दशैं मनाउन घर फर्किने यात्रुलाई टिकट पाउन धौ, यस्तो छ नयाँ बसपार्कको दृश्य (तस्बिरहरू)
काठमाडौं । हिन्दूको महान पर्व दसैँको मुख्य दिन नजिकिएसँगै काठमाडौं उपत्यका छाड्नेहरुको संख्या ठूलो छ । अन्य समयमा शनिबार प्रायः खाली हुने काठमाडौँका सडकमा आज भने सवारी साधनको बाक्लो उपस्थिति छ ।
पोका÷पुन्तुरा बोकेर मानिस उपत्यका छाड्न हतारिएका दृष्य विभिन्न क्षेत्रमा देख्न सकिन्छ । टिकट काटेकाहरु सवारीसाधन कुर्दै बसिरहेका छन् । अधिकांश यात्रुहरु टिकट नपाएर खाली सवारीको प्रतिक्षा गरिरहेका छन् ।
कतिपय यात्रु त सीट नपाएका कारण उभिएरै यात्रा गर्न बाध्य छन् । टिकटका लागि बसपार्क पुगेका तर नपाएकाहरु भाडाभन्दा बढी रकम दिएर पनि घर जान पाए हुन्थ्याे भन्ने अवस्थामा पुगेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ सुरु भएपछि घटस्थापनादेखि क्रमशः बाहिरिने यात्रुको चाप बढिरहेको छ । त्यसदिन ६० हजार यात्रुले उपत्यका छाडेका थिए ।
बिहीबार ७१ हजार सात सय यात्रुले उपत्यका छाडेकामा शुक्रबार उपत्यका छाड्नेको सङ्ख्या ८४ हजार रह्यो ।
आज भने त्यसको तुलनामा दोब्बर (दुई लाख) बढीले उपत्यका छाड्ने अनुमान गरिएको कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।