बनेन सिरहा-धनुषा जोड्ने कमला पुल, दैनिक हजारौं यात्रु बाँसको टेकोमा जोखिम मोल्दै (भिडिओ)
जनकपुरधाम । सिरहाकाे बरियारपट्टीका ५० वर्षीय सञ्जय यादव बिरामी छोरी लिएर उपचारका लागि जनकपुर जाँदै थिए । छिट्टै पुग्ने सोचेर उनले हुलाकी सडक रोजे । तर, कमला नदीमा गएपछि पुल भत्किएको ठाउँमा बनाएको बाँसको लचका (अस्थायी पुल) पार गर्ने हिम्मत भएन । अनि उनी फर्किएर राजमार्ग भई जनकपुरधामतर्फ लागे ।
यस्तै धनुषाको कमला नगरपालिकाका सतेन्द्र यादव सिरहाको इटाटार जाने क्रममा भत्किएकै पुल भएर अस्थायी पुल नजिक आइपुगे । पुल पार गर्ने साहस नआएपछि उनको मोटरसाइकल एक युवकले लगिदिए । उनी भने पैदल झरे ।
उनले भने, ‘अस्थायी पुल मोटरसाइकलबाट तर्न डर लागेको थियो । तर, एक युवकलाई एक सय रूपैयाँ दिएर पार गराएँ ।’
कमला नदीको भत्किएको पुलमाथि बसेका केही युवाले लगानी गरेर केही बाँस तेर्स्याएर अस्थायी पुल बनाएका छन् । जोखिम मोलेर पनि दैनिक हजारौं मानिस आवतजावत गर्न बाध्य छन् । चारपाङ्ग्रे गाडीले थेग्न सक्दैन । मोटरसाइकलवालाले नसके प्रतिगोटा एक सय लिएर पार गराउन केही ढुक्कसँग बसेका छन् ।
अस्थायी पुल बनाएका भोगेन्द्र मुखिया भन्छन्, ‘८० हजार रूपैयाँ खर्च गरेर बाँसको पुल बनाएका छौं । यसमा कसैले सहयोग गरेकाे छैन । त्यसैले यात्रुबाटै पैसा उठाएका हौं ।’
दिनभरलाई एकजनासँग एक सय रूपैयाँभन्दा बढी नलिने बताउँदै मुखियाले कसैले ५० र कोही त नि:शुल्कै पनि आउनेजाने गरेको सुनाए ।
सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुल भत्किएको एक वर्ष बढी भइसक्दा पनि पुनर्निर्माण भएको छैन । जसका कारण अस्थायी पुलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् स्थानीय ।
सिरहा सदरमुकामबाट हुलाकी सडक भएर जनकपुरधाम पुग्न करिब ४५ मिनेट लाग्छ । तर, राजमार्ग भएर जनकपुरधाम पुग्न झण्डै ३ घण्टा लाग्छ । राजमार्गकाे दूरी लामाे भएकाले धेरै मानिस जोखिम मोलेरै जनकपुरधाम पुग्न हुलाकी सडक रोज्छन् । पुलको पूर्व सिरहा नगरपालिका, र पश्चिम धनुषाको कमला नगरपालिका पर्छ । तर, दुवै स्थानीय सरकार त्यहाँको अवस्थाबारे अनभिज्ञ छ ।
कमला नदीमा ७० मिटर लम्बाइ र ११ मिटर चौडाइ पुल निर्माणका लागि २०६८ मै पप्पु कन्स्ट्रक्सनले २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का लिएको थियो । पप्पुले काम नगरेपछि सम्झौता रद्द गरी २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई जिम्मा दिइयो ।
एक वर्षअघि असार पहिलो साता थोरैमात्र काम बाँकी भनिएकोमा २०७८ असार १७ को सामान्य बाढीले पिलर भासियो, ढलानसमेत खस्यो । सरकारले पुल पुनर्निर्माण गर्न निर्देशन दिए पनि ठेकेदार कम्पनीले वास्ता गरेको छैन ।
हुलाकी सडक आयोजनाका प्रमुख इञ्जिनियर कृष्णा महतो भन्छन्, ‘ठेक्का लिएकै कम्पनीले पुनः पुल निर्माण गर्छ । वर्षायाममा अर्को डिजाइन तयार पार्ने र हिउँदबाट काम सुरु गर्ने भनेको थियो । अब काम सुरू हुन्छ ।’
पुल भासिनुको कारण खोज्दा ढिला भएको उनको भनाइ छ ।
ग्रामिण क्षेत्रको विकासमा नदी बाधक
धनुषा र सिरहामात्र होइन सप्तरीको ग्रामीण क्षेत्रको विकासमा अहिले कमला नदी बाधक बनिरहेको छ । हुलाकी सडकलाई मधेसको लाइफलाइन मानिन्छ । धनुषा, सिरहा र सप्तरीमा करिब ९० प्रतिशत हुलाकी सडक कालोपत्रे भइसकेको छ । तर, कमला नदीमा पुल नहुँदा तीनै जिल्लाका ग्रामीण क्षेत्र विकासमा पछि परेको छ ।
राजमार्गमा तीब्र गतिमा बजार विकास भइरहेको छ । कैयौं नयाँ बजारले काँचुली फेर्दा हुलाकी सडकमा पर्ने पुराना बजारको अवस्था उस्तै छ । यो पुल बने राजविराजबाट सीधा जनकपुरधामसम्म सवारी सञ्चालन हुनेछ ।
सन्हैठाका सुरेन्द्र यादव भन्छन्, ‘हुलाकी सडक सबभन्दा पुरानो हो । राज्यकै बेवास्ताका कारण अहिलेसम्म निर्माण पूरा भएको छैन । त्यसैले त हामी पछाडि परेका छौं । गोलबजारमा ५ हजारमा बिक्री नहुने जग्गा अहिले ५ करोडको भइसकेको छ । तर, १० वर्षअघिको ५० हजारको जग्गाको भाउ अहिले पनि उस्तै छ।’
हुलाकी सडकमा पर्ने बजारहरूको विकास भए मधेसका ग्रामीण जनताको जीवनस्तर उक्सिने उनको भनाइ छ ।
‘राज्यले जानीजानी पछाडि धकेल्ने काम गर्यो । पहाडको कुनाकाप्चामा विकास भयो । तर, एउटा कमलाको पुल कैयौं वर्षमा बन्न सकेको छैन । पुल बनेकाे भए कमसेकम धनुषा, सिरहा र सप्तरीका ग्रामीण बस्तीलाई त राहत हुन्थ्यो’, उनले थपे ।