घटस्थापनादेखि-कोजाग्रतसम्म: यस्तो छ यसपटकको साइत – Nepal Press

घटस्थापनादेखि-कोजाग्रतसम्म: यस्तो छ यसपटकको साइत

काठमाडौं । घटस्थापनासँगै आजबाट बडादसैँ सुरू भएको छ । नवरात्रको पहिलो दिन आज गाईको घरघरको पूजा कोठा अथवा दसैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ ।

घटस्थापनाको साइत बिहान १०:२३ मा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताएका छन् । समितिले भदौ ३१ मै दसैँको शुभसाइत सार्वजनिक गरिसकेको छ ।

जसअनुसार यस वर्ष विजयादशमी टीकाको उत्तम साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ । त्यस दिन बिहान १० बजे ३४ मिनेटमा देवी विसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको हो ।

विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत तोकिएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने प्रचलन छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ ।

देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिन मात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *