कांग्रेस मुख्यालयमा शेखर-गगन समूहको धर्ना, शीर्ष नेता अनुपस्थित (तस्बिरहरू)
काठमाडौं । ‘न्याय र समान अवसर’ का लागि खबरदारी अभियानमा रहेको नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरू गरेको छ ।
पार्टीभित्र टिकट बाँडफाँट न्यायोचित हुने नदेखिएको भन्दै सभापतिमा शेरबहादुर देउवासँग पराजित शेखर कोइराला र महामन्त्री गगन थापा समूहका नेता कार्यकर्ताले पार्टी कार्यालय सानेपामा धर्ना सुरू गरेका हुन् ।
धर्नामा उक्त समूहको दोस्रो तहका नेताहरूको बाक्लो उपस्थिति छ । दोस्रो तहका नेताहरूले दबाबमूलक कार्यक्रम गरिरहे पनि कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री थापालगायतका शीर्ष नेताहरू पुगेका छैनन् । उनीहरूले यो अभियानबारे सार्वजनिकरूपमा मुखसमेत खोलेका छैनन् ।
धर्नामा सहभागी नेता गुरुराज घिमिरेले आफूहरूको आन्दोलन न्यायका लागि भएको पत्रकारसँग बताए ।
‘हामी पार्टीको विरुद्धमा छैन । हामीले पार्टीभित्र न्याय मागेका हौ । अन्याय सहदैनौं भनेर विरोध गरेका हौं । त्यसैले हामी प्ले कार्ड र नाराबाजी गर्दैनौं । धर्ना पूर्णरूपमा मौन छ’, घिमिरेले भने ।