शालीन नायकको उग्रता : विकास बोर्डविरुद्ध किन खनिए प्रदीप खड्का ?
काठमाडौं । अभिनेता प्रदीप खड्काले शनिबार एक कार्यक्रममा सञ्चारकर्मीहरूमाझ चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पदबाट राजीनामा दिनुपर्ने कडा माग राखे । आफू अभिनित चलचित्र ‘प्रेमगीत ३’ लाई असफल पार्न विकास बोर्डले षड्यन्त्र रचेको आरोपसमेत उनले लगाए ।
बोर्डले देशभरका हलहरु राति ११ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भन्दै गत ३० भदौमा एक सूचना जारी गरेको थियो । आफ्नो फिल्म ‘प्रेमगीत ३’ लाई नै टार्गेट गरेर बोर्ड अध्यक्ष केसीले यो सूचना निकाल्न लगाएको प्रदीपको दाबी छ । साथै उनले ‘प्रेमगीत ३’ को हिन्दी भर्सनलाई विदेशी फिल्मसरह व्यवहार गरिएको भन्दै आपत्ति जनाएका छन् ।
आक्रोशयुक्त अभिव्यक्ति दिने क्रममा प्रदीपले भुवन केसीलाई राजीनामा दिन सुझाएका थिए । यतिमात्र होइन, उनले निर्माता संघको वर्तमान नेतृत्वप्रति पनि आक्रोश व्यक्त गर्दै अर्को ‘निर्माता संघ’ निर्माण गर्ने चेतावनीसमेत दिएका छन् ।
नयाँ पुस्ताका नायकहरुमध्ये बौद्धिक, तार्किक तथा शालीन अभिनेताको रुपमा चिनिन्छन् प्रदीप । तर, हिजोको प्रस्तुति एवं अभिव्यक्ति उनको छवि र स्वभावविपरीतको मात्र नभएर आफ्नो दायराभन्दा बाहिरका समेत थिए । उनी ‘प्रेमगीत ३’ का निर्माता नभएर नायकमात्र हुन् । हलहरु कति बजेदेखि कति बजेसम्म सञ्चालन गर्ने भन्ने उनको सरोकारको कुरा होइन । यो हल सञ्चालक र प्रोड्युसरले चिन्ता लिने कुरा हो । यद्यपि, यस चलचित्रसँग आफ्नो भविष्य पनि गाँसिएकाले उनी आफैं अघि सरेका हुन सक्छन् ।
यसअघि आफ्नो चलचित्र ‘प्रकाश’ रिलिज हुँदा पनि प्रदीप यसै गरी मिडियामा प्रस्तुत भएका थिए । त्यसवेला हल सञ्चालकहरुले विदेशी चलचित्रलाई काखी च्यापेर आफ्नो चलचित्रलाई पर्याप्त शो नदिएको उनको आरोप थियो । उनले पोखेको आक्रोशले निकै काम गर्यो । शनिबारबाट प्रकाशले धेरै शोहरु थप्यो र व्यापारमा समेत बढोत्तरी भयो ।
यसरी आफूले अभिनय गरेको चलचित्रप्रति पूर्ण स्वामित्वको महसुस गर्नु राम्रो पनि हो । ‘प्रकाश’ का वेला उनले जायज प्रश्नहरु पनि उठाएका थिए । तर, ‘प्रेमगीत ३’ लाई लिएर अहिले दिएका अभिव्यक्तिहरु भने अतिरञ्जित लाग्छन् ।
के भने प्रदीपले ?
नेपाली र हिन्दी भाषामा निर्माण गरिएको ‘प्रेमगीत ३’ को रिलिज छेकोमा चलचित्र युनिटले हिजो एक प्रेसमिट आयोजना गरेको थियो । त्यस अवसरमा नायक खड्काका साथै निर्माता सन्तोष सेन र नायिका क्रिस्टिना गुरुङले सहभागी थिए । पत्रकारसँग सबैभन्दा बढी मुखर चाहिँ प्रदीप भए । निर्माता सेनभन्दा पनि उनी बढी आक्रोशित देखिएका थिए ।
प्रदीपले सुरुमा आफ्ना कुरा यसरी राखे :
हिजो-अस्तिबाट ११ बजे नै हलहरू र्याप अप हुनुपर्छ भनेर नियम लगाइएको छ । ‘सेक्युरिटी प्वाइन्ट अफ भ्यू’ हो वा अरु केही कारण थाहा भएन । तर, नेपालमा नियमका हिसाबले हो भने क्लबहरु राति १२-१ बजे चलिरहेका छन् । बिहान ४ बजेसम्म चल्छन् । जहाँ आउटडोर थ्रेट हुन्छ, हुलदंगाको चान्स हुन्छ । तर, थियटर जहाँ फोन पनि साइलेन्ट हुन्छ, कफी र पपकर्नका साथ सपरिवार हेरिन्छ र सीसीटीभीबाट सेक्युरिटीसहित निगरानी गरिन्छ । त्यो ठाउँ ११ बजे बन्द हुनुपर्छ भनेर नियम लगाइयो ।
हुन त यो हलको र प्रोड्युसरको कुरा होला । मैले बोल्नुपर्ने त होइन । म कलाकारमात्र हो । ‘प्रकाश’ को बेलामा पनि म बोल्दा धेरैले नबोल भनेका थिए । म बोल्न नपरे हुन्थ्यो, यो मेरो पार्ट अफ जब होइन भन्ने मलाई पनि लागेको थियो । तर, फेरि पनि बोल्न बाध्य किन भएँ भने निरन्तर अट्याक भइरहेको छ । ‘प्रकाश’ को वेलामा मलाई फिल्म हलमा शो नदिन बोर्डको हात हो ? भनेर सोधिँदा प्रस्ट भनेको थिएँ कि यसमा विकास बोर्डको हात हुन्छ जस्तो लाग्दैन । विकास बोर्डले शो तोक्ने होइन । थियटर्सले विगतको अनुभवका आधारमा शो लगाउनुभयो । तर, ३ बजेपछि एउटा पनि शो नहुँदा अलिकति पीडित भएको फिल गरिरहेका थियौं भनेर भनेको थिएँ । त्यसपछि हल सञ्चालकहरुले कुरा बुझ्नुभयो र विज्ञप्ति निकालेर हामीले प्रकाशलाई ‘अन्डरस्टिमेट’ गरेका रहेछौं भनेर स्वीकार्नुभयो ।
आज फेरि बोर्डले ११ बजेपछि र्याप अप गर्नुपर्छ भनेर नियम लगाइदिएको छ । यसपाला हलवालालाई पेलिएको छ । ११ बजे र्याप गर्नलाई ८ बजे शो लगाउनुपर्छ । यसो गर्दा एउटा हलको ३ शो जति क्यान्सिल हुँदो रहेछ । उहाँहरुलाई मात्र होइन, हामीलाई पनि ‘लस’ भो । फाइदा कसलाई भयो ? कहींकतै पोलिसी बनाउनेको दिमाग नपुगेको हो कि ? जसले यो नियम लगाइरहेको छ ।
एक हिसाबले कुरा गर्ने हो भने आज हेर्न नपाएका दर्शक भोलि-पर्सि आउलान् भन्ने हुन्छ । नत्र अर्को हप्ता आउलान् । तर, पोलिसी कस्तो बनिरहेको छ भने रक्सी खाएर हुलदंगा हुने ठाउँ ४ बजेसम्म खोल्न पाइने, ११ बजे हल बन्द हुनुपर्ने र सबै निस्केर जानुपर्ने ।’
यति भनेर खड्काले बोर्ड अध्यक्ष भुवन केसीमाथि व्यक्तिगत प्रहार सुरु गरे ।
आजसम्म मैले कहिले पनि ममाथि अट्याक भयो भनेर प्रस्ट रुपमा भनेको थिइनँ । तर, आज मलाई फिल भइरहेको छ कि कहींकतै ममाथि नै अट्याक भइरहेको छ कि ?
मैले जहाँसम्म सुनेको थिएँ, पढाइ पुगेन-पढाइ पुगेन भनेर (भुवन केसीमाथि) मुद्दा परेको छ रे कहाँनेर । पढाइ एक हिसाबले राम्रो हो । तर, पढाइभन्दा अनुभव म्याटर गर्छ भन्दै आएको हो मैले । ३० औं वर्ष उहाँहरुको योगदान छ, उहाँहरुले गरेको चिज सही हुन्छ भनेर पहिले भनेको हो । तर, आज म भन्दैछु, उहाँको जुन सुनुवाइ हुँदैछ, २ कि ४ गते, त्योभन्दा अगाडि यो विवेकहीन नीतिले त तपाईंले राजीनामा दिँदा तपाईंको इज्जत बढ्छ । पढाइ म्याटर गर्दोरहेछ कि क्या हो भनेजस्तो बुझिन्छ यस्ता नीतिहरु आउँदा । त्यसैले राजीनामा दिँदा तपाईंको इज्जत बढ्छ । निर्माता संघ अर्को खोल्न पनि मिल्छ । अर्को खोल्नुपर्ने बाध्यता भएको छ ।
त्यसपछि खड्काले ‘प्रेमगीत ३’ को हिन्दी भर्सनमा १५ प्रतिशत चलचित्र विकास कर लिन लागिएको भन्दै आपत्ति जनाए ।
‘चलचित्र विकास कर भनेर १५ प्रतिशत अतिरिक्त लगाउनुपर्ने किन ? अस्ति भर्खर हामीलाई बोर्डमा सम्मान गरियो । सायद हामीलाई यिनीहरुले १५ प्रतिशत एक्स्ट्रा दिन लागेको भनेर सम्मान गरेको रैछ कि के हो ? नभए इन्डियाको सेन्सर बोर्डमा ‘आशुसेन फिल्म्स’को फिल्म भनेर दर्ता भएको सर्टिफिकेट दिइएको छ । यहाँ चाहिँ हिन्दी फिल्म हो, १५ प्रतिशत लगाउनुपर्छ भनेर निर्माता संघले नोटिस जारी गरेको थाहा पाएँ । पढ्न चैं पाएको छैन ।
शो घटाएकोमा समस्या छ एकातिर । त्यसमाथि हिन्दी फिल्म बराबर १५ प्रतिशत ट्याक्स हान्न लागिएको छ । निर्माता संघलाई भनौं भने उनीहरुले नै हामीलाई ‘देशद्रोही’ भनिरहेका छन् । १५ प्रतिशत ठूलो कुरा भएन ५० सै पर्सेन्ट लगाउने भए पनि लगाउनुस् । तर, ११ बजे बन्द गर्ने चाहिँ नगर्नुस् ।
अन्त्यमा उनले थपे, ‘मैले कलाकारको रुपमा बढी बोले जस्तो लाग्छ भने यो पछाडि मेरो कुनै फिल्म सुटिङ पनि भएको छैन । ३ वर्षदेखि एउटा फिल्मका लागि भनेर सबै फिल्म छोडेर बसेको छु । अब गर्न दिँदैनन् भने गर्दिनँ ।’
उनले आफ्नो भनाइ राखेपछि एक पत्रकारले सोधे, ‘भुवन केसीका छोरा अनमोल केसी यो फिल्ममा भएको भए बोर्डबाट यस्तो नोटिस आउँथेन भन्ने कुरा पनि छ । के तपाईंमाथि पर्सनल्ली प्रहार भएको हो ?
खड्काले जवाफ दिए, ‘खोइ, के भन्ने अब । प्रकाशको वेलामा मैले भनेको थिएँ कि यो कसैले पनि ममाथि प्रहार गरेको जस्तो लाग्दैन । उहाँ एउटा अभिभावक हो । उहाँले डिजर्भ गर्नुहुन्छ त्यो पोजिसन भनेकै हो । कम्पिटिसन भन्ने केही छैन । केही थियो भने पाँच वर्षदेखि कम्पिटिसन भनेर आइरहेको थियो । तर, मैले कहिले पनि त्यो भनिनँ । आजको दिनमा फिल्मले बोल्छ नि त ! मेरो कम्पिटिसन सिर्फ बेटर गर्नु थियो आफैंसँग । आज रिजल्टले पनि बोल्छ । यदि कसैले त्यो सोच्नुहुन्छ भने खुट्टा कहाँसम्म तान्ने ? आफ्नो हातले भ्याउँदासम्म हो । टुप्पोमा चढिसकेपछि कहाँ गएर खुट्टा तान्ने ? त्यही भएर खुट्टा तान्ने पनि आफ्नो लेभलको सँग आफूले भ्याउनेसम्म तान्न सकिन्छ ।
तपाईंहरुले जुन हिसाबले भन्नुभयो त्यो नहोस्, त्यो होइन होला ।
अर्को प्रश्न तेर्स्याइयो, ‘तपाईं र भुवन केसीको झगडाले ‘प्रेमगीत ३’ पीडित हुने देखियो नि ?’
खड्का : त्यो हो भने त उहाँलाई विकास बोर्डको स्थायी जागीर दिएको हो त ? राजालाई त हटाए भने विकास बोर्डको पोजिसन स्थायी हो त ? त्यहाँ (अदालत) बाट निर्णय हुँदैछैन र ? म त यहीं छु । म त १०/२० वर्ष यही उद्योगमा हुन्छु । उहाँलाई त्यहाँबाट निस्किनु छैन र ?
पत्रकार : भनेपछि तपाईंले भुवन केसीको राजीनामा नै माग्नुभएको हो ?
मैले गलत नीति-नियम लगाउने र स्वविवेक प्रयोग नगर्ने तथा अरुबाट गाइडेड हुने व्यक्ति त्यो ठाउँमा लायक छैन भन्या हो । नेपाली फिल्म (प्रेमगीत ३) सेन्सर भइसकेको छ । हिन्दी फिल्म १ हप्ता २ हप्तापछि देखाउँला । नभए इन्डिया गएर हेर्छु भन्ने मान्छेहरु पनि हुनुहुन्छ । इन्डिया गएर हेर्नुहोला, केही समस्या छैन ।
पत्रकार : विकास बोर्डले नै ‘प्रेमगीत ३’ विश्वबजारमा प्रवेश गर्न लागेको भन्दै सम्मान गरेको थियो । आज बोर्डमाथि नै यस्ता आरोपहरु लगाउनु सही हो ?
खड्का : पानीमाथि ओभानो हुन खोज्ने पहिल्यैदेखिको रणनीति देखियो । त्यो सम्मान पनि चेसमा म एउटा प्यादा मर्न दिन्छु, अनि अर्कोलाई हान्छु भन्या जस्तो ! भोलिको दिनमा गएर शो रेस्ट्रिक्ट गर्दा असहयोग गरेको आरोप लाग्यो भने मैले तिमीहरुलाई सम्मान गरेको छु भनेर देखाउन नियोजित ढंगले गरेको देखिन्छ । नत्र, न सय करोड कमाएको, न त सय दिन चलेको । मुम्बईमा होर्डिङ बोर्ड ठड्याउँदैमा किन सम्मान गरियो ? हेर्दा त्यो एउटा चाल चलेको जस्तो देखिन्छ । त्यो वेला उपस्थित हुन पाइनँ । अहिले आएर हेर्दा धन्न गएनछु भन्ने भएको छ ।
०००
अब प्रदीपको अभिव्यक्तिको चिरफार गरौं, जहाँ केही सत्य, केही झूट र अतिरञ्जनाहरु छन् ।
विकास बोर्डले एक दैनिक पत्रिकामा राति ११ बजे हलहरुमा शो बन्द गर्नुपर्ने भनेर सूचना जारी गरेको सत्य भए पनि पूर्ण निषेध गरेको भने छैन । बिहान ६ देखि राति ११ बजेसम्म नियमित शो चलाउन पाउने बोर्डको सूचनामा उल्लेख छ । योभन्दा बाहिरको समयमा शो चलाउनु परेको खण्डमा जिल्ला प्रशासन कार्यालयसँग पूर्वअनुमति लिन भनिएको छ । सोको लिखित जानकारी चलचित्र विकास बोर्ड र आन्तरिक राजश्व कार्यालयलाई दिनुपर्ने सूचनामा उल्लेख छ । त्यसैले यदि प्रदीपको ‘प्रेमगीत ३’ हेर्न राति ११ बजेपछि समेत दर्शक ओइरिए भने जिप्रकासँग पूर्वअनुमति लिन सक्ने विकल्प देखिन्छ ।
अर्को कुरा, यो नियम खड्काले सोचेजस्तो अहिलेका अध्यक्ष भुवन केसीले बनाएका होइनन् । गत वैशाख महिनामा तत्कालीन बोर्ड अध्यक्ष दयाराम दाहालले नै यो नियम बनाएर लागू गरेका थिए ।
चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावली २०५७ को नियम १९ मा मन्त्रालयले तोकिदिएको समयमा मात्रै प्रदर्शकले चलचित्र प्रदर्शन गर्नुपर्ने उल्लेख छ । तर, सञ्चार मन्त्रालयले २०७१ साल साउन २६ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी चलचित्र प्रदर्शन गर्ने समय तोक्ने अधिकार विकास बोर्डलाई सुम्पेको थियो ।
गत वैशाखमा साउथ इन्डियन फिल्म ‘केजीएफ २’ को हिन्दी भर्सनले नेपालका हलहरुमा आँधीबेहरी ल्यायो । त्यस वेला ओइरिएका दर्शक हेरेर लोभिएका केही हल सञ्चालकले मध्यराति १ बजे पनि शो राखेर फिल्म देखाए । नेपाली चलचित्रलाई शो दिन कञ्जुस्याइँ गर्ने मल्टिप्लेक्सहरुले विदेशी फिल्म देखाउन रातभर हल सञ्चालन गरेको भन्दै मिडियामा तीव्र आलोचना भएको थियो । यसले दबाबमा परेको बोर्डले राति साढे ११ बजेपछि र बिहान ६ बजेभन्दा अगाडि फिल्मको प्रदर्शन गर्न नपाइने गरी समय तोकिदियो । यदि प्रदर्शन गर्नैपरे प्रशासनको अनुमति लिनुपर्ने भनिएको छ । यो नियमको अवज्ञा गर्ने केही हलहरुमाथि पहिल्यै बोर्डले स्पष्टीकरण सोधेको थियो ।
यद्यपि, अहिले पनि उक्त नियम प्रभावकारी रुपमा लागू भने भएको छैन । प्रायः मल्टिप्लेक्सहरुले राति ९ बजेसम्म शो राखिरहेका छन्, जुन १२ बजेसम्म चल्छ ।
एउटा सत्य के हो भने देशको राजधानीसमेत रहेको महानगर सकेसम्म २४ सै घण्टा चलायमान हुनुपर्छ । रातभर उद्योग–व्यवसायहरु चल्नुपर्छ । महानगरका मेयर बालेन्द्र साहले पनि रात्रीकालीन व्यवसायलाई प्रवर्द्धन गर्ने भन्दै आएका छन् ।
यदि दर्शक आउँछन् भने फिल्म हल पनि रातभर चलाउँदा फरक पर्दैन । तर, सुरक्षाको प्रत्याभूति अर्को उत्तिकै महत्वपूर्ण पाटो हो । मध्यरातमा कस्ता दर्शक फिल्म हेर्न आउँछन् ? त्यस वेला हलभित्र कुनै घटना भए त्यसको जिम्मेवारी कसले लिने ? यी प्रश्नलाई नजरअन्दाज गर्न मिल्दैन । त्यसले गर्दा जिल्ला प्रशासनसँग पूर्वअनुमति लिएरमात्रै ११ बजेपछि शो चलाउन पाउने नियममा धेरै आपत्ति जनाइरहनु आवश्यक थिएन । यदि ‘प्रेमगीत ३’ को आपत्ति हो भने पनि बोर्डसँग सौहार्दपूर्वक छलफल गर्न सकिन्थ्यो । नायकले आफूसँग असम्बन्धित विषय उरालेर अध्यक्षको राजीनामा माग्नु शोभनीय होइन ।
खड्काले भुवन केसीको पढाइको कुरा पनि निकालेका छन् । त्यो अर्को पाटो हो । आफ्नो पदका लागि भुवन योग्य हुन् या होइनन् भन्ने विषय अहिले अदालतमा नै विचाराधीन छ । यसको निर्क्योल पनि अदालतबाटै हुनेछ ।
मनोवैज्ञानिक युद्धमा भुवन-प्रदीप
बोर्ड अध्यक्ष भुवन केसी नायक प्रदीप खड्काविरुद्ध लाग्नुपर्ने कुनै कारण सतहमा देखिँदैन । उनीहरुबीच प्रत्यक्ष रुपमा कहिल्यै कुनै विवाद वा लफडा पनि भएको छैन । यद्यपि, यी दुईबीच मनोवैज्ञानिक द्वन्द्व देखिन्छ ।
भुवन केसीका छोरा अनमोल केसी र प्रदीपबीच स्टारडमको लडाइँ छ । आजका दिनसम्म अनमोल नेपालका सबैभन्दा ठूला र महँगा स्टार मानिन्छन् । यदि ‘प्रेमगीत ३’ ले अन्तर्राष्ट्रिय सफलता नै पायो भने अनमोललाई उछिनेर प्रदीप अगाडि बढ्न सक्छन् ।
आफ्नो छोराको प्रतिस्पर्धी भएकै कारण भुवन आफूप्रति पूर्वाग्रही बनेको प्रदीपको बुझाइ छ । त्यसैले ‘प्रेमगीत ३’ लाई जसरी पनि असफल पार्न भुवनले विभिन्न षड्यन्त्र रचिरहेको आरोप उनले लगाइरहेका छन् । बोर्डले सूचना निकालेको ‘टाइमिङ’ ले गर्दा पनि खड्काले भुवनको नियतमाथि प्रश्न उठाएका हुन् ।
यद्यपि, भुवनबाट प्रदीपप्रति स्पष्ट देखिने गरी पूर्वाग्रही व्यवहार भएको पाइँदैन । ‘प्रेमगीत ३’ ले भारतलगायत विश्वबजारमा ‘पेनिटे«ेट’ गरेर नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणलाई मद्दत पुर्याएको भन्दै विकास बोर्डले सो चलचित्रको युनिटलाई बोलाएर सम्मान गरेको थियो । उक्त सम्मानमा प्रदीपलाई पनि निम्त्याइएको थियो । तर, उनले बहिष्कार गरे । आज उनी त्यसवेला गरिएको सम्मान नै ‘षड्यन्त्रपूर्ण’ देखिरहेका छन् ।
चलचित्र विकास करको चक्कर
खड्काले उठाएको अर्को प्रश्न हो, १५ प्रतिशत चलचित्र विकास करबारे । कानूनी प्रावधानअनुसार कुनै पनि विदेशी भाषाको चलचित्र नेपालमा प्रदर्शन हुँदा आम्दानीको १५ प्रतिशत चलचित्र विकास कर तिर्नुपर्ने हुन्छ । नेपाली चलचित्रसँग भने यस्तो कर लिइँदैन ।
‘प्रेमगीत ३’ नेपालीले नेपालमा निर्माण गरेको चलचित्र हो, जसलाई हिन्दी भाषामा डबिङ गरिएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि नेपालीभन्दा हिन्दी डबले प्रशंसा पाएको छ । त्यसैले नेपालमा चलचित्रका नेपाली र हिन्दी दुवै भर्सन प्रदर्शन गर्ने तयारी निर्माण पक्षले गरेको छ । दर्शकको प्रतिक्रिया हेर्दा नेपालीभन्दा हिन्दी भर्सनमा बढी आकर्षण देखिन्छ ।
नेपालको कानूनी व्यवस्थाले ‘प्रेमगीत ३’ को हिन्दी भर्सनलाई विदेशी चलचित्र नै मान्ने जानकार बताउँछन् । त्यसैले हिन्दी भर्सनलाई कर छुट दिन नहुने उनीहरुको भनाइ छ । केही दिनअघि निर्माता संघका अध्यक्ष नवल खड्काले ‘प्रेमगीत ३’ को हिन्दी भर्सनलाई कर छुट दिइएको खण्डमा त्यो ‘देशद्रोह’ हुने चर्को अभिव्यक्ति दिएका थिए । बोर्डले भने निर्णय लिइसकेको छैन । अध्यक्ष केसीले विभिन्न व्यक्तिहरुसँग रायसल्लाह लिइरहेका छन् ।
नेपालीमा निर्माण भएको प्रेमगीतलाई हिन्दीमा डब गर्दा निर्माण पक्षले कानूनबमोजिम सञ्चार मन्त्रालयसँग पूर्वस्वीकृति लिनुपर्थ्यो । तर, पूर्वस्वीकृतिविना नै हिन्दी डब गरिएकाले पनि यसलाई कर छुट दिन समस्या परेको हो । निर्माता सन्तोष सेनले यसमा आफूहरुको कमजोरी स्वीकारिसकेका छन् । तर, सन्तोष सेन फिल्सकै चलचित्रका रुपमा भारतमा समेत दर्ता भएकाले हिन्दी भर्सन पनि नेपाली फिल्म नै भएको र कर छुट पाउनुपर्ने उनको तर्क छ । नेपालमा प्रदर्शन गरिने हिन्दी भर्सनको आम्दानी नेपालकै निर्माताले पाउने बताइएको छ । अन्य देशहरुबाट हिन्दी भर्सनले प्राप्त गर्ने आम्दानी चाहिँ भारतीय लगानीकर्ताले पाउनेछन् ।
‘प्रेमगीत ३’ को नेपाली भर्सन सेन्सर पास भएर रिलिजका लागि तयार छ । तर, हिन्दी भर्सनको सेन्सर भइसकेको छैन । फिल्म निर्माण पक्षले केही डकुमेन्ट नपुर्याएकाले सेन्सर हुन नसकेको बोर्डले जनाएको छ । चलचित्रको सेन्सर अड्किएको र १५ प्रतिशत करको विषयमा उल्झन बढेपछि भारतमा प्रमोसनमा दौडिरहेको फिल्म युनिट केही कार्यक्रम पोस्टपोन्ड गर्दै नेपाल आएको थियो । हिजो प्रेसमिट गरेर फेरि उनीहरु भारततिर लागिसकेका छन् ।
भारतमा प्रदीपको चर्चा
केही दिनदेखि ‘प्रेमगीत ३’ को टीमले भारतका विभिन्न स्थानमा प्रवर्द्धनात्मक दौडाहा गरिरहेको छ । यसले विस्तारै भारतीय दर्शकमा यस चलचित्रप्रति चासो र उत्सुकता बढिरहेको देखिन्छ । नायक प्रदीप खड्का भारतीय मिडियाहरुमाझ निकै सहजताका साथ प्रस्तुत भइरहेका छन् । हरेकखाले प्रश्नको तार्किक र शालीन रुपमा जवाफ दिने क्षमता उनको छ । प्रदीप नेपालको पछिल्लो पुस्ताका नायकमध्ये सबैभन्दा अध्ययनशील पनि मानिन्छन् ।
पहिलोपटक एउटा नेपाली चलचित्रले भारतको मेनस्ट्रिम बजार पेनिट्रेट गर्नु निकै खुशीको कुरा हो । तर, चलचित्रको मुख्य परीक्षा बाँकी नै छ । त्यो भनेको व्यापार हो । यस चलचित्रले भारत र अन्य देशमा कति दर्शकलाई आकर्षित गर्नसक्छ भन्ने सबैभन्दा महत्वपूर्ण प्रश्न छ । रिलिजमा पर्याप्त शोहरु पाए पनि यदि दर्शक हलमा आएनन् भने भोलिपल्टै उत्रिन पनि सक्छ । त्यो निकै निराशाजनक हुनेछ ।
‘प्रेमगीत ३’ मौलिक नेपाली चलचित्र होइन । ट्रेलर र गीतहरु हेर्दा यो भारतीय चलचित्रहरुकै ढर्रामा बनेको अनुमान लगाउन सकिन्छ । खास गरी बाहुबलीबाट धेरै प्रभावित छन् यसका दृश्यहरु । यदि नेपालको आफ्नो मौलिक विषयवस्तु बोकेको चलचित्रले यसरी भारतीय बजारमा घुस्ने अवसर पाएको भए त्यो सुनमा सुगन्ध हुने थियो । जे होस्, ‘प्रेमगीत ३’ ले भविष्यमा त्यसका लागि ढोका खोल्ने अपेक्षा गरौं ।