एमाले चितवन अध्यक्ष न्यौपानेको जिकिर- प्रचण्डसँगको प्रतिस्पर्धालाई गम्भीर रुपमा लिनुपर्ने देखेकै छैन
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डसँग चितवन ३ बाट चुनाव लड्ने घोषणा गरेका एमाले चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने अहिले चर्चामा छन् । २०४३ सालदेखि अखिलको विद्यार्थी राजनीतिमा लागेका न्यौपाने दुईपटक अखिलको चितवन जिल्ला अध्यक्ष भइसकेका छन् । राष्ट्रिय राजनीतिका चतुर खेलाडी प्रचण्डविरुद्धको उम्मेदवारी, चुनावी रणनीतिबारे नेपालप्रेसले न्यौपानेसँग गरेको कुराकानीको सम्पादित अंश:
– आसन्न निर्वाचानमा प्रचण्डविरुद्ध चुनावी मैदानमा होमिँदै हुनुहुन्छ । पूर्वप्रधानमन्त्रीसँगको चुनावी लडाइँलाई कसरी हेरिरहनुभएको छ ?
उहाँ दुईपटक प्रधानमन्त्री भइसक्नुभयो । प्रधानमन्त्री हुँदा के गर्नुभयो, समीक्षा गरौंला । निर्वाचन ठूलो र सानो मान्छे लड्ने भन्ने नै हुँदैन । निर्वाचनमा प्रतिस्पर्धा स्वाभाविक रुपले हुन्छ । उहाँ तेस्रो पार्टीको अध्यक्ष, म पहिलो पार्टीको जिल्ला अध्यक्ष छु । त्यसकारण रामप्रसाद न्यौपाने र प्रचण्डको भिडन्तभन्दा पनि नेकपा एमाले र माओवादी केन्द्रको भिडन्त हो । चितवन ३ मा भरतपुर महानगरपालिकाको १९ वडा र माडी नगरपालिका पर्छ । त्यहाँ एमाले पहिलो पार्टीको रुपमा छ । कांग्रेस दोस्रो र माओवादी तेस्रो छन् ।
– तर, गठबन्धनको मत जोड्दा त एमालेको भन्दा बढी नै छ नि ?
स्वाभाविक रुपमा त्यो छ । तर, जनता गठबन्धनकै पक्षमा रहन्छन् त ? गठबन्धनले गरेको कामको पक्षमा छन् त ? जनता कसैको पेवा हो र ? यो प्रतिस्पर्धालाई गम्भीर रुपमा लिनुपर्ने वा आत्तिनुपर्ने देखेकै छैन । सहज प्रतिस्पर्धामा जान सक्छु । जीत हासिल गर्न सक्छु भन्ने विश्वास छ । किनभने मसँग जनता छन् ।
– २०७४ मा प्रचण्डलाई नै भोट हालेर जिताउनुभयो । यसपटक आफैं भिड्दै हुनुहुन्छ । चितवन ३ का जनताले प्रचण्डको विकल्पमा तपाईंलाई भोट हाल्नुपर्ने आधारहरु केके हुन् ?
२०७४ मा उहाँलाई सहयोग गर्यौं । यसकारण कि नेपालको वामपन्थी आन्दोलन एकीकृत भए हुन्थ्यो भन्ने चाहना थियो । आम जनता र कार्यकर्ताको पनि चाहना थियो । र, नेकपा एमालेले प्रस्ट भनेको थियो कि एमालेको नेतृत्वमा स्थायी सरकार दिन चाहन्छौं । र सुखी नेपाली, समृद्ध नेपाल बनाउन चाहन्छौं । यसको अगुवाइ कमरेड केपी शर्मा ओलीले गर्नुभएको थियो ।
२०७४ को स्थानीय तहमा उहाँहरुको गठबन्धन कांग्रेससँग थियो । प्रतिनिधिसभा र प्रदेशसभामा एमालेसँग तालमेल गर्न आइपुग्नुभयो । उहाँको प्रतिबद्धता थियो, ‘हामी वाम तालमेलमात्रै होइन, वाम एकता गर्छौं, पार्टी एकता गर्छौं र हामी नयाँ पार्टी बनाउँछौं ।’ २०७५ मा पार्टी पनि नयाँ बन्यो ।
तर, कम्युनिष्ट आन्दोलनलाई राम्रो चाहने जनता र कार्यकर्ताको भावनाविपरीत उहाँले आफ्नो पार्टीको अध्यक्षकै विरुद्ध नेकपामा गतिविधि सञ्चालन गर्नुभयो । त्यसले प्रचण्ड अस्थीरताका नायक हुन् भन्ने प्रमाणित हुन्छ । चितवनका जनताले के बुझेका छन् भने मुलुकको समृद्धि र विकासको अगुवाइ गर्ने हो भने प्रचण्डको राजनीतिक अवसान जरुरी छ । त्यो देशकै निम्ति जरुरी छ ।
२०६४ देखिको परिदृश्य हेर्दै जाँदा उहाँले कहिले गिरिजाप्रसाद कोइरालालाई झुक्याउनुभयो, कहिले कसलाई झुक्याउनुभयो । उहाँ राजनीतिको कुशल खेलाडी होइन, गलत खेलाडी हो । उहाँ नियमसम्मत तरीकाले जानुहुन्न । २०७४ को स्थानीय तह निर्वाचनमा अरु ठाउँमा पनि माओवादीका मेयरहरु उठेका थिए । तर, उहाँले छोरीलाई जिताउन भरतपुरमा मतपत्र च्यात्न लगाउनुभयो । उहाँ लोकतन्त्रको मर्मलाई पनि सिध्याउन तयार हुनुहुन्छ ।
– तपाईंले ‘प्रचण्डको राजनीतिक अवसान देशकै लागि फाइदाजनक’ भन्दै गर्दा त्यति सहज रुपमा प्रचण्डको अवसान सम्भव छ ?
बिल्कुल । देशैभरिबाट माओवादी आन्दोलनमा जोडिनुभएका असल र इमानदार साथीहरु एमालेमा जोडिइरहनुभएको छ । कम्युनिष्ट आन्दोलनलाई सिध्याउने ध्रुवीकरण प्रचण्डले प्रधानमन्त्री नपाएपछि सुरु भयो । अब प्रचण्डको पारिवारिक विरासत जोगाइदिन, प्रचण्डलाई सुखसुविधा दिन कम्युनिस्ट आन्दोलनलाई छरपस्ट हुन दिनुहुन्न भन्ने कार्यकर्ताले बुझ्नुभएको छ । उहाँहरु एमालेको झण्डामुनि गोलबन्द हुन सुरु गरिसक्नुभयो । चितवनमा पनि सुरु भएको छ ।
– तपाईंको नजरमा प्रचण्ड कस्ता खालका नेता हुन् ?
प्रचण्ड आफूलाई एकदमै चलायमान र खेलाडीजस्तो देखिनुहुन्छ । तर, धूर्त खेलाडी हुनुभयो । लोकतन्त्रमा सिस्टमले खेल्नुपर्छ । जनतालाई ढाँटेर केही गर्नुहुन्न । तर, उहाँले जनतालाई धेरै ढाँटिरहनुभयो । द्वन्द्वकालपछि कार्यकर्तालाई कन्भिन्स गर्न गरिएका भिडिओ क्लिपबारे कुरै नगरौं । क्यान्टोनमेन्टमा बोलेका कुरामा जान चाहन्नँ । आफ्नै कार्यकर्ता अन्यायमा परिरहँदा त्यसको ठोस योजनामा कहिल्यै लाग्नुभएन । आफू प्रधानमन्त्री हुँदा पनि लाग्नुभएन । अहिले पनि लागिरहनुभएको छैन । त्यसले गर्दा त्यहाँ विक्षिप्तता छ । प्रचण्डले माओवादी आन्दोलनलाई अवतरण नै गराउन सक्नुभएन ।
राजनीतिक रुपमा शान्ति प्रक्रियामा ल्याएँ भनेर भन्नुभयो । तर, व्यवस्थापनसहितको अवतरण गराउनै सक्नुभएन । मुलुकको सन्दर्भमा पनि ढाँटको राजनीति गर्नुहुन्छ । चाहे एमसीसी होस् या नागरिकता विधेयक । केपी ओली प्रधानमन्त्री हुँदा पार्टी विभाजनका लागि ४० प्रतिशत हटाउनै हुन्न भन्नुभयो । तर, एमालेलाई विभाजन गर्न देउवासँग मिलेर २० प्रतिशतमा पनि झार्नुभयो ।
नागरिकता विधेयकमा सात वर्षको पाबन्दीलाई कायम राख्नुपर्छ भनेर शशि श्रेष्ठमार्फत् अगाडि बढाउनुभयो । तर, अहिले त्यही कुरालाई छाडेर राष्ट्रघाती नागरिकता विधेयकलाई अगाडि बढाउनुभयो । एमसीसी पास हुनुभएन भनेर सडकमा कार्यकर्ता उराल्नुभयो । तोडफोड गर्नुभयो । तर, संसदमा हात उठाएर एमसीसी पास गर्नुभयो ।
– चितवनमा प्रचण्डले आफ्नो पहुँचलाई प्रयोग गरेर विकासको बजेट खन्याएको छ भनिन्छ । त्यस हिसाबले चुनाव लड्दै गर्दा प्रचण्डले चितवनमा गरेका कामहरुले असर गर्ने सम्भावना कतिको छ ?
मैले उहाँबाट विकास भएको देखेकै छैन । एमालेको भिजनका आधारमा, एमालेले बजेटलाई तल लाने सिस्टमले विकास गरिदियो । २०५० साल अघि गाविसमा बजेट जाँदैन थियो । एमालेले ‘आफ्नो गाउँ आफैं बनाऔं’ भनेर बजेटको सुरुवात गरिदियो । त्यहाँबाट यहाँसम्म आइपुग्दा पालिकाहरुमा अहिलेसम्म जुन तहको बजेट जान्छ, त्यो एमालेको भिजन हो । त्यसैका आधारमा विकास भएको छ ।
चितवनमा प्रचण्डलाई जिताइसकेपछि उहाँले प्रतिबद्धता गरेको एउटा घटना भन्छु । निकुञ्जबाट माडी जान सास्ती थियो । निकुञ्जमा आकाशे पुल हाल्छु भन्नुभयो, त्यो सुरुवात भएको छैन । महानगरपालिकामा रिङरोडको शिलान्यास गर्नुभयो । महानगरले गौरवको आयोजना भन्यो । तर, एमालेको पहलमा जहाँ जहाँ बाटा खुले, त्यही त्यही अहिले रिङरोडको परिकल्पना भनिरहनुभएको छ । राप्ती करिडोर कुनै योजना अगाडि बढेको छैन । निकुञ्जबाट पीडित जनता छन् । तारबारको योजना अगाडि बढाउन सक्नुभएन ।
– तर, प्रचण्डले धेरै बजेट खन्याएका छन् भनिन्छ नि ?
स्वाभाविक रुपमा राज्यको बजेट चितवनमा नजाने भन्ने हुँदैन । प्रचण्ड हुँदा पाँच सात अरब जाने, अर्को हुँदा पाँचसात लाख नजाने भन्ने हुँदैन । जो हुँदा पनि बजेट चितवनमा जान्छ । विकास राज्यको दायित्वको कुरा हो ।
नागरिकलाई सचेत बनाउने, पहल गर्ने कुरामा जनप्रतिनिधिको भूमिका हुन्छ । तर, प्रचण्डले त्यो भूमिका निर्वाह गर्न सक्नुभएन । प्रचण्डले बजेट बास्केटबाट लिएर जाने होइन । राज्यको पैसा त्यहाँ स्वाभाविक प्रक्रियाबाट जान्छ । तर, त्यहाँ अगाडि बढेका परियोजनालाई ठीक ढंगले गर्न उहाँको पहलकदमी हुन्थ्यो होला नि ! उहाँ त झन ढिलासुस्ती गर्ने, बिगार्ने ठेकेदार शारदा अधिकारीको घरमा बस्नुहुन्छ । अनि त्यो पात्रले त्यस्ता परियोजनामा पहलकदमी लिन सक्नुहुन्न ।
महानगरभित्र बाहिर ३ नम्बर क्षेत्रमा प्रचण्ड निर्वाचित भएपछि के भयो त ? स्थानीय तहले कालोपत्रे गरेको विषय प्रचण्डलाई क्रेडिट दिएर हुन्छ र ? अघिल्लो चुनावमा उहाँले ३० बुँदे प्रतिबद्धतापत्र प्रस्तुत गर्नुभएको थियो । केपी ओलीले हुलाकी परियोजना भारतबाट नेपालमै सारिसकेपछि बल्ल माडीमा पुल बनिरहेको छ । उहाँकी छोरी मेयर बन्नुभयो, धुर्मुस सुन्तली रंगशालाको हालत अहिले हेर्नुस् । महानगरका हरेक योजना अलपत्र छन् । ल्याण्डफिल साइट बनेको छैन ।
– निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने अभिव्यक्ति प्रचण्डले सांकेतिक रुपमा दिइरहेका छन् । अब चितवन ३ का मतदाताले भावी प्रधानमन्त्रीलाई छाडेर तपाईंलाई भोट किन हाल्ने ?
उहाँ भावी प्रधानमन्त्री हुनुहोला । दुईपटक भइसक्नुभयो पनि । तर, प्रधानमन्त्री भएर देशले पाउँछ के ? त्यो क्षेत्रले भयंकर ठूलो कुरो प्राप्त गर्छ र ? उहाँ प्रधानमन्त्री हुँदा चितवनलई के गर्नुभयो ? प्रचण्ड राष्ट्रिय समस्या हुन् । कम्युनिष्ट आन्दोलन विभक्त बनाउन तल्लीन हुनुहुन्छ ।
उहाँ प्रधानमन्त्री हुनुहुन्छ भन्ने लाग्दैन । अहिले पनि उहाँहरुभित्र लडाइँ छ । गठबन्धनलाई सार्वजनिक अनुरोध छ, प्रधानमन्त्री तय गर्नुस् । प्रचण्ड हो कि, आरजु राणा हो कि, माधव नेपाल हो कि, देउवा हो ! आरजुलाई प्रधानमन्त्री बन्न पाउनुपर्यो भन्ने छ । प्रचण्डसँग साँठगाँठ गरेर भए पनि हुने योजनामा हुनुहुन्छ । कसरी देशलाई लुटेर खाने प्रधानन्त्री पदको चिन्ता छ उहाँहरुलाई ।
तर, नेकपा एमालेलाई देशको चिन्ता छ, समृद्धिको चिन्ता छ । जनताको सुखको चिन्ता छ । त्यसकारण प्रधानमन्त्री बन्न सिक्वेन्सको खेलो फड्कोमा लाग्ने व्यक्ति, देशलाई अस्थीर बनाउने व्यक्तिलाई ध्यान दिने कि देशलाई सुधार गर्न खोज्ने युवा सारथीलाई रोज्ने त्यहाँका जनताले सोच्नुहुन्छ नि त !
– गएको स्थानीय निर्वाचनमा कांग्रेसबाट जगन्नाथ पौडेल बागी उठेका थिए । बलियो जनमत भएको कांग्रेसबाट चितवन ३ मा यसपटक चाहिँ बागी उठ्ने सम्भावना कतिको छ ? सत्ता गठबन्धनविरुद्ध एमाले र राप्रपाबी तालमेल हुने सम्भावना कति छ ?
चितवनमा अहिले तालमेलको योजना बनाएकै छैनौं । तर पनि रणनीतिक रुपमा कसैले सहयोग गर्नुहुन्छ भने त्यसलाई स्वाभाविक रुपमा हामीले मान्नुपर्छ । अहिले निर्वाचन लड्न एक्लै सक्षम छौं । हाम्रो योजना नै त्यही छ । पार्टीगत तालमेलको कुरा काठमाडौंमा चलिरहेको भए पनि चितवन आइपुगिसकेको छैन । त्यसकारण सम्भावना छँदैछैन भनेर भन्दिनँ । चितवनको सन्दर्भमा एक्लै निर्वाचन जित्ने गरी तयारीलाई अगाडि बढाएका छौं ।
गठबन्धन भएकाले उहाँहरुको मतदाता धेरै छ भन्ने होइन । जनता कसैको पेवा होइन । जनता एजेन्डाको पछि लाग्नुहुन्छ । विकास र समृद्धिको पक्षधर होला नि जनता त ! प्रचण्डबाट देश र जनताको प्रगति हुँदैन भन्ने जनताले बुझिसके । प्रचण्डलाई हराउन त्यहाँका जनता सक्षम छन् । आम लोकतन्त्रवादी जनसमुदायले एमालेलाई साथ दिन्छ ।
अघिल्लो स्थानीय तह निर्वाचनभन्दा बढी विद्रोहको सुरुवात कांग्रेसमा भइसकेको छ । कांग्रेसका पुराना कृष्णलाल सापकोटा बुवाले भनिसक्नुभयो, ‘अरु युवाले आँट्दैनौं भने म प्रचण्डका विरुद्ध उम्मेदवारी दिन्छु ।’ उहाँले मात्रै होइन, टेकप्रसाद गुरुङ, दिनेशजीहरुले भनिरहनुभएको छ । जगन्नाथ पौडेल दाइहरुले भनिरहनुभएको छ । भीमबहादुर श्रेष्ठजीहरुले भनिरहनुभएको छ । उहाँहरु सबै कांग्रेस जोगाउन प्रचण्डलाई हराउनुपर्छ भनिरहनुभएको छ ।
– २०७४ सालको स्थानीय तह निर्वाचनमा मतपत्र च्यातेर रेणु दाहाललाई भरतपुरको मेयर निर्वाचित गरेको आरोप प्रचण्डलाई लाग्यो । तर, २०७९ सालको स्थानीय निर्वाचनमा कांग्रेसबाट बागी उठ्दा पनि रेणुले नै ठूलो मतान्तरले जितिन् । खासमा गणित कहाँ बिग्रेको रहेछ ?
अघिल्लोपटक मतपत्र च्यातियो । कांग्रेसका उम्मेदवार थिएनन्, त्यसले एमालोई फाइदा पनि भएको थियो । योपटक कांग्रेसको विद्रोही उम्मेदवार रहने कुराले हामीलाई घाटा पनि भयो । कांग्रेसको उम्मेदवार रहँदा विद्रोही भोट जगन्नाथ दाइको पोल्टामा गयो । झण्डै १५ हजार भोट त्यहाँ गयो । त्यसले एमालेलाई घाटा भयो । अर्कातिर पार्टी विभाजनको एउटा खालको पीडा थियो । माधव नेपालहरु बाहिरिनुभएको थियो । मनोविज्ञान के थियो भने पार्टी फुटेको वेला यत्रो ठूलो गठबन्धन भन्ने मनोविज्ञानले पनि हाम्रा भोट घटे भन्ने विश्लेषण छ ।
त्यो हिसाबले हामीले सोचेभन्दा फरक परिणाम आयो । तर, चुनाव हारे पनि हाम्रा कार्यकर्ताको आत्मबल भने बलियो बनेको छ । हिजो १५ सय, दुई हजार मतान्तर भएको ठाउँमा हामी २०-५० मतले हार्यौं । त्यसले आत्मविश्वास बलियो बनाएको छ ।
अर्कातिर सत्ताको दुरुपयोग भयो । स्थानीय तह निर्वाचनमा त्यसलाई रोक्न सकेनौं । निर्वाचन आयोगमा उजुरी गर्यौं । तर, ऊ पनि मुकदर्शक बन्यो । रातारात कांग्रेस सभापति, माओवादी केन्द्रका अध्यक्ष, प्रचण्डको निर्वाचन क्षेत्रको स्वकीय सचिवको गाडी समातेर जनताले राख्दा पनि प्रहरी प्रशासनले जोगाउने काम गर्यो । यसपटक हामी सचेत छौं । प्रतिकार गर्ने गरी योजना बनाउँछौं । निर्वाचन आयोग सचेत हुनुपर्छ । अघिल्लो निर्वाचनमा हामीले सोचेकोभन्दा फरक परिणाम आयो, त्योबाट पाठ सिकेर हामी नयाँ खालको रणनीति बनाउँछौं ।
– रामबहादुर थापालगायत माओवादी केन्द्रका नेताहरु नेकपा विभाजन हुँदा एमालेमै रहनुभयो । यसले चितवनमा कत्तिको फाइदा होला ?
हामीलाई स्वाभाविक ढंगले फाइदा हुन्छ । तत्कालीन नेकपा हुँदा चितवन अध्यक्ष यमबहादुर परियार माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज हुनुहुन्थ्यो । उहाँसहित अरु साथीहरु एमालेमा भर्खरै जोडिनुभएको छ । बादल कमरेडसहितका नेताहरु नेकपा हुँदै एमाले बन्ने प्रक्रियामा रहनुभयो । त्यसले नेपालको कम्युनिष्ट आन्दोलनलाई थप बल पुर्याएको छ ।
– सरसर्ती हेर्दा चितवन ३ का जनतासँग प्रचण्ड र तपाईंमध्ये एकजना छान्ने विकल्प छ । जनताले आफ्ना समस्याहरु सल्टाउने उम्मेदवार खोज्लान् नि ?
उहाँ सांसद बनिसकेपछि कतिजना जनताले भेटेर आफ्नो समस्या दर्शाउन पाउनुभयो म सोध्न चाहन्छु । जनताले भेट्न पनि पाउनुहुन्न । उहाँहरुको सुरक्षा घेराले सहज हुँदैन । म त जनताकै बीचमा रहन्छु । मलाई भेट्न कुनै सुरक्षा घेरा क्रस गर्नुपर्दैन । रामप्रसाद न्यौपाने त्यहीं पढ्यो, हुर्कियो, त्यहीं जन्मियो । त्यहीं राजनीति गर्यो ।
जनता पनि त्यहीं चाहन्छन् होला नि ! संसदमा हाम्रो विषय उठाइदेओस्, यहाँ आउँदा हामीसँग रहिदेओस् । प्रचण्डबाट त्यो सम्भव नहोला । प्रधानमन्त्री हुँदैमा सबै समस्या समाधन होला र ? दुई-दुईपटक हुनुभयो त ! जनताले आफ्नो प्रतिनिधिलाई आफूसँगै चाहन्छन् । तर, यसो हेरेर ठूलो मान्छे हुनुहुँदो रहेछ भन्ने त पक्कै चाहँदैनन् ।