सहकारीको ब्याजदर २० प्रतिशत बनाउन माग, नियम विपरीत ब्याज बढाए कारबाही गर्ने पक्षमा विभाग – Nepal Press

सहकारीको ब्याजदर २० प्रतिशत बनाउन माग, नियम विपरीत ब्याज बढाए कारबाही गर्ने पक्षमा विभाग

सहकारी महासंघकी उपाध्यक्ष भन्छिन्–यस्तो मन्त्री २५ वर्षमा अहिलेसम्म कहिल्यै देखिएन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाएपछि सहकारी पनि ब्याजदर बढाउनुपर्ने दबाबमा परेका छन् ।

बैंक तथा वित्तीय संस्थाले झण्डै १८ प्रतिशतमा कर्जा प्रवाह गरिरहेको अवस्थामा सहकारीले २० प्रतिशतसम्म लिन पाउनुपर्ने माग गरेका छन् ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक समेत रहेका काठमाडौँ जिल्ला सहकारी संघका अध्यक्ष ज्ञान बहादुर तामाङले सहकारीको सन्दर्भ ब्याजदर २० प्रतिशत बनाउन माग गरेका हुन् । सो संघमा हाल ४ हजार बढी सहकारी आबद्ध भएको र ती सहकारीहरूले संघमार्फत ब्याजदर बढाउन दबाब दिइरहेको तामाङले बताए ।

सहकारी नियमावली २०७५ मा सन्दर्भ ब्याजदर निर्धारण सम्बन्धी व्यवस्था छ । अहिले सहकारीहरूले १६ प्रतिशत भन्दा बढीमा कर्जा प्रवाह गर्न नपाउने व्यवस्था छ । कर्जा र निक्षेपको ब्याजदर अन्तर ६ प्रतिशत हुनुपर्ने प्रावधान छ । यस आधारमा १० प्रतिशत भन्दा बढीमा सहकारीहरूले निक्षेप लिन पाउँदैनन् । तर कतिपय सहकारी नियम विपरीत नै रहेर ब्याजदर दिइरहेका छन् । त्यसको अनुगमन विभागबाट भएको छैन ।

पछिल्लो समय सहकारीमा ऋणीले ऋण नतिर्ने र अन्यलाई भड्काउने गरेको गुनासो काठमाडौँ जिल्लासंघमा ज्यादा आउने गरेको तामाङले बताए ।

नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघका अध्यक्ष परितोष पौडेलले ऐन नियमानुसार ब्याजदर बढाउने ठाउँ नभएकाले संशोधन गरेर भए पनि सन्दर्भ ब्याजदर बढाउनुपर्ने बताए । ब्याजदर संस्थाभित्रको विषय भएकाले उसैलाई निर्धारण गर्न दिनुपर्ने पौडेलको तर्क छ ।

नियम विपरीत ब्याजदर बढाए कारबाही हुन्छ : विभाग

सहकारीहरूले विभागले ब्याजदरको विषय सुनुवाइ नगरे नियम उल्लंघन गरेर भए पनि ब्याजदर बढाउने चेतावनी दिइरहेका छन् ।

ब्याजदर निर्धारण सन्दर्भ ब्याजदर समिति गर्न सक्छ । तर यसले पहल अघि बढाएको छैन । यो समितिको संयोजकमा सहकारी विभागकै रजिस्ट्रार हुने गरेका छन् । यता ब्याजदरको प्राविधिक पक्ष अध्ययनका लागि प्राविधिक उपसमिति समेत छ । यसले भने मङ्गलवार यही विषयमा केन्द्रित रहेर अध्ययन गरेको छ । यो उपसमितिको संयोजक विभागका उपरजिस्ट्रार छन् । विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायले एक चरणको छलफल भएको बताए ।

उनले भने, ‘नियममा ब्याजदर बढाउने ठाउँ देखिएको छैन । तैपनि पहल भइरहेको छ । यद्यपि नियम उल्लंघन गरेर ब्याजदर बढाएर कानुन बमोजिम कारबाही हुनेछ ।’

सहकारीले आफूखुसी ब्याज बढाइरहेका छन्, हामी कारबाही गर्दैनौ : महासंघ

अहिले सहकारीहरूले आफूखुसी ब्याज बढाइरहेको राष्ट्रिय सहकारी महासंघले बताएको छ । महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारीहरूले ब्याजदर बढाएका छन् । तर पनि हामी कारबाही गर्दैनौ । के गर्नुपर्छ सरकारले नै गरोस् ।

वरिष्ठ उपाध्यक्ष मल्लले वर्तमान सहकारीमन्त्रीप्रति आक्रोश पोखेकी छन् । उनले आफ्नो सहकारी अभियानको २५ वर्षमा अहिलेको जस्तो मन्त्री नदेखेको बताइन । उनले भनिन, ‘मन्त्री किन हो फुलेर बस्नु भएको छ । आएको यत्रो दिन भयो अहिलेसम्म पनि महासंघलाई बोलाएर छलफल गर्नु भएको छैन ।’

सहकारी ऐन संशोधनको लागि बारम्बार पहल गर्दा पनि सरकारले बेवास्ता गरेको उनको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *