राष्ट्रपतिको कदम बन्यो चुनावी एजेण्डा, जनमत पार्टी पनि आन्दोलनमा – Nepal Press

राष्ट्रपतिको कदम बन्यो चुनावी एजेण्डा, जनमत पार्टी पनि आन्दोलनमा

जनकपुरधाम । नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विषय मधेशमा दलहरुको चुनावी एजेण्डा बनेको छ ।

विधेयक प्रमाणीकरण गर्ने समय घर्किँदा पनि प्रमाणीकरण नभएपछि सत्ता गठबन्धनमा आबद्व दलहरु, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीले मधेशमा प्रदर्शन सुरु गरेका छन् ।

हिजो सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपति विरूद्ध संघर्षको कार्यक्रम सार्वजनिक गर्यो भने आज जनमत पार्टी आन्दोलनको घोषणा गरेको छ ।

असोज ७ गते बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राष्ट्रपति भण्डारी र सत्ता गठबन्धन सरकार विरुद्ध समेत आन्दोलन गर्ने निर्णय गरेको हो ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले लाखौँ योग्य नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरेको अध्यक्ष डा. राउतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै सत्ता गठबन्धनले पनि हालसम्म किसान आन्दोलनका मागहरू सम्बोधन नगरेको र किसानलाई यातना दिएकाले आन्दोलनलाई निरन्तरता दिने निर्णय भएको पनि विज्ञप्तीमा भनिएको छ ।

आन्दोलनको कार्यक्रम अन्तर्गत असोज ९ र १० गते हरेक वडामा दसैंको शुभकामना दिनुको साथै नागरिकताको अधिकार खोसेको विषय बारेमा माइकिङ गर्ने र असोज ११ गतेदेखि १८ गतेसम्म वडास्तरमा अन्तरक्रिया कार्यक्रम तथा विरोध प्रदर्शन गर्ने निर्णय जनमत पार्टीले गरेको छ ।

यस्तै असोज १९ गते किसानको आन्दोलनको माग सम्बोधन नगर्ने र नागरिकताको अधिकार खोस्नेहरुको रावणरुपी पुत्ला पनि दहन गर्ने जनमत पार्टीका अध्यक्ष सिके राउतले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर