दशैंमा चारपांग्रे सवारीसाधन किन्दै हुनुहुन्छ ? यी कम्पनीले दिँदैछ छुट र उपहार
काठमाडौं । दशैं नजिकिँदैछ । कतिपयले दशैंमा सवारीसाधन खरिद गर्छन् । पहिले विलाशिताको साधन मानिने चार पांग्रे तथा दुई पांग्रे सवारीसाधन अहिले आवश्यक बनिसकेको छ ।
दशैंमा सवारीसाधन खरिद गर्दा विभिन्न छुट एवं सुविधा पाइने अपेक्षा उपभोक्ताको हुन्छ । त्यसैले सवारीसाधन उत्पादक एवं विक्रेताहरुले दशैंतिहारलाई लक्षित विभिन्न योजना र अफरहरु सार्वजनिक गरिरहेका छन् ।
यस वर्षको दशैंमा तपाईं पनि चार पांग्रे सवारीसाधन खरिद गर्दै हुनुहुन्छ भने कुन ब्राण्डका सवारीसाधानमा के कस्तो छुट छ जान्नुहोस् कुन ब्राण्डको कस्तो छ स्किम ?
रेनोको गाडी किन्दा एक वर्षलाई फ्री पेट्रोल
रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्स हो । यसले दशैं–तिहार लक्षित योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘चाडपर्वको शुभ सुरुवात, गरौं रेनोको साथ’ नारासहित योजना सर्वजनिक गरेको हो । यो योजनाअनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा ग्राहकले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर छुट पाइनेछ ।
त्यस्तै दुई वर्षको लागि निःशुल्क सर्भिसिङका साथै एक्स्चेन्ज बोनस, लोयल्टी बोनसलगायतका अफ पाउने कम्पनीले जनाएको छ ।
फोर्स मोटर्समा नगद छुट र उपहार
फोर्स मोटर्सले आकर्षक नगद छुटको व्यवस्था गरेको जनाएको छ । गाडी खरिद गर्दा ग्राहकहरूले आकर्षक नगद छुट, वासिङ मेसिन, स्मार्ट टीभी, स्मार्ट फोनलगायतका उपहारहरू पाउनेछन् । यो अफर छठसम्म रहनेछ ।
आईएमई मोटर्समा सुनदेखि विदेश भ्रमणसम्म
आईएमई मोटर्सले दशैंतिहारलाई लक्षित गरी ‘अशोक लेल्याण्ड गाडीहरुमा चाडपर्व, हर्षको बहार, लैजानुहोस् छानी छानी उपहार’ नारा दिएर अफर सार्वजनिक गरेको छ । यो अफरअन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाइल फोन अथवा दुई जनालाई थाइल्यान्ड टुर पाइनेछ ।
कम्पनीले उपहारसहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी ७० प्रतिशत रकमलाई सरल किस्ताबन्दीमा भुक्तानी गर्ने गरी कुनै पनि सवारीसाधन खरिद गर्नसक्ने जनाएको छ । यसले अहिले आफ्ना ग्राहकको सहजताका लागि लोनमेला मेत आयोजना गरिरहेको छ ।
फक्सवागनमा इजी फाइनान्सिङ
फक्सवागन प्रिमियम चारपांग्रे सवारीसाधनको खरिदमा ग्राहकहरुले शून्य दशमलब ९९ प्रतिशतबाट सुरु हुने गरी न्यूनत्तम ब्याजदरको लाभ प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । नेपालको आधिकारिक विक्रेता पूजा इन्टरनेशनल नेपाल दशैं र तिहारको अवसरलाई लक्षित गर्दै ‘अनबिटेवल फेस्टिभ अफर’ योजना ल्याएको छ । यो योजनामा उत्कृष्ट जर्मन-इञ्जिनियर कारमा ‘इजी फाइनान्सिङ सुविधा’ प्राप्त हुनेछ ।
होण्डाको गाडी किन्दा २ लाख नगद छुट र एक तोला सुन
होण्डा गाडीमा ‘होण्डाको गाडी, सुनको चावी’ नारासहित ल्याइएको अफरमा भाग्यशाली विजेताले बम्पर उपहारमा १ तोला सुन उपहार पाउने कम्पनीले जनाएको छ । यसको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी हो । बम्पर विजेताको घोषणा हरेक महिना लक्की ड्रमार्फत गरिने कम्पनीले जनाएको छ ।
यसैगरी ग्राहकले २ लाख रुपैयाँसम्म नगद छुट, एक आर्थिक वर्षको कर निःशुल्क, ५ वर्षसम्म फ्री सर्भिसिङ, एक वर्षको फ्री इन्सुरेन्स र निःशुल्क एसेसोरिजसमेत पाइनेछ ।
टाटा एक बट्टा आयलमा अर्का फ्री
सिप्रदी अटोपाट्र्सको इटहरीस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पियन जोन) सप्तकोसी सप्लायर्सले दशैं अफर ल्याएको छ । दशैंको अवसरमा कम्पनीले टाटा जेन्यून पाट्र्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको हो ।
टाटा कमर्सियल गाडीका धनीले अझ बढी सुपथ मूल्यमा जेन्युन पाट्र्स प्रयोग गरुन् भन्ने उद्देश्यसहित अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ ।
यो अफरमा ग्राहकले एक बट्टा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक बट्टा आयल निःशुल्क पाउनेछन् । यसैगरी क्लच प्लेट तथा प्रेसर प्लेटको सेट, ब्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाइनेछ भने फिल्टरमा ४५ प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ ।
हुन्डाईमा बीमा र ५ लाख नगद छुट
हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदै गरेको दशैंतिहारमा ५ लाखसम्मको नगद छुटको योजना सार्वजनिक गरेको छ । हुन्डाई फेस्टिभ डिलाइट २०७९ योजनाअन्तर्गत ग्राहकहरुले पाँच लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप एक लाख ५० हजार रुपैयाँसम्मको नगद छुट पनि पाउनेछन् ।
साथै यो योजनामा ग्राहकहले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पाउनेछन् । सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुनेछन् ।
प्रोटोनमा स्कुटर पाइने
दशैंतिहारलाई लक्षित गरेर प्रोटोनले ल्याएको छ ‘गन्तव्य खुशीयालीको’ अफर । यो योजनाअन्तर्गत हरेक सागा सेडानको खरिदमा एनटर्क स्कूटर पाउन सकिने कम्पनीले जनाएको छ ।
पहिलो वर्षको सडक कर र बीमा पाउनुका साथै सहज इन-हाउस फाइनान्स, एक्सचेन्ज बोनस र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहारहरू पनि पाउन सकिन्छ । यो अफर प्रोटोनका सागा सेडान र एक्स ५० र एक्स ७० एसयूभीमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।