तयारी पोशाकको निर्यात बढाउन नेपाल चेम्बरले सहयोग गर्ने


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तयारी पोशाकको निर्यात बढाउन उद्योगी व्यवसायीलाई सहयोग गर्ने भएको छ । तयारी पोशाक एवं गार्मेन्टसबाट उत्पादित कपडाको अन्तर्राष्ट्रिय बजारीकरण एवं ब्राण्डिङका लागि चेम्बरले सहयोग गर्न लागेको हो । नेपाल चेम्बरअन्तर्गतका अन्तर्राष्ट्रिय शाखामार्फत नेपाली तयारी पोशाकको बजार प्रवर्द्धन गर्न उद्योगी व्यवसायीसँग सहकार्य गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए ।
नेपाल तयारी पोशाक उद्योग संघका नवनिर्वाचित पदाधिकारीहरुलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष मल्लले बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रवर्द्धन एक मात्रै विकल्प भएको बताए । अध्यक्ष मल्लले भने, ‘विदेशमा रहेका नेपाली दूतावास र चेम्बरका अन्तराष्ट्रिय शाखामार्फत तयारी पोशाक निर्यात बढाउन चेम्बरले सहयोग गर्छ । चेम्बरले गर्ने अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपाली उद्योगी व्यवसायीका उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता ब्यक्त गर्दछु, ।’
९० को दशकमै नेपालबाट वार्षिक ११ अर्ब रुपैयाँ बराबरको तयारी पोशाक निर्यात हुने गरेको भन्दै अध्यक्ष मल्लले अहिले मुस्किलले ७ अर्वको निर्यात हुनु दुर्भाग्य भएको बताए ।
नेपालका तयारी पोशाकको निर्यात प्रवर्द्धनका लागि व्यापार तथा निकासी केन्द्र र सरोकारवाला अन्य सरकारी निकायसंग पनि चेम्बरले समन्वय गर्ने अध्यक्ष मल्लको भनाई छ ।