माधव नेपालको चिन्ता : राष्ट्रपतिले अरु पनि यस्तै कदम चाले के गर्ने ? (भिडिओ) – Nepal Press

माधव नेपालको चिन्ता : राष्ट्रपतिले अरु पनि यस्तै कदम चाले के गर्ने ? (भिडिओ)

प्रत्यक्ष निर्वाचित राष्ट्रपति दिमागबाट निकालिदिनुस् अब : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा कडा आलोचना गरेका छन् । उनले राष्ट्रपतिको कदमले गम्भीर संवैधानिक संकट उत्पन्न भएको दाबी गरे ।
नेकपा एसनिकट युवा संघ नेपालको वैठकलाई सम्वोधन गर्दै नेपालले संसदबाट पारित भएर गएको विधेयक अस्वीकार गर्ने राष्ट्रपतिको निर्णय अत्यन्तै गलत भएको बताए ।

उनले भने, ‘हिजो १५ दिनको समयभित्र पनि विधेयक प्रमाणीकरण नभएपछि गम्भीर संवैधानिक संकट उत्पन्न भएको छ । यसले हामीलाई अत्यन्तै गम्भीर बनाएको छ । आज संविधानको पालना नगर्ने राष्ट्रपतिले भोलि अरु पनि यस्तै कदम चाले के गर्ने ?’
उनले राष्ट्रपतिको कदमको समर्थनमा केपी ओलीका मानिसहरुले जुलुस निकालिरहेको टिप्पणी गरे ।

‘ओलीका सय ५० जनाले राष्ट्रपति जिन्दावाद भन्दै समर्थनमा जुलुस निकाल्दै छन् रे । राप्रपा नेता कमल थापाले प्रशंसा गरेका छन् । प्रतिगामी शक्तिले प्रशंसा गर्ने र क्रान्तिकारी शक्तिले निन्दा गर्ने स्पष्ट देखिएको छ । केपी ओली पनि दक्षिणपन्थि कित्तामा भासिएका छन् ।,’ नेपालले भने ।

यो कदमको सबैले विरोध नगरे भोलि गएर जे पनि हुन सक्ने नेपालले चेतावनी दिए ।

उनले भने, ‘राष्ट्रपतिले नै मनपरी ढंगले चल्ने हो भने त्यसपछि के होला ? प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको सिस्टम राम्रो हो भन्छन् । अहिले त यो हालत गरे । सर्वाधिकार सम्पन्न भएपछि बस्न खान दिँदैनन् । विद्या भण्डारी सर्वाधिकारसम्पन्न भएको भए झन् के के गर्थिन् होला ? त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा दिमागबाट हटाइदिनुस । मैले माओवादीलाई पनि भनेको छु कि निर्वाचन प्रणाली र शासन प्रणालीको बारेमा उसको चिन्तन ठीक छैन ।’

नेपालले पार्टी निकट युवासंघलाई राष्ट्रपतिको कदमका बारेमा विज्ञप्ति निकालेर प्रतिवाद गर्न निर्देशन दिएका छन् ।


प्रतिक्रिया

One thought on “माधव नेपालको चिन्ता : राष्ट्रपतिले अरु पनि यस्तै कदम चाले के गर्ने ? (भिडिओ)

  1. प्रधानमन्त्री खान पार्टी नै फुटाउनेले देशको चिन्ता ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर