाउनुका आधारहरुमा उनकै बयान, २१ बुँदे आरोपलगायत विषय रहेको खड्काले बताइन् ।
राणाको निलम्बनको अब के हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा खड्काले कुनै पनि आरोप लागिसकेपछि त्यसको टुंगो नलागेसम्म निलम्बन यथास्थितिमा रहने कानूनी व्यवस्था रहेको बताइन् ।