महासचिव पोखरेलको दाबी- एमाले देशभक्तको रोजाइको पार्टी बनेको छ
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी देशभक्तहरूको पहिलो रोजाइको पार्टी बनेको दाबी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियताका पक्षमा एमालेले लिएका अडानका कारण यस्तो अवस्था आएको बताएका हुन् ।
‘एमाले यतिबला राष्ट्र निर्माणको आकांक्षा राख्ने हरेक नागरिकका लागि आशा र भरोसाको केन्द्रका रुपमा स्थापित भएको छ,’ उनले भने,‘चाहे राष्ट्रहित, स्वाभिमान र राष्ट्रियताका पक्षमा हाम्रो पार्टी र हाम्रो पार्टीका अध्यक्ष कमरेडको खेल्नुभएको भूमिकालाई चर्चा गर्दा देशभक्तका लागि रोजाईको पार्टी एमाले बनेको छ ।’
संविधान सभाको समयमा नेपाललाई विभिन्न जातका आधारमा विभाजन गर्ने र कमजोर पार्ने षडयन्त्र भएको दाबी गर्दै महासचिव पोखरेलले त्यतिबेला ओलीले लिएको अडानले त्यो निस्तेज भएको दाबी गरे । उनले भने, ‘अध्यक्ष कमरेडले यो राष्ट्र बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राज्य हो, यहाँ जातीय राज्य हुनुहुँदैन भनेर अडान लिनुभयो ।’
यस्तै अध्यक्ष ओली संविधान सभालाई असफल पार्ने षडयन्त्र हुँदा संविधान सभाबाटै संविधान जारी गर्ने कुराको नेतृत्व गर्ने नेताका रुपमा भूमिका खेल्ने नेताका रुपमा रहेको उनले टिप्पणी गरे ।
यस्तै नाकाबन्दी, नेपाली गुमेको भूमिको नक्सांकन लगायतका विषयमा एमालेले लिएको अडानका कारण देशभक्त शक्ति एमालेकेन्द्रीत हुन लागेको महासचिव पोखरेलेको दाबी छ ।