गोठाटार गोलीकान्डमा ‘ट्वीस्ट’ : लाल मोहम्मद आफ्नै समूहबाट मारिएका हुन् ?
अन्तरदेशीय अपराधबारे जानकार भन्छन्- अहिले सम्भव देखिँदैन
काठमाडौं। काठमाडौंको गोठाटारमा गोली हानी हत्या भएका लाल मोहम्मद प्रकरणको अनुसन्धानमा ‘ट्वीस्ट’ आएको छ।
घटनास्थलको नजिकै होटलमा तीन दिनदेखि बसेका भनिएका नितिन मदन जेलमा रहेका खुँखार अपहरणकारी उदय सेट्ठीसँग नजिक रहेको पाइएपछि अनुसन्धान अधिकारी नै अन्योलमा देखिएका छन्।
सेट्ठी पाकिस्तानको गुप्तचर आईएसआईले परिचालन गर्ने अन्डरवर्ल्ड दाउद इब्राहिम अर्थात् डी-कम्पनीसँग नजिक रहेको अन्तरदेशीय अपराधबारे जानकार प्रहरी अधिकृतहरू बताउँछन्। सोमबार मारिएका लाल मोहम्मद पनि आईएसआई र डी-कम्पनीनिकट रहेको यसअघि उनी संलग्न घटनाको अनुसन्धानबाट खुलेको थियो।
‘नेपालमा लामो समयदेखि नक्कली भारतीय नोट भेटिएको छैन। त्यस्तो गतिविधि पनि भएको सूचना छैन। त्यसैले लाल मोहम्मदलाई उनको समूहले मार्नुपर्ने कुनै कारण देखिँदैन’, ती अनुसन्धान अधिकृत भन्छन्।
आईएसएआईले डी कम्पनीमार्फत भारतमा नक्कली भारतीय नोटसहितका आपराधिक गतिविधि गर्ने गरेको र त्यसका लागि नेपाली भूमी र नेपाली नागरिकलाई समेत प्रयोग गर्ने गरेको भारतीय सुरक्षा एजेन्सीहरूले दाबी गर्दै आएको छ।
नक्कली भारतीय नोटको कारोबारमा संलग्नहरू भारतीय सुरक्षा एजेन्सीको निशानामा पर्ने गरेको यसअघिका विभिन्न घटनामा भएका अनुसन्धानहरूले देखाएका छन्।
भारतीय नक्कली नोटका कारोबारीको हत्यामा संलग्न भएको आरोपमा मोहम्मद करिब ९ वर्ष जेल बसेर २०७३ सालमा छुटेका व्यक्ती हुन्। उनलाई अर्का नक्कली भारतीय नोट कारोबारी इल्ताफ अन्सारीले प्रयोग गरेर हत्या गर्न लगाएको आरोप लागेको थियो।
सेठ्ठीसँग नितिनको सम्बन्ध र सम्पर्कलाई मात्र जोडेर लाल मोहम्मद गोलीकाण्डलाई हेर्न नहुने विशेषज्ञ अनुसन्धान अधिकारी बताउँछन्।
‘सेठ्ठी विशुद्ध अपहरणकारी हुन् तर लाल मोहम्मद नक्कली भारतीय नोटको कारोबारसँग जोडिएका व्यक्ती हुन्। यी दुई अपराधलाई फरक किसिमले हेर्नुपर्ने हुन्छ। त्यसैले लाल मोहम्मदको हत्या गर्न नितिन मदनलाई म्यानेजरका रूपमा मात्र प्रयोग गरिएको हुन सक्ने सम्भावना यस घटनामा देखिन्छ’, ती अधिकारी भन्छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानले नितिनले सुटरदेखि हतियारसम्मको बन्दोबस्ती गरेको प्रहरीको दाबी छ। घटना भएको दिन उक्त होटलमा दुई जना व्यक्ती उनीसँग थपिएका थिए। उनीहरू सुटर भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
लाल मोहम्मदको सोमबार साँझ आफ्नै गार्मेन्ट कारखाना अगाडि गोली हानी हत्या भएको थियो। गोली हानेपछि एउटा मोटरसाइकलमा हवाई फायर गर्दै तीन जना भागेका थिए। प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गर्न सकेको छैन।
लाल मोहम्मद र सेट्टी कुनै समय नख्खु कारागार र त्यसपछि रसुवा कारागारमा सँगै बसेका थिए। जेलबाट छुटेपछि लाल मोहम्मद र नितिन मदनले रसुवा पुगेर सेट्ठीलाई भेट्ने गरेको अनुसन्धानका क्रममा पाइएको छ।
भारतीय नागरिक नितिन केही वर्षयता नेपालमा बसिरहेका थिए। उनी हुन्डी कारोबारमा संलग्न रहेको प्रहरी अनुसन्धानमा पाइएको छ। उनी एकपटक जुवाखालबाट पनि समातिएका थिए।
लकडाउनका समयमा उनलाई महाराजगन्ज प्रहरी वृत्तले दुई लाख रुपैयाँसहित पक्राउ गरेको थियो। पछि जिल्ला प्रशासन कार्यालयको आदेशले उनी छुटेका थिए।
जेलमा रहेका सेट्ठीका विश्वास पात्र मानिने नितिनले उनकै आदेशअनुसार काम गर्ने गरेको पाइएको छ। जेलबाट सेट्ठीले नितिनलाई बारम्बार फोन गर्ने गरेको पनि प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। अनुसन्धानमा खटिएका प्रहरीले विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताएका छन्।