आज पनि उपमेयर डंगोलको नेतृत्वमा बजार अनुगमन- डी एण्ड डी खाद्य सप्लायर्सको सामान जफत, संगम स्वीटलाई चेतावनी
काठमाडौं । नेपालीहरुको महान चाड दसैं नजिकिएसँगै काठमाडौं महानगरले चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारेको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा हिजोबाट सुरु चाडपर्व लक्षित बजार अनुगमनलाई आज पनि निरन्तरता दिइएको हो ।
महानगरपालिकाले आज कालिमाटीस्थित फलफूल तथा तरकारी बजार र खाद्यान्न पसलहरुमा अनुगमन गरेको छ ।
उपेमयर डंगोलले आज पनि अनुगमनका क्रममा उपभोक्ताले ठगिएको महसुस गरेको अवस्थामा वा अखाद्य वस्तु बिक्री गरिरहेको भेटिएमा हाम्रो हटलाइन ११८० र १६६००१०५५११ मा खवर गर्न पनि आग्रह गरेकी छन् । उनले अनुगमनलाई दसैंअघि र पछि पनि निरन्तरता दिने बताइन् ।
उपमेयर डंगोलले आज कालिमाटी र कुलेश्वर क्षेत्रमा अुनगमन गर्दा केही खाद्यान्न पसलमा म्याद गुज्रिएको खाद्य सामग्री भेटिएको र त्यसलाई जफत गरेको जानकारी दिइन् ।
‘केही खाद्यान्न पसलमा बिक्रीका लागि राखिएको सामानमा उत्पादन गर्ने कम्पनी र खानयोग्य भनी प्रमाणित गरेको प्रमाणित नम्बरसमेत प्रस्ट नभएको पनि भेटिएको र उनीहरुलाई दुई दिनभित्र उत्पादन कहाँ भएको र कसले गरेको, खानयोग्य छ कि छैन सबै प्रस्ट पार्न निर्देशन दिएको बताइन् ।
दुई दिनभित्र त्यो प्रस्ट नभए कारबाही गर्नेसम्मको चेतावनी दिएको उनले जानकारी दिइन् । ‘अनुगमनका क्रममा कतिपय ठाउँमा राम्रो भेटियो, कतिपय ठाउँमा भने उपभोक्ताको स्वास्थ्यमाथि चरम लापरबाही गरेको भेटियो’, उनले भनिन्, ‘कतिपय खाद्यान्न पसलमा घुन लागेको चामल, चिउरालगायतका खाद्य सामग्री पनि भेटियो । ती सबै सामग्री जफत गरेका छौं ।’
अनुगमन गरिएको एक खाद्यान्न पसललाई जरिवाना नै गराउने गरी सामान जफत गरिएको उनले जानकारी दिइन् । ‘हामीले सामान जफत गरेका छौं’, उनले भनिन्, ‘हामी थप परीक्षण गर्छौं र कारबाही प्रक्रिया अघि बढाउँछौं ।’
उनले संगम स्वीटमा पनि अनुगमन गरेको जानकारी दिइन् । ‘त्यहाँ दुई वटा किचेन रहेको र एउटा किचेनमा प्रयोग भएको तेल शुद्ध भेटियो’, उपमेयर डंगोलले भनिन्, ‘अर्को किचेनमा प्रयोग भएको तेल भने अशुद्ध भेटियो । विज्ञसहितको खाद्यको टोलीले परीक्षण गर्दा एउटा किचेनमा प्रयोग भएको तेल रातो बल्यो । त्यो भनेको प्रयोग नै गर्न नमिल्ने तेल भन्ने हुनेरहेछ ।’
उनले संगम स्वीटलाई आइन्दा यस्तो प्रयोग गरे कारबाही गर्ने चेतावनी दिइएको जानकारी दिइन् । ‘कतिपय ठाउँमा महानगरपालिका अनुगमनमा आयो भनेपछि गोदामहरु सटर लगाएर भागेको पनि भेटियो’, उनले भनिन्, ‘उहाँहरु आज भागेर केही हुन्न । हामी निरन्तर अनुगमन गर्छौं र गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौं ।’
उनले अनुगमनका क्रममा घुन परेको चामल चिउरालगायतका खाद्यान्न बिक्री गर्ने कालीमाटी-कुलेश्वरको डी एण्ड डी खाद्य सप्लायर्सको सामाना जफत गरिएको बताइन् । ‘उहाँहरुले हामीलाई म्याद गुज्रिएको सामान फिर्ता लैजानका लागि राखेको भन्नुभयो । तर, हामीलाई विश्वास नलागेपछि जफत गरेका हौं’,उनले भनिन्, ‘त्योसँगै अमन खाद्य किरानाको पनि सामान जफत गरेका छौं । उहाँले जानकारी दिनुभयो ।