महन्थनिकट नेता झा भन्छन्–सत्ता गठबन्धन वा एमाले कसैसँग तालमेल गर्नुहुन्न
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरनिकट मानिने एक नेताले सत्ता गठबन्धन वा एमाले जोसुकैसँग चुनावी सहकार्य, तालमेल र गठबन्धन गर्न नहुने बताएका छन् । अध्यक्ष ठाकुरनिकट नेता डा सुरेन्द्र झाले यस्तो बताएका हुन् ।
फेसबुकमा आज एक पोष्ट सार्वजनिक गर्दै नागरिकता विधेयक विरोधी, संघीयता र समवेशीतालाई अस्वीकार गर्ने एवं मधेशी राष्ट्रियतालाई अस्वीकार गर्नेहरूसँग कुनै प्रकारको चुनावी सहकार्य, तालमेल र गठबन्धन गर्न नहुने तर्क गरेका छन् ।
‘नागरिकता विधेयक विरोधी, संघीयता र समवेशीतालाई अस्वीकार गर्ने एवं मधेशी राष्ट्रियतालाई अस्वीकार गर्नेहरूसँग कुनै प्रकारको चुनावी सहकार्य, तालमेल र गठबन्धन गर्नु हुँदैन,’ उनले लेखेका छन्,‘लोसपा नेपाल मधेस केन्द्रित राजनितिक दलहरूसँग सहकार्य गर्न सक्छ १’
यस्तै मधेस प्रदेशको सम्पूर्ण निर्वाचन क्षेत्रमा र मधेशको सम्पूर्ण जिल्लाहरूमा समेत लोसपा नेपालले उमेदवारी दिनु पर्ने उनले उल्लेख गरेका छन् ।
उनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको विपक्षमा रहेर संघर्ष गरेकै कारण मधेकेन्द्रीत दलहरू स्थापित भएको पनि बताएका छन् । झाले अगाडि लेखेका छन् ।
‘हाम्रोलागि सत्ताधारी गठबन्धन या एमाले जोसुकैसँग चुनावी सहकार्य, तालमेल र गठबन्धन भएमा मधेशी दलहरुको आधारभूत मूल्य–मान्यता सकिने निश्चित छ,’ झाले लेखेका छन् ।
लोसपाले हिजोमात्रै एमालेसँग गठबन्धनका लागि छलफलका गर्न वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको थियो । त्यसकै विपक्षमा झाको अभिव्यक्ति आएको हो ।