लाल मोहम्मद गोलीकाण्डका ‘म्यानेजर’ नितिन मदन, जेलमा रहेका खुँखार अपहरणकारी उदय सेट्टी निकट
काठमाडौं । सोमबार साँझ गोठाटारमा भएको हत्याकाण्डका म्यानेजर नितिन मदन रहेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।
नितिन अपहरणमा मुद्दामा नेपालकै जेलमा रहेका उदय सेट्ठीसँग नियमित सम्पर्कमा रहेका व्यक्ती रहेको पाइएको छ। तर नितिनलाई कसले परिचालन गरेको थियो भन्नेबारे प्रहरी अनुसन्धानमै रहेको छ।
घटनास्थल नजिकै होटलमा तीन दिनअघिदेखि बस्ने व्यक्ती नितिन नै भएको प्रहरीको दाबी छ। सिसिटिभी फुटेजका आधारमा होटलमा तीन दिनदेखि बसेर योजना बनाइरहेका व्यक्तिको पहिचान खुलेको हो ।
उनले सुटरदेखि हतियारसम्मको बन्दोबस्त गरेको प्रहरीको दाबी छ। घटना भएको दिन उक्त होटलमा दुई जना व्यक्ती उनीसँग थपिएका थिए । उनीहरू सुटर भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
लाल मोहम्मदको सोमबार साँझ आफ्नै गार्मेन्ट कारखाना अगाडि गोली हानी हत्या भएको थियो । गोली हानेपछि एउटा मोटरसाइकलमा हवाई फायर गर्दै तीन जना भागेका थिए। प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गर्न सकेको छैन ।
कुनै समय भारतीय नक्कली नोट कारोबार र हत्या जोडिएको घटनामा पक्राउ परेर करिब ९ वर्ष जेल बसेका लाल मोहम्मद आफ्नै समूह वा भारतीय सुरक्षा एजेन्सीको योजनामा मारिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
लाल मोहम्मद र सेट्टी कुनै समय नख्खु कारागार र त्यसपछि रसुवा कारागारमा सँगै बसेका थिए। जेलबाट छुटेपछि लाल मोहम्मद र नितिन मदनले रसुवा पुगेर सेट्ठीलाई भेट्ने गरेको अनुसन्धानका क्रममा पाइएको छ ।
भारतीय नागरिक नितिन केही वर्षयता नेपालमा बसिरहेका थिए । उनी हुन्डी कारोबारमा संलग्न रहेको प्रहरी अनुसन्धानमा पाइएको छ। उनी एक पटक जुवाखालबाट पनि समातिएका थिए ।
लकडाउनका समयमा उनलाई महाराजगन्ज प्रहरी वृत्तले दुई लाख रुपैयाँसहित पक्राउ गरेको थियो। पछि जिल्ला प्रशासन कार्यालयको आदेशले उनी छुटेका थिए ।
जेलमा रहेका सेट्ठीका विश्वास पात्र मानिने नितिनले उनकै आदेशअनुसार काम गर्ने गरेको पाइएको छ। जेलबाट सेट्ठीले नितिनलाई बारम्बार फोन गर्ने गरेको पनि प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।