`कवि बन्न मधुपर्क, गरीमाका सम्पादकलाई नमस्कार गरिनँ´ – Nepal Press

`कवि बन्न मधुपर्क, गरीमाका सम्पादकलाई नमस्कार गरिनँ´

अहिले कुनै मिथकको कथा जस्तो बनेको भोजपुर–धरानको किनारै किनारको पैदल बाटोमा अहिले मान्छे हिँड्दैनन् । ढाक्रेहरु र उनीहरुको गीतका भाकाहरु हिँड्ने त्यो बाटोमा विस्तारै खच्चडहरु हिँड्न थाले । ढाक्रेका गीतको ठाउँमा खच्चडका घण्टीहरु बज्न थाले । अलि पछि भोजपुर–धरानका लागि भनेर डोजर हिँड्यो । ढाक्रेका गीत र कथाहरु अल्झेका बिसौनीहरु उधिन्यो डोजरले । र धुलाम्मे सडकमा ट्र्याक्टर, ट्रकहरुले धुलो उडाउन थाल्यो ।

कवि भूपाल राई सानै थिए । उनका कलिला आँखाले देख्थे, कोसीपारी धनकुटाका खोपु र छिन्ताङ गाउँबाट सुन्तलाको भारी बोकेर ढाक्रेहरु धरान झर्थे । सुन्तला बेचेर नुनतेल बोकेर त्यही बाटो फर्कन्थे । ठूलो भएपछि जागिरको सिलसिलामा त्यही गाउँ पुगे राई । सुन्तला बोक्नेहरुको सुन्तले कथाहरुलाई नजिकबाट नियाले । र गीत लेखे, –

सुनकै भाउ छ सुन्तला भारीको
चाखिजानु भन्ने मनकारीको
खोइ त बुटजुत्ता ?
कतिन्जेल धाउँछौ दाइ धरान धनकुटा ?

कुुन्ति मोक्तानले गाएको यो पुरानो गीत अहिले पनि पूर्वेली मेलातिर गाइबस्छन् पूर्वेलीहरु । डोजरले पुरेको ढाक्रे हिँड्ने बाटा सम्झाउने यो गीत त अहिले पनि सुनिन्छ, तर ती बाटाहरु भने सदाका लागि पुरिइसकेका छन् ।

बितेको ४० वर्षमा राईले सयौं गीत लेखे । सयौं कविता लेखे । तर, गीत र कवितामा समुदायलाई कहिल्यै छुटाएनन् । गीत र कवितामा किराती सभ्यता, संस्कृति र परम्परालाई समेटिरहे । सांस्कृतिक जगमा उनले लेखेका शब्दहरु जहिल्यै किराती समुदायलाई छोएर बजिरहे, वाचित भइरहे ।

कहिले ‘दाजै कविता गाउँमै छ’ भनेर कविता लेखे, कहिले ‘आगोले जन्मोत्सव मनाउँदैन’ भनेर कविता संग्रह नै तयार पारे । कहिले ‘यो बाटो मेरो हो, यो माटो मेरो हो’ भनेर गीतै लेखे । तर, गीत लेख्नु कि कविता लेख्नु बढी सहज हो उनलाई ?

उनको संश्लेषण छ, ‘गीत र कविताको आधारभूत सर्त नै फरक छ । कविता विचारले लेखाउँछ, गीत भावनात्मक कुराले । कविता लेख्नुभन्दा गीतमा संश्लिष्ट भावलाई एकीकृत गर्न अलिकति गाह्रो छ । किनभने गीतको ग्रामर मिटरमै हुन्छ । शब्दकोष सानो छ । गीतमा छोटोमा धेरैकुरा भन्नुपर्ने भएकाले कविता लेख्न अलि सहज लाग्छ ।’

राईको तर्क छ, गीतमा एकै शब्दमा हजारौंपटक मरेर गीत लेखिन्छ । तर कविता चाहिँ विचारप्रधान चिज भएकाले अध्ययनको आवश्यकता बढी पर्छ । उनी थप्छन्, ‘पानीको विषयमा गीत लेख्नुप¥यो भने पानीभित्रै रहनुपर्छ । कवितामा त पानीलाई हजारौं विम्ब र प्रतीकमा लेख्न सकियो ।’

कवि हुन मधुपर्क, गरीमाका सम्पादकलाई नमस्कार गरिनँ

जब ४० वर्ष अगाडिको समयलाई फर्केर हेर्छन् राई, उनलाई बडो अनौठो लाग्छ । अहिलेको उपभोक्तावादी र पूँजीवादी समाजमा अर्थोपार्जनले सबैथोकको मापन गरिरहेको छ । यस हिसाबले यत्तिका लामो समयसम्म केही गरिएन झैं लाग्छ उनलाई । तर, जब मानिस बाँच्नुको अभिष्ट हुन्छ । विभेदसँग हरेक मानिसको सम्बन्ध हुन्छ । समाज, समुदाय र समयसँग खेल्दै जाने क्रममा त्यो वोध हुन्छ, तब उनलाई लाग्छ, ‘जीवनमा धेरै काम गरिएछ ।’

०३४ सालमा काठमाडौं छिरेका थिए राई । त्यो पनि एसएलसी दिनसाथ । त्यसवेला राजधानी थर्काउने दुई पत्रिका थिए, मधुपर्क र गरीमा । यी पत्रिकामा छापिएपछि मात्रै कोही सर्जक राष्ट्रियस्तरमा पुगेको भ्रममा हुने गर्थे । सँगै सिन्डिकेट पनि छँदै थियो, नयाँहरुलाई बाइपास गर्ने । यस्तो माहौलमा राईले स्थान पाउने सवालै रहेन ।

अहिलेजस्तो कर्पोरेट हाउस थिएनन् । साप्ताहिक पत्रिकाहरु थिए । पत्रिका प्रकाशनलाई सौखको रुपमा लिने जमाना जो थियो । त्यसवेला गोपाल साङ्साको सम्पादकत्वमा छहरा द्धैमासिक पत्रिका निस्किन्थ्यो । अर्कातिर राज्यसत्ताबाट विभेदमा परिएकाको आवाज बोकेको ‘कोङ्पी’ नामक पत्रिका थियो घल राईको सम्पादकत्वमा । यी दुई पत्रिका थिए, कवि राईको कविताहरु छापिने ।

राई ती दिन सम्झन्छन्, ‘मेरो स्वभाव कस्तो भने चिनजानभन्दा बाहिरी वृत्तको मान्छेलाई कविता छापिदेऊ भन्दै नजाने । त्यो स्वभाव अहिले पनि यथावत छ । तर, गरीमा, मधुपर्कमा छापिँदा कवि होइन्छ भन्ने त थाहा थियो । तर जानैपर्छ भन्ने कहिल्यै लागेन । ठूलो कवि हुने हुटहुटी नभएर हो कि ! सम्पादकलाई नमस्कार गर्नुपर्छ, चिनजान गर्नुपर्छ भन्ने प्रक्रियामा कहिल्यै सामेल भइनँ ।’

अनि मधुपर्क, गरीमामा कविता छापियो

राईको कविता छापिरहेको छहरा द्धैमासिक साप्ताहिकमा गयो । कोङ्पी बन्द भयो । उनी कविता त लेख्थे, आफ्नै डायरीमा सीमित राख्थे ।
०४४/४५ सालतिर दार्जिलिङका प्रख्यात कवि गुमानसिंह चाम्लिङ काठमाडौं आएको खबर पाए उनले । त्यसवेलाको बागबजारमा पातला घरहरु थिए । नयाँ मान्छे कोही आए भने ठ्याक्कै थाहा हुन्थ्यो । उनी चाम्लिङलाई भेट्न गए । परिचय गरे । दार्जिलिंगे कविको खुवाइ, हिँडाइ त्यसवेलाको ठूला मान्छेहरुसँग थियो । त्यसैले बिहान बिहान गएर भेट्थे ।

भेटघाट बाक्लो भएपछि एक दिन ओछ्यानमै गएर उनले चाम्लिङलाई कविता सुनाए । उनी ३५ वर्षअघिको त्यो क्षण सम्झँदै भन्छन्, ‘कविता सुनाएपछि झस्किएर फरक तरीकाले हेर्नुभयो । छाती खोलेर हिँड्ने, डिंगो बुट लगाउने, कपाल पालेको । गुण्डाजस्तो देख्नुभयो होला । बूढालाई ढ्याक्क कविता सुनाउनसाथ जुरुक्क उठेर शीरदेखि पाउसम्म, पाउदेखि शीरसम्म तीनपटक हेरेर भन्नुभयो, यो हुनै सक्दैन ।’
त्यसपछि चाम्लिङले उनलाई तान्दै लगेर मधुपर्कको अफिसमा पुर्‍याए । त्यसबेला मधुपर्कमा कृष्णभक्त श्रेष्ठ थिए । चाम्लिङले श्रेष्ठलाई भने, ‘यो केटाले राम्रो कविता लेख्छ, एउटा कविता छापिदिनुस् ।’

र कविता तुरुन्तै छापियो । गरीमामा पनि उनै चाम्लिङले नै पुर्‍याए ।

राई सम्झन्छन्, ‘उहाँसँग भेट नभएको भए धेरै वर्ष लाग्थ्यो । त्यहाँसम्म पुग्न त्यति धेरै वर्ष लाग्नुमा मेरो नचिनेको मान्छेसँग नखुलीहाल्ने मेरो स्वभाव पनि कारक थियो होला । फेरि ती पत्रिका संस्थापनसँग जोडिएकाले म संस्थापित रुपमा पत्याइने कवि, जात थिइनँ । आफैं खोजेर जाने स्वभाव पनि थिएन ।’

अनि गुमानसिंहकै कारण किताब ल्याउन १० वर्ष लाग्यो

‘अर्को कुरा, उहाँले नै लगभग दश वर्ष मलाई पछि धकेलिदिनुभयो,’ उनी भन्छन् ।

उनको कविता सुनेपछि गुमानसिंहले भने, ‘तेरो कविता संग्रह निकालिदिन्छु, सबै बटुलेर ल्या ।’ दार्जिलिङको पुरानो प्रकाशन गृह श्याम प्रकाशनबाट किताब निकालिदने बताए गुमानसिंहले । उनलाई के चाहियो ! रातारात हातले लेखेर पाण्डुलिपि तयार गरे । र गुमानसिंहलाई बुझाइदिए ।

केही महिना बसेर दार्जिलिङ फर्किए गुमानसिंह । र फेरि फर्किएर काठमाडौं आएनन् । न किताब छापियो, न पाण्डुलिपि फर्कियो । पछि त खबर पाए, ‘गुमानसिंहको स्वर्गवास भयो ।’

उनी भन्छन्, ‘किताब नछापिएर एक दशक विलम्ब भयो । ४०–४२ कविता भेला गरेर दिएको थिएँ । पछि सम्झिएर केही रिराइट गरेँ । र ०५३ सालमा किताब ल्याएँ ।’

०००
अहिले नयाँ कविता सग्रह ल्याएका छन् राईले ‘यारी’ । ०७० सालदेखि यता लेखिएका उनका कविताहरुको संग्रह हो यो । तर, अचेल गुमानसिंहसँग भेट्दाजस्तो ऊर्जा छैन राईसँग । थोरै घटेको छ । तर, निरन्तर लेखिरहेका छन् ।

दिमागमा केही कुराले ट्रिगर गरेपछि दिमागकै शब्द संरचना बनाउँछन् उनी । अनि निकै लामो समयपछि कागजमा लेख्छन् । र कयौंपटक रिराइट गर्छन् । पहिला रातिराति पनि कविता लेख्थे । पछिल्लो समय उमेरका कारण बेलुका छिटै सुत्छन् । भन्छन्, ‘बिहानको समय अलि सहज लाग्छ ।’

राईको लेखन सधैं किराती सभ्यता, समुदाय र संस्कृति वरिपरि घुमिरह्यो । मुन्दुमलाई आधार बनाएर सृजनाहरु तयार पारे । पहिचानमाथि वकालत गर्दै लेखे ।

तर, समग्रमा पहिचान साहित्यलाई चाहिँ कसरी बुझ्ने?

यसको ऐतिहासिक कारण हुँदोरहेछ । कुनै पनि चिज शून्यबाट सुरु हुँदैन । वस्तुगत सर्त चाहिन्छन् ।पहिलो कुरा त आदिवासी राई, लिम्बु विभेदमा पारिएकै हुन् । त्यसैले पहिचानको कुरा जोडदार ढंगले यो समुदायले उठाउने गरेको छ ।

यी दुई जातिले पहिचानको विषय उठाइरहनुको पहिलो कारण हो, किरातीहरु यो देशको सबैभन्दा प्राचीन जाति हो । प्राचीन जातिभन्नसाथ प्राचीन सभ्यता, संस्कृति र भाषा छ । यो देशको माटोलाई पहिलोपटक आवाद गर्ने जाती हो । र किरातीहरु नै किन सृजनाको माध्यमबाट सवल रुपमा आए भने उनीहरुलाई वोध भयो कि हाम्रो सभ्यता सर्वाधिक प्रााचीन हो । मुन्दुमा दर्शन, विश्वदृष्टिकोण, मूल्य मान्यता र विस्वासपद्दति छ । अनि यही कुरा यो देशको मुलधारको दृष्टिकोण हुनुपर्नेमा किन भएन भन्ने सघन वोधले पहिचान साहित्य बलियो छ । किनभने उसले आफ्नो इतिहास खोज्यो ।

तर, आन्दोलनको पनि फेजहरु हुन्छ होला । पहिचानको सवाल अहिले कुन फेजमा आइपुगेको अवस्था हो ?

पहिचान विषयको शब्दावलीतिरै जाने हो यो नयाँ शब्द हो । ०६२÷०६३ को जनआन्दोलनपछि आएको हो । पहिलो कुरा त हामी ज्ञानै नभएको उत्पिडनमा छौं, रैथाने संस्कृति विभेदमा छ भनेर ज्ञान नभएको समय थियो । राजकुमार दिक्पालले लेखेको एउटा लेखमा ‘आदिवासी’ शब्द प्रयोग हुनका लागि पनि २०१८ साल कुर्नु परेको थियो । आदिवासी शब्दमै ज्ञान नभएपछि हाम्रो मुद्दा पहूँचमा पुग्ने अवस्था हुँदैन । त्योअघिको समय लगभग अन्धकार युग हो हाम्रा लागि ।

पश्चिममा लखन थापा, पूर्वमा राम्रप्रसाद राईहरु चेतना भएका थोरै मान्छे थिए । तर, सामुहिक चेतना कमजोर थियो । त्यसको कारण आन्दोलन, मुभमेन्ट र संसारमा भइरहेको राजनीतिक परिवर्तनहरु हाम्रो देशमा कम भएछ । २००७ सालको क्रान्तिको संकेत के देखिन्छ भने पूर्वबाट आएका रामप्रसाद राई, नारदमणि थुलुङले स्वतस्फूर्त भोजपुरको मालखड्डा बक्जा गरेपछि उठेको क्रान्तिको कुरा गर्दा भोजपुरबाट उठेको त्यो आन्दोलन २००७ सालको क्रान्ति होइन ।

त्यसवेला स्वतस्फुर्त पहिचानको आन्दोलन त उठेको थिएन । तर, अवचेतनमा उठेको अवश्य थियो । २० को दशकपछि वरिष्ठ कवि वैरागी काइँला दाइले अलिअलि लिम्बुको, मुन्दुमको शब्द क्वेन गर्नुभयो । त्यो पनि आन्दोलनका लागि भने थिएन । अवचेतनमा भने थियो ।

पहिचानको आन्दोलन एकैपटक उभारमा आएको चाहिँ ०४५/४६ सालतिरबाट हो । पहिचान साहित्य कतै न कतै राजनीतिक आन्दोलनसँग जोडिन्छ । ०५२ सालको माओवादी मुभमेन्टलाई हामीले बिर्सनु हुँदैन । पहिचानको मुद्दालाई राजनीतिकसँग ट्वाक्कै जोड्ने, पहिचान र जातीय मुक्ति अनि राजनीतिक सँगसँगै अगाडि बढाउनुपर्छ भन्ने एजेन्डा माओवादी आन्दोलनले विकसित गरिदियो ।

०६२/६३ को जनआन्दोलनपछि हामी जुन फेजमा छौं, यसले बहुल सांस्कृतिक, जाति र धार्मिक देश हो भन्ने मुद्दालाई स्थापित गरिदिएको छ ।

पहिचानको मुद्दा उभारको रुपमा आयो । साहित्य लेखियो । कठोर समीक्षा गर्दा पहिचान साहित्य कति बलियो छ ? जसरी लेखिनुपथ्र्यो, त्यसरी लेखिएको छ ?

अहिलेको पहिचान सम्बद्ध सृजनाको उभारलाई हेर्दा आवाजको लागि बलियो छ । ‘मै हुँ’ भन्ने कुरा हाम्रो आवाजबाट स्थापित गरिदियो । तर यसरी नै जाने हो भने हाम्रो मुक्ति कति सम्भव छ ? यो सवाल साहित्यमा गएर जोडिन्छ । अहिलेसम्म जे गर्‍यौं, हामीले धेरै हल्ला गर्‍यौं । मैले पनि हल्ला गरेँ, भाइहरुले पनि हल्ला गरे, दाजुहरुले पनि हल्ला गरे । हामी यहाँ छौं भनेर ठेगाना चाहिँ दिइयो ।

तर, कता जानुपर्छ भनेर पहिचानको मुद्दामा दर्शन आइडियोलोजी जोड्नुपर्छ । खास मागैनिर्देशक विना र्‍याण्डमली कराएका छौं । सबैलाई गोलबन्द गरेर गन्तव्यमा पुग्न खास बाटो चाहिन्छ । हामी छरिएका छौं ।

०००


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर