प्यूठानमा ७० सालको निर्वाचन परिणाम दोहोर्याउने सूर्यको सुर
रुपन्देही । आफ्नो मनले नखाएको व्यक्ति, संस्था, दलको कटु आलोचकको पहिचान बनाएका सूर्य थापा नेकपा एमालेको राजनीतिमा लागेर पहिलोपटक जनपरीक्षणमा जान लागेका छन् ।
पत्रकारिताबाट राजनीतिमा सिफ्ट भएका उनले पहिलो पटक भूगोलको जिम्मेवारी लिएर पार्टीको मोर्चा सम्हालिरहेका छन् । थापा आगामी मंसिर ४ गते हुने निर्वाचनमा गृहजिल्ला प्यूठानबाट एमाले उम्मेदवारका रुपमा गठबन्धनसँग भिड्न मैदानमा आएका छन् ।
देशभर सीमित नेता सर्वसम्मत उम्मेदवार सिफारिस भएकामध्ये उनी पनि एक हुन् । आलोचक र प्रतिस्पर्धीहरुले उनको ‘छुद्र’ बोलीलाई मुख्य एजेण्डा बनाइरहेका वेला थापा त्यसलाई स्वीकार गर्दैनन् । ‘म देखेको विषय बोल्छु, कसैसँग चिल्लो घसेर बोल्ने बानी छैन’, थापाले भने, ‘यथार्थ विषय बोल्नेलाई स्वीकार गर्न केही व्यक्तिलाई मनोरोग लागेकाले समस्या भएको हो । मलाई बुझेकाले आलोचना गर्ने ठाउँ बनाएको छैन ।’
प्यूठानमा जन्मिएका थापाले माध्यमिक तहको अध्ययन अर्घाखाँचीको हंसपुरस्थित सिद्धार्थ माविमा गरेका थिए । त्यसपछि उनले सबै अध्ययन काठमाडौंबाट पूरा गरे ।
उनले लामो समय पार्टीको प्रचार विभागमा काम गरेका छन् । एमालेबाट झलनाथ खनाल तथा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनी प्रेस सल्लाहकार नियुक्त भएका थिए । थापा अहिले पार्टीको जिल्ला इञ्चार्ज छन् । स्थानीय निर्वाचनमा गठबन्धनविरुद्ध रणनीतिक योजना बनाएर वडास्तरमा चमत्कारपूर्ण नतिजा निकाल्नसमेत उनी सफल भएका छन् ।
एमालेमा आफूलाई चौथो पुस्ता भन्न रूचाउँछन् ४८ वर्षीय थापा । जिल्लामा माओवादीबाट शीर्ष तहको राजनीतिमा पुगेर हाल एमालेको स्थायी कमिटी सदस्य रहेका नेता मणि थापा, प्रदेश सांसद तथा पूर्वमन्त्री हरि रिजालसहितका आकांक्षी नेताहरुलाई चित्त बुझाएर थापाले आफ्नो नाम प्रतिनिधिसभामा सर्वसम्मत गराएका छन् । गठबन्धनमा पहिलो कांग्रेस, दोस्रो माओवादी र तेस्रो जनमोर्चा रहेको प्यूठानमा एक्लाएक्लैमा एमाले पहिलो देखिएको छ ।
गठबन्धनभित्र प्यूठानमा तीनै दलको दाबी छ । माओवादी कोटाबाट वामदेव गौतमको इन्ट्री नभए जनमोर्चा उपाध्यक्ष तथा निवर्तमान सांसद दुर्गा पौडेल नै उम्मेदवार बन्ने निश्चित छ । जसको सीधा भिडन्त थापाको हुने प्रवल सम्भावना छ । यद्यपि कांग्रेसले आफ्नो दाबी छोडेको छैन ।
प्यूठान प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो । प्यूठानको झिमरूक गाउँपालिका- १ का थापा निर्वाचनमा पार्टीलाई जिताउन संगठन बलियो बनाइसकेको दाबी गर्छन् । एमाले विभाजनको असर प्यूठानमा निकै कम परेको उनको भनाइ छ ।
प्यूठान पहिलेदेखि नै वामपन्थीको आधार इलाका हो । अहिले पनि ७७ प्रतिशत भोट वामपन्थीकै छ । तर चिराचिरामा विभाजित भएकाले र आफैमा प्रतिस्पर्धा गरेकाले वामपन्थीहरुलाई चुनौती छ । ‘को हो वामपन्थी ? शेरबहादुरलाई प्रधानमन्त्री बनाउने, कांग्रेसको नेतृत्वमा चुनावमा जाने अनि वामपन्थी भन्ने ?’, उनी प्रश्न गर्छन् ।
स्थानीय तहको अवस्था
स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले प्यूठानका ७ तह जित्दा एमालले २ वटामात्रै जितेको छ । कांग्रेस र माओवादीले ३/३ वटा, र जनमोर्चाले १ वटा पालिकामा जीत निकालेका छन् ।
स्थानीय तह निर्वाचनमा वडागत मतभारलाई हेर्दा जिल्लामा एमालेसँग ४० हजार ९९३ मत रहेको छ । तर सत्ता गठबन्धनसँग ५१ हजार ९५५ मत रहेका छ । गठबन्धनतर्फ कांग्रेससँग २१ हजार २२, माओवादी केन्द्रसँग १५ हजार ७४६, राष्ट्रिय जनमोर्चासँग १३ हजार ८५४ र नेकपा एकीकृत समाजवादीसँग १ हजार ३३३ मत रहेको छ । जिल्लाका ६४ वडामध्ये २०/२० वटामा एमाले र कांग्रेस, १०/१० वटामा माओवादी र राजमो तथा २ वटामा विप्लव नेतृत्वको नेकपा हुँदा २ वटामा स्वतन्त्रले जितेका छन् ।
कमजोर बन्दै मसाल
तथ्यांकलाई विश्लेषण गर्दा अहिले प्यूठानको अवस्था फेरिएको छ । प्यूठानलाई मसालको किल्ला मानिन्छ । तर, त्यो अब इतिहास भइसकेको थापा बताउँछन् । ‘तथ्यांक हेर्नुहोस् अब पुराना कुरा गरेर भ्रम पार्नुहुँदैन’, उनले भने, ‘अब नयाँ परीक्षणका लागि एक्लै लड्ने हिम्मत गर्नुपर्छ ।’
प्यूठानको हरेक निर्वाचनमा फरक नतिजा आएको छ । बहुदल आएपछि भएका ७ वटा निर्वाचनमै निरन्तर परिवर्तन आएको छ । २०४८ सालको निर्वाचनमा कांग्रेसले जितेको थियो । कांग्रेसका शिवराज सुवेदी १ नम्बर क्षेत्रबाट र २ नम्बर क्षेत्रबाट मुक्ति शर्माले जितेका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा १ नम्बर क्षेत्रबाट पुनः सुवेदी र २ नम्बर क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका नवराज सुवेदीले जितेका थिए ।
२०५६ सालको निर्वाचनमा भने दुवै क्षेत्रमा जनमोर्चाले जित्यो । १ नम्बर क्षेत्रबाट हरि आचार्य र २ नम्बर क्षेत्रबाट नवराज सुवेदी दोहोरिए । २०६४ सालको संविधानसभा निर्वाचनमा २ वटै क्षेत्रमा नेकपा माओवादी केन्द्र विजयी भएको थियो । माओवादीका नारायण अधिकारी १ नम्बर क्षेत्रबाट र २ नम्बर क्षेत्रबाट दीपक केसीले जितेका थिए ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा २ वटै क्षेत्र एमालेले जित्यो । एमालेका वामदेव गौतम १ नम्बर क्षेत्रबाट र २ नम्बर क्षेत्रबाट हीरा केसी विजयी भएका थिए । २०७४ सालको निर्वाचनमा एमाले, माओवादी र जनमोर्चाको तालमेलमा मोहनविक्रम सिहंकी श्रीमती दुर्गा पौडेल विजयी भएकी थिइन् ।