इरानमा प्रदर्शनः कम्तीमा ७६ जनाको मृत्यु
तेहरान । हिरासतमा रहेकी एक युवतीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको आक्रमणमा उनीहरुको मृत्यु भएको नर्वेस्थित मानव अधिकार समूह इरान ह्युमन राइट्स (आईएचआर)ले जनाएको छ ।
सरकारी सञ्चारमाध्यमहरुले उक्त झडपमा ४१ जनाको मात्र मृत्यु भएको दाबी गरेका छन् ।
आचरणसम्बन्धी प्रहरीले पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर १२ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीले सयौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० जना पत्रकार पनि छन् ।
हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
यसैबीच महिलाहरुले लगातार १२औं रात इरानका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।