ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले लाइसेन्स दिन लागेको प्रति अर्थसमितिले माग्याे कार्यविवरण
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर कम्पनीलाई लाइसेन्स दिन अघि बढाएको विषयप्रति अर्थसमितिले चासो देखाएको छ । नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर कम्पनी थप गर्ने विषयमा नेपाल धितोपत्र बोर्डले अघि बढाएको कार्यको पूर्ण विवरण पेस गर्न संसद्को अर्थ समितिले निर्देशन दिएको हो । गत भदौ ३१ गते विवरण पेस गर्न लेखेको पत्रको जबाफ सात दिन भित्र दिन समितिले भनेको छ । नेपालमा दोस्रो स्टक एक्सचेन्जको अनुमति दिने र धितोपत्र दलाल व्यवसायीलाई नयाँ अनुमति दिने गरी नियमावली संशोधन गरेको विषयलाई नेप्से कर्मचारी संघ र नेपाल स्टक ब्रोकर एसोसिएसनले समिति सभापति समक्ष निवेदन दिएका थिए । सोही निवेदन उपर कारबाही गर्दै उक्त विवरण माग गरेको पत्रमा उल्लेख छ ।
‘नयाँ स्टक एक्सचेन्ज ल्याउने विषय सार्वजनिक संस्थान सञ्चालन कसरी गर्ने भन्ने दीर्घकालीन विषयसँग सम्बन्धित रहेको र धितोपत्र दलाल व्यवसायीलाई अनुमति दिनु अगाडि मुद्रा बजार र पूँजी बजार सम्बन्धित समितिको प्रतिवेदन २०७७ अनुसार आवश्यक तयारी पुरा गर्न समितिले निर्देशन दिएका विषय कार्यान्वयन भए नभएको सम्बन्धमा समितिमा गम्भीर रुपमा छलफल गर्नु पर्ने देखिएको र तत्काल समितिको बैठक बस्न सक्ने अवस्था नभएकोले यस सम्बन्धमा विस्तृत विवरण सम्बन्धित निकायसँग माग गरी अभिलेख राख्ने साथै समितिको बैठक बस्न साथ तत्काल छलफल गर्ने व्यवस्था मिलाउने भनी तोक आदेश भएकोले यस सम्बन्धमा भएका काम कारबाही सम्बन्धी विस्तृत विवरण ७ दिन भित्र समितिमा आइपुग्ने उपलब्ध गराइदिन अनुरोध छ’, समितिको पत्रमा उल्लेख छ । समितिले पठाएको पत्र नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्ड दुवैले बुझीसकेका छन् ।