प्रचण्ड भन्छन्- बाबुरामजी र म मिलेर अर्को नयाँ खालको जनयुद्ध गर्छौं (भिडिओ)
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता भएको बताएका छन् । काठमाडौंमा आज आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै त्यो जनयुद्धमा डा। बाबुराम भट्टराई र आफूले फेरी मिलेर लड्ने बताए ।
‘बाबुरामजी मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौं । सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गर्यो,’ उनले भने,‘अहिले फेरी समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छौं ।’
पहिलेको जनयुद्धका लागि बाबुराम र आफूले ठूलै छलफल गरेको अध्यक्ष प्रचण्डले बताए । ‘कोटेश्वर र बाबुराम जीको घरमा ठूलै छलफल गथ्र्यौ । हामीले ठूलो कमिटमेन्ट गरेका थियौं । धेरै त्यो असम्भव कुरा हो पनि भने, त्यतिखेरका ठूला पार्टीले ३ महिनामै सकिन्छन् पनि भने, हाम्रो कमिटमेन्ट धेरै ठूलो थियो,’ उनले भने ।
अहिले फेरि बाबुराम र आफूले फेरि २५ वर्षअघिको अवस्थालाई सोच्दै नयाँ जनयुद्धमा जाने निष्कर्ष निकालेको उनले बताए । जुन पुरानो खालको नहुने पनि प्रचण्डले प्रष्ट्याए । उनले भने, ‘समाजवादका लागि नयाँ जनयुद्ध पुरानो खालको होइन, त्यो किसिमको सम्भव पनि छैन् । त्यो गर्ने समीक्षा गरेका छौं ।’
अहिले चुनावमा मिलेर मात्रै जाने निर्णय भएपनि चुनावको कुरा खास्सै महत्वपूर्ण नरहेको पनि अध्यक्ष प्रचण्डको भनाई छ । ‘हुन त अहिले चुनावमा मिलेर जाने, यौटै चुनाव चिन्हमा लड्ने भनेर भनेका छौं । तर हामी त्यत्तिमै सीमित हुँदैनौं । चुनावभन्दा माथि उठेर देशको समृद्धिको र विकासको नयाँ वाहक बन्ने टिम बनाउने निष्कर्षमा पुगेका छौं,’ अध्यक्ष प्रचण्डले भने ।
बाबुराम र आफूले हरेक दशकमा एउटा–एउटा काम गरेको पनि अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘एक दशकमा हामीले जनयुद्धको योजना बनायौं, अर्को दशक जनयुद्ध ग¥यौं । त्यसपछिको दशक नयाँ प्रयोग गर्नमा लगायौं, त्यसबाट केही पार लागेन् । अब अन्तिम दशकमा देशमा समाजवाद स्थापना गरेर जाने हाम्रो लक्ष्य बनेको छ ।’