कालिकापथ वाइपास रोड अलपत्र, निर्माणमा लापरबाही गरेकाे भन्दै एमाले असन्तुष्ट – Nepal Press

कालिकापथ वाइपास रोड अलपत्र, निर्माणमा लापरबाही गरेकाे भन्दै एमाले असन्तुष्ट

रुपन्देही । बुटवलको व्यस्त बजारलाई व्यवस्थित गर्नका लागि निर्माण थालिएको करिब २१ करोड लगानीको आन्तरिक वाइपास सडक निर्माणमा लापरबाही भेटिएको छ । योगिकुटीदेखि पुरानो बजारसम्मको बुटवलको मुख्य बजारमा ८२ फुटको बाटो निर्माणका लागि अघिल्लो प्रदेश सरकारले बुटवल उपमहानगरको समन्वयमा थालेको काम अहिले सरकार फेरिएसँगै अलपत्रजस्तै परेको छ ।

उत्तर र दक्षिणमा निकासका काम नै रोकिएपनि दुवै सरकारले वेवास्ता गरेको र निर्माण भएको सडकमा पनि गम्भीर लापरबाही भेटिएको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् । कालिका पथ सडक नाम रहेको यो बाटोले आन्तरिक वाइपास लागि महत्वपूर्ण काम गर्ने भएपनि अहिले दुवै सरकारको वेवास्तामा परेको र बनेका सडक क्षेत्र पनि लापरबाही भएको स्थानीय व्यवसायी माधव खनाल बताउँछन् ।

स्थानीयले निर्माणमा लापर्वाहीको गुनासो गरेपछि नेकपा एमालेले सक्रियता देखाएको छ । तत्कालीन मन्त्री लिला गिरीको पहलमा लुम्बिनी प्रदेश सरकारले विशेष योजनामा राखेर निर्माण थालेको यो सडक निर्माणमा अहिले यहाँको स्थानीय तथा प्रदेश सरकारले वेवास्ता गरी अलपत्र पारेको स्थानीयले गुनासो गरेपछि एमालेले सक्रियता बढाएको दावी गरेको छ ।

२०७६ सालमा एमाले बुटवल नगर कमिटीले सडक किनारका अवरोध हटाउन सक्रियता देखाएपछि निर्माण सुरु गरिएको उक्त सडक र फुटपाथ निर्माणमा निर्माण ब्यवसायीले लापर्वाही गरी कमसल सामग्रीको प्रयोग गर्ने गरेको गुनासो बढेपछि नेकपा एमाले क्षेत्रीय कमिटीले चासो देखाएको हो ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा यो सडक विस्तारको काम सम्पन्न गर्न तीन वर्ष लाग्ने र झण्डै एक अर्ब खर्च हुने उल्लेख छ । कालिका पथको सडकको नाली फुटपाथ र सडकको अलग अलग तथा तिनकुने, होराइजन चोक र योगिकुटी गरी अलग अलग खण्डमा निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाइएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

बुटवलको पुरानो बसपार्क भनेर चिनिने कृषि उपज केन्द्र परिसरदेखि योगिकुटीसम्मको भित्री सडकलाई ८२ फुटको कायम गर्दै नमुना मार्ग बनाउने गरी बुटवल उपमहानगरपालिकाको योजनाअनुसार २०७६ सालमा अगाडि बढाइएको यो सडकको निर्माण कार्य लुम्विनी प्रदेश सरकार मातहतको पूर्वाधार कार्यालयले गरिरहेको छ ।

तीन बर्षमा सम्पन्न गर्नेगरी निर्माण प्रक्रिया अगाडि बढाइएको उक्त सडकको होराइजन चोकदेखि दक्षिणतर्फको खण्डमा सडक किनाराको अतिक्रमण हटाइए पनि अझै काम सुरु हुन सकेको छैन ।

कालिकापथको होराइजन चोकबाट उत्तरतर्फको खण्ड निर्माणका लागि सडक निर्माण कार्य बिरुवा कालिगण्डकी जेभीले १५ करोड ९० लाखमा र सोही खण्डको फुटपाथ तथा नाली निर्माणका लागि एमकेएसके पर्वतीय जेभीले ४ करोड ५६ लाखमा निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेका थिए ।

संघीय र प्रदेश सरकारको सहकार्यमा निर्माण भएको सडकको फुटपाथ निर्माणमा चरम लापर्वाही भएका कारण त्यसलाई रोक्न तथा सुधार गर्न दवाव दिने उद्देश्यले अनुगमन थालिएको नेकपा एमाले क्षेत्र नं २ का संयोजक बावुराम पन्थीले बताए ।

लुम्विनी प्रदेशसभामा रुपन्देही क्षेत्र नं २ क का निर्वतमान सदस्य समेत रहेका पूर्वमन्त्री लिला गिरीको नेतृत्वमा भएको अनुगमनमा स्थानीयले फुटपाथ निर्माणका क्रममा निर्माण ब्यवसायीलाई आफूहरुले सुधार गर्न आग्रह गर्दा पनि बेवास्ता गरी कमसल सामग्रीको प्रयोग गर्ने गरेको गुनासो गरेका थिए ।

अनुगमनका क्रममा फुटपाथमा प्रयोग गरिएका सामग्री कमसल खालका पाइएको, सडकको मापदण्डअनुसार निर्माण नगरिएको खण्डखण्ड काम गरेर अलपत्र पारिएको अवस्था भेटिएको नेकपा एमाले पोलिटब्युरो सदस्य समेत रहेका पूर्व मन्त्री गिरीले बताए ।

बुटवल उपमहानगर पालिका कार्यबाहक प्रमुख साबित्रादेवी अर्यालले कालिपथको निर्माणमा स्थानीयले गरेको गुनासो अनुसार कै कमीकमजोरी निर्माण व्यवसायीबाट भएको पाइएकोले नगरपालिका, निर्माण व्यवसायी सहरी बिकास कार्यालय र सडक पूर्वाधार बिकास कार्यालयका बीचमा बैठक बसी मापदण्ड अनुसार काम सम्पन्न गर्न निर्देशन दिइने बताइन् ।

०५४ सालमा कालिका पथलाई ८२ फुटको कायम गर्नेगरी मापदण्ड बनाइएको थियो । केहीले सडक विस्तारका काममा अवरोध सिर्जना गरेपछि योजनामा परेको सडक विस्तार ढिलोगरी मात्रै सुरु भएको थियो ।

अहिले यसको मुख्य निकास मानिएको लुम्बिनी प्रादेशिक अस्पताल पछाडि पुरानो बसपार्क छिर्ने सडक नै साँघुरो बनाएर अलपत्र पारिएको छ भने यही बाटोलाई छेक्नेगरी बुटवल उपमहानगरले संरचना बनाइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर