एउटा एनजीओदेखि किन सशंकित छ तोक्पेगोला ? – Nepal Press

एउटा एनजीओदेखि किन सशंकित छ तोक्पेगोला ?

इटहरी । हालसालै तेह्रथुमको लालीगुराँस नगरपालिकाले भदौ १२ देखि २५ सम्म मुन्धुमी मार्ग यात्रा आयोजना गरेको थियो । तेह्रथुम, संखुवासभा र ताप्लेजुङका मुन्धुमी ल्याण्डमार्कहरु पुग्ने क्रममा टोलीले चोःलुङ पार्क, मेन्छ्यायेम, असाङलुङ, सेमसेमलुङ, फक्ताङलुङदेखि केलाङ सित्लाङ आसपाससम्म यात्रा गरेको थियो ।

यात्राकै क्रममा टोलीले तोक्पेगोला पुगेर स्थानीयसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा ताप्लेजुङको उत्तरी बस्ती तोक्पेगोलाका स्थानीयले गाउँको विकास र पर्यटनको सम्भावनाको बारेमा बोले । मुन्धुमी मार्गबाट लिनसक्ने फाइदाको विषयमा अन्तरक्रिया भयो ।

कुरैकुरामा स्थानीयले आफूहरुलाई सरकारले विकासबन्दी गर्दा चीनले सीमाबन्दी गरेको गुनासो गरे । गुनासो स्थानीयले एक एनजीओ अर्थात् गैरसरकारी संस्थाको पनि गरे । गाउँलेलाई थाहै नदिई काठमाडौं बसेर तोक्पेगोलाको नाममा पैसा कमाउने काममात्रै गरेको छलफलमा सहभागी गाउँलेहरुले गुनासो गरे । स्थानीय मिलन दोर्जी भन्दै थिए, ‘मिङमा डण्डु लामाले काठमाडौंमा यहाँको नाममा कार्यक्रमहरु गरिरहनुभएको छ । गाउँलेलाई जानकारी नदिई गरिएको एनजीओको कार्यक्रमसँग गाउँ नै सशंकित छ ।’

मिलनले ढोक्प्या लर्निङ ग्राउण्डस् नामको एनजीओ खोलेर काठमाडौंको चाबहिलमा मुख्यालय राखेर तोक्पेगोलाको नाममा काम भइरहेको बताए । ‘उहाँहरु यो गाउँमा हेलिकप्टर लिएरमात्रै आउनुहुन्छ । उहाँहरुलाई यहाँको कुनै जानकारी छैन भन्दा पनि हुन्छ’, दोर्जी भन्छन्, ‘गाउँले कुनैलाई सहभागी नगराइकन र छलफलविनै कार्यक्रम गर्दै हुनुहुन्छ ।’

तोक्पेगोलामा बहुमूल्य जडिबुटी र जीवजन्तु पाइने भएकाले एनजीओका कार्यक्रम शंकास्पद भएको गाउँलेहरु बताउँछन् । तिब्बत सीमा नजिकै भएकाले भूराजनीतिक चलखेल पनि एनजीओमार्फत हुनसक्ने छलफलमा सहभागी वातावरण विज्ञानमा चीनबाट विद्यावारिधि गरिरहेका दीपक खड्काले बताए । ‘केटीके बेल्ट नामको एनजीओको कुरा भूराजनीतिकसँग जोडेर धेरैले तर्क गर्ने गरेका छन्’, खड्काले भने, ‘यसलाई भारतले चलाएको र चीनको गतिविधि चेक गर्न ल्याइएको एनजीओ भन्नेहरु धेरै छन् ।’

केटीके बेल्ट नामक संस्थाको पैसा लिएर विभिन्न कार्यक्रमहरु भइरहे पनि गाउँलेलाई र गाउँलाई कुनै जानकारी नदिएको स्थानीय तेन्जिङ शेर्पाले बताए । उनले भने, ‘बाहिर बसेर काम भएको सुनिन्छ । गाउँलाई कुनै जानकारी छैन ।’

स्थानीय आइतवीर साँबा लिम्बू त ढोक्प्या सिमसारको नाममै असन्तुष्ट छन् । उनी भन्छन्, ‘यो लिम्बूको आदिम पुस्तासँग जोडिएको क्षेत्रमा शेर्पा नाम राखेर राजनीति भयो’, आइतवीरले भने, ‘यसमा मेरो सहमति छैन ।’

तोक्पेगोला क्षेत्र पर्ने मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा एमालेबाट चुनाव हारेका साँबाको गुनासोमा नेपाली कांग्रेसबाट चुनाव जितेका लालीगुराँसका मेयर अर्जुनबाबु माबुहाङले प्रतिप्रश्न गरे । उनले भने, ‘तपाईंकै सरकार हुँदा त हो यो सबै भएको । योगेश भट्टराई र ओलीहरुको पालामा ।’

आइतवीरले प्रस्टीकरण दिए, ‘योगेश र ओलीले भन्दा पनि यो गर्ने पासाङ शेर्पाले हो । घरी बाबुराम पार्टी, घरी एमाले गर्ने उनैको लहलहैमा लागेर यो ढोक्प्या सिमसार क्षेत्रको कुरा आएको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर