ओलीको दाबी- एमाले देश र संविधानको भाषा बोल्छ, गठबन्धन निजी स्वार्थको (भिडिओ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले आफ्नो पार्टी देशको, संविधानको र कानूनको भाषा बोल्ने दाबी गरेका छन् ।
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमका बोल्दै उनले यही कारण एमालेमा पार्टी प्रवेशको लहर चलेको बताए ।
‘नेकपा एमाले देशको भाषा बोल्छ । जनताको भाषा बोल्छ । संविधानको भाषा बोल्छ । कानूनको भाषा बोल्छ,’ उनले भने,‘गठबन्धन मसलको भाषा बोल्छ । निजी स्वार्थको भाषा बोल्छ ।’
गठबन्धन निजी स्वार्थका लागि जे काम पनि गर्न तयार हुने अवस्था देखिएको अध्यक्ष ओलीले बताए ।
‘गठबन्धन निजी स्वार्थका लागि जेजे गर्नुपर्छ गर्छ । एमाले देशको स्वार्थका लागि जेजे गर्नुपर्छ त्यो गर्छ,’ उनले भने ।
एमाले गठबन्धनका पार्टीजस्तो सुरक्षाको खोजी गर्दै दौडिने पार्टी नरहेको अध्यक्ष ओलीले बताए ।
‘हाम्रो पार्टी गठबन्धनजस्तो आफ्नो सुरक्षा खोजेर, आफ्ना स्वार्थका लागि हुडुल्किएको गठबन्धन होइन । देश बनाउनका लागि एकताबद्ध भएर अगाडि बढ्ने क्रियाशील समूह यो संस्था हो,’ उनले भने ।