नेपालको संविधान संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक र महत्वपूर्ण उपलब्धि : प्रम देउवा – Nepal Press

नेपालको संविधान संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक र महत्वपूर्ण उपलब्धि : प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको बताएका छन् । संविधान दिवसको शुभकामना दिँदै देउवाले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको उल्लेख गरेका छन् ।

७ वर्षअघि घोषणा भएको नेपालको संविधान सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक एवं महत्वपूर्ण उपलब्धि भएको प्रधानमन्त्रीको भनाइ छ ।

कांग्रेस नेतृत्वको सरकार मुलुकमा सङ्घीय लोकतन्त्रिक प्रणालीलाई थप मजबुत पार्ने तथा संविधानको रक्षा र पालना गर्ने काममा निरन्तर क्रियाशील र प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताएका छन् ।

‘सरकारले यसै वर्ष स्थानीय तहको आवधिक निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ भने आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनबाट संविधानले आत्मसात् गरेको लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यता तथा सबैको हक र अधिकार व्यावहारिक रूपमा स्थापित हुनेछ’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन गर्दै हाम्रा साझा हक अधिकारलाई स्थापित गर्ने तथा मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सदा झैँ सम्पूर्ण नेपाली नागरिकको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर