पत्रकारमाथि अपशब्द बोलेपछि बुटवलका मेयर विवादमा
रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आफैले बोलाएको सार्वजनिक कार्यक्रममा पत्रकारमाथि अपमानजनक शब्द प्रयोग गरेपछि विवादमा परेका छन् ।
स्थानीय तहको निर्वाचनपछि चार महिनाको अवधिमा भएका प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख पाण्डेले पत्रकार डिबी सुस्लिङलाई अपमानजनक शब्द प्रयोग गरेका थिए ।
पत्रकार सुस्लिङले मेयर साप तपाईले पेश गरेको विवरणका के कति काम भए र आगामी योजना के छन् रु तथ्यांकमा आएन, यो चुनावी घोषणापत्रजस्तो भयो, यसअघि पनि प्रश्न सोधेको रिसाउनु भयो भनेर प्रश्न गरेका थिए तर जवाफमा मेयर पाण्डेले ‘तपाईंले जहिले पनि नेगेटिभ समाचार मात्र लेख्ने रु आफूले लेखेका समाचारबारे तपाईंलाई लाज लाग्दैन, एकपटक सबै लेखेका समाचार पढेर आउनुस् भन्दै कड्किएका थिए ।
मेयर पाण्डेले गरेको उक्त व्यवहारप्रति नेपाल पत्रकार महासंघ रुपन्देही, प्रेस चौतारी नेपाल रुपन्देही, प्रगतिशील पत्रकार संघलगायतले गम्भीर आपत्ति जनाएका छन् ।
महासंघ रुपन्देही सचिव विनोद परियार, प्रेस चौतारी अध्यक्ष लक्ष्मण पौडेल, प्रगतिशीलका अध्यक्ष श्यामलाल पोखरेलले सार्वजनिक पद धारण गरेको व्यक्तिले प्रयोग गरेका शब्द निन्दनीय भएको र तत्काल माफी मागेर आगामी दिनमा यसो नगर्ने प्रतिवद्धता जनाउन माग गरेका छन् ।
उनीहरुले समाचार सधै सकारात्मक मात्रै नहुने र नेतृत्वमा बस्नेले आलोचना पचाउनसक्नुपर्ने बताउँदै प्रकाशित समाचारका विषयमा चित्त नबुझे छलफल गर्न सकिने विषयमा जनप्रतिनिधिलाई सचेत गराएका छन् ।