सुदनलाई शेरधनको जवाफ- मैले भोजपुरमा ५ अर्ब पठाएँ, तपाईँको हिसाब पनि जनताले राखेका होलान्
'भोजपुर त्यस्तो माटो हो जहाँ सधैँ एमालेले विजयको झण्डा गाड्दै आएको छ, यो पटक पनि सफल हुन्छ'
काठमाडौं । नेकपा एमालेको हरेक फुट र संकटमा अविचलित नाम हो- शेरधन राई । भोजपुरका पूर्वमन्त्री हेमराज राई, अजम्बर काङमाङ हुदैँ पछिल्लो समय राजेन्द्र राई, जयन्ती राईसम्मले पार्टी छाड्दा शेरधन जतिसुकै अप्ठ्यारोमा डेग नचली एमालेलाई साथ दिइरहे । जिल्लामा एमाले जोगाइराख्न उनले कमाण्डरको भूमिका निभाएका छन् ।
२०५६ को संसदीय चुनावमा २८ वर्षका उनी सबैभन्दा कान्छो सांसदको रूपमा सदनमा इन्ट्री गरेका थिए । त्यसताका चुनाव लड्दै गर्दा एमाले विभाजित भएर माले बनेको थियो । भोजपुरमा उतिबेला मालेको दबदबा थियो । स्थापित नेताहरू सबै मालेमा लागेको त्यो बेला एउटा बाध्यात्मक अवस्थाको रूपमा सम्झिन्छन् उनी ।
५४ मा एमाले पार्टी विभाजित हुँदा राई एमाले भोजपुरको उपसचिव थिए । अधिकांश नेता कार्यकर्ता मालेमा गएपछि भोजपुर एमालेको कमाण्ड सम्हालेका शेरधनले २०५४-७० वैशाखसम्म लगातार चार कार्यकाल जिल्ला हाँके ।
हरेक चुनौतीलाई कुशलतापूर्वक सम्हाल्दै जाँदा उनी सफल देखिएका छन् । तत्कालीन उपाध्यक्ष अशोक राईसहितका नेताले पार्टी छाडेर जाँदा जनजाति मूलका नेताहरूको एमाले बचाउँ अभियानको नेतृत्वदायी भूमिकामा थिए । शेरधन ।
उनले पार्टीमा मात्र नभई राजकीय जिम्मेवारी पनि कुशलतापूर्वक निभाइसकेका छन् । ७० मा संविधानसभामा निर्वाचित भएपछि उनी संविधान मस्यौदा समितिको सदस्य र सुशासन तथा अनुगमन समितिको सभापति भए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई संसदीय समितिमा बोलाएर स्पष्टीकरण लिएको विषयले चर्चासँगै स्याबासी पाएको थियो ।
सञ्चारमन्त्री भएको बेला आमसञ्चार नीति, आमसञ्चार प्रतिष्ठान गठन, विज्ञापन परिषद् निर्माण, क्लिन फिड, सार्वजनिक प्रसारण सेवाको सन्दर्भमा उनले नीतिगत रूपमा उदाहरणीय काम गरेका छन् । नेपाल टेलिकमलाई फोरजीमा लैजानेलगायतका काम पनि उनकै पालामा भयो ।
संघीय संरचनापछि उनी २०७४ फागुन २ गते प्रदेश १ को पहिलो मुख्यमन्त्री बने । सात प्रदेशमध्ये कान्छो मुख्यमन्त्रीरूपमा राईले ३ वर्ष ६ महिना ७ दिन जिम्मेवारी सम्हाले । ११औं महाधिवेशनबाट उनी पार्टी स्थायी कमिटीमा छन् ।
२३ वर्षपछि पाँचौंपटक शेरधन पुन: चुनावी मैदानमा छन् । भोजपुरबाट ह्याट्रिक गरिसकेका उनी चौथो जितको व्यग्र प्रतीक्षामा छन् । गठबन्धनबाट माओवादीका उम्मेदवार सुदन किरातीसँग उनको भेट पक्कापक्कीजत्तिकै छ । रोचक त के छ भने- किरातीसँग उनको यो तेस्रो भिडन्त हो । ६४ को पहिलो संविधानसभा चुनावमा शेरधनलाई किरातीले हराए । ७० मा उनै सुदनलाई शेरधनले हराए । ७४ मा वामगठबन्धनबाट सुदन संघ, शेरधन प्रदेशमा विजयी भए ।
चुनावी तयारी, गठबन्धनविरुद्ध जितको सम्भावना, मतदातामाझका एजेण्डालगायतका विषयमा पूर्वमुख्यमन्त्री राईसँग गरिएको कुराकानी नेपाल टकमा
– २८ वर्षको उमेरमा संसद भवन छिर्नुभयो । ५६ को चुनावलाई फर्केर हेर्दा कस्तो थियो अनुभव ?
त्यतिबेला संवैधानिक राजतन्त्रसहितको शासनप्रणाली थियो । त्यसबेला प्रतिनिधिसभा निर्वाचित भएर पहिलो अनुभव बटुलेँ । त्योभन्दा अघि चुनाव लडेको थिइन र मनस्थिति पनि थिएन । पार्टीको एउटा इमान्दार सिपाही र भविष्यको परिपक्व नेताको रूपमा आफूलाई स्थापित गर्ने र आफ्नो एकाडेमिक अवस्थालाई सम्पन्न गर्ने लक्ष्य लिइरहेका बेला मैले चुनाव लड्नुपरेको थियो । त्यो एउटा बाध्यात्मक अवस्था पनि थियो । ५४ मा एमाले विभाजित भयो । धेरै बहालवाला नेता/माननीय विभाजनको पक्षमा लाग्नुभयो । मैले २३/२४ वर्षको उमेरमा एमाले थामेर बस्नुपर्ने परिस्थिति निर्माण भयो । मैले आँट गरेँ । त्यही बीचमा चुनाव लड्नुपर्ने स्थिति बन्यो । एउटा सामान्य गाउँले परिवेशमा हुर्किएको किसानको छोरा म सानैदेखि इमान्दार थिएँ । सानो उमेरमा समाजमा मैले भरासिलो र विश्वासिलो युवाको छवि बनाको थिएँ । त्यसकारणले एउटा भर्खरको केटो मलाई त्यतिबेला ओठ निचोर्दा दूध आउँछ पनि भन्थे त्यस्तो युवालाई भारीमतका साथ जितेको थिएँ ।
– २३ वर्षपछि फेरि चुनावी रेसमा हुनुन्छ । टिकट पक्का भइसकेको हो ? कृपाशुर शेर्पाले पनि दाबी गर्नुभाको छ ?
म पद विशेषका लागि टिकटको दौडमा छैन । अहिलेसम्म माननीय हुनको निम्ति टिकटका लागि अनेक दबाब पहलकदमी वा घुमफिर गरेर टिकट लिएको छैन । परिस्थितिले आवश्यकताले पार्टीले बोध गरेर जिल्लाको सिफारिस र केन्द्रीय कमिटीको निर्णयमा चुनाव लड्दै आएको छु । यसपटक पनि मलाई टिकट चाहिन्छ नत्र भने भन्ने ममा छैन । जिल्लाको आवश्यकता, देशको आवश्यकताले जुन एउटा राष्ट्रिय हैसियत निर्माण गरेर देशको राजनीतिमा एउटा भूमिका खेल्न सक्ने नेकपा एमालेको स्थायी कमिटी सदस्यको हैसियतमा छु । अहिले पनि मैले देशको परिस्थिति आवश्यकताको मूल्यांकन गरेर पार्टीले निर्णय गर्ने हो । पार्टीको लिडरसीपले मलाई संकेत गर्नुभए बमोजिम संघीय संसदमा तपाईँको आवश्यकता छ । त्यसअनुसार तयार गर्नुस् भनेपछि आफूले यो रेसमा उभ्याएको छु । जिल्लाका कार्यकर्ता, आममतदाताले पनि यस हैसियतको राजनीतिक नेतृत्व अर्को मान्छे विकास भइनसकेकाले तपाईँ नै आउनुपर्छ भन्ने भावना र सुझावलाई ध्यानमा राखेर म अघि बढेको छु ।
– ४ पटक चुनाव लड्नुभो ह्याट्रिक नै गरिसक्नुभो । सञ्चारमन्त्री हुनुभो । मुख्यमन्त्री भइसक्नुभयो । अब के भनेर अझै लड्ने ?
एउटै मान्छेलाई कतिपटक मतदान गर्ने फेरि आउने चुनावमा शेरधन राईलाई नै किन मत दिने भन्ने प्रश्न खडा हुन्छ नै । मैले पनि मतदातालाई भन्नैपर्ने हुन्छ । म चरणबद्ध रूपमा यस हैसियतमा स्थापित भएको छु । यसमा आम भोजपुरेको शुभेच्छा, सद्भाव र आशीर्वाद छ । मलाई सांसददेखि, सञ्चारमन्त्री हुँदै मूख्यमन्त्रीसम्म भोजपुरे जनताको मत, आशीर्वादलाई जहिलेपनि शीरमा राखेर काम गर्दै आएको छु । अनेकन कालखण्डमा म कहिल्यै पनि विचलित भएको छैन । अनेकौ आरोह-अवरोहमा कहिल्यै पनि हल्लिएको छैन । म सही ट्रयाकमा हिँडिरहेको छु । सञ्चारमन्त्रीको हैसियतमा पनि म आफैं भन्न सक्छु कि सफल सञ्चारमन्त्रीको रूपमा दरिएको छु । म कहीँ चुकिनँ । ३ वर्ष ६ महिना ७ दिन मुख्यमन्त्रीको जिम्मेवारीमा रहँदा मैले त्यसलाई कायम राखेको छु । यतिबेला एउटा परिपक्व नेताको रूपमा स्थापित गरेको छु । भोजपुरले गर्व गर्नसक्ने नेताको रुपमा आफूलाई उभ्याएको छु ।
यति हुँदै गर्दा सम्भावनाको हिसाबले भोलि हिजोको भन्दा ठूलो जिम्मेवारीको सम्भावना यो व्यक्तिले बोकेको छ भन्ने मनोविज्ञान छ । मैले सञ्चारमन्त्री हुँदे गर्दा र मुख्यमन्त्रीको दाबेदारीका साथ चुनाव लड्दा भनेको थिएँ कि जिल्लाबासीलाई खाली माग्ने माननीयको रूपबाहेक हामीले डाडुपन्यूँ चलाउने हैसियत बनाउन सकेनौं त्यही भएर अब माग्ने होइन आफैँ पस्किने ठाउँमा पुग्नुपर्छ । एउटा माननीय मात्रको काम भनेको संसदमा गएर हाजिर गर्ने, एक मिनेटको शून्य र तीन मिनेटको विशेष समयमा केही कुरा बोल्ने त्यसपछि मन्त्री, मन्त्रालय र विभाग धाउने कसैले दिए भने लिएर जानेभन्दा केही हुँदो रहेनछ । डाडुपन्यू लिएर बाँड्ने नभइ नहुने रहेछ । आज मैले यो हैसियत बनाएको छु भनेर चुनाव लडेँ । र, डाडुपन्यू लिएर भोजपुरका लागि यो-यो योगदान गरेको छु भन्ने ठाउँमा छु म यतिबेला ।
म यसै मिडियाबाट जानकारी गराउन चाहन्छुकी प्रदेशका १४ वटा जिल्लाको नेतृत्व गर्दै गर्दा समग्र प्रदेशभरिको विकास, सन्तुलित बजेट, कार्यक्रम बाँडफाँट गर्नुपर्ने त छँदैथ्यो । तर, डाडुपन्यू हातमा भएर थोरै वल्टोकोल्टो गर्नसक्दा निकै काम गर्न सकिने रहेछ भन्ने भोजपुरमा मैले साढे ३ वर्षमा झण्डै ५ अर्ब बजेट पठाउने काम गरेको छु । अंकमा ठ्याक्कै भन्दा ४ अर्ब ७७ करोडभन्दा अलि बढी पैसा गएको छ । तीनवटा बहुवर्षीय सडक अघि बढाएँ । भोजपुर एयरपोर्ट-सदरमुकामसम्मको सडक मैले शिलान्यास गरेको १६ महिनामा तयार भयो । २०औं वर्ष केन्द्रमा धाउँदा पनि पीच हुन नसकेको त्यो सडक मैले उद्घाटन गरेको दिन जनतामा खुसी छायो । उत्तरतर्फ षडानन्द नगरपालिकाको फालिदोबाटो-तुर्के सडक धमाधम बन्दैछ । दक्षिणमा भोजपुर-टक्सार-डढुवा-मानेभञ्ज्याङ-बैकुण्ठे हुँदै आमचोकसम्म पुग्ने कालोपत्रे सडक योजना पनि धमाधम भइरहेको छ । चारवटा मुख्यमन्त्री ग्रामीण सडक, ६० वटा ग्रामीण सडकहरू मर्मत, सुधार, स्तरोन्तिजस्ता काममा २ अर्ब ३७ करोड त सडकको शीर्षकमा मात्र राखेको छु । ११ वटा सडक पुलहरू तराईलाई भोजपुरसम्म छिटो मार्गमा जोड्नेगरी दूधकोशीमा बन्दैछ चुहारमा । जिल्लाभित्रका पुलमा झण्डै ८८ करोड बजेट लगानी भएको छ । तीमध्ये आधाजसो बनिसक्यो । पिखुवा, आरी, सिक्तेल, बेहेरेमा बनिसक्यो । ताँबुटारमा बन्दैछ । बङ्खुवा र याङ्खुवामा अरुणतर्फ पनि बन्दैछन् । लिफ्टिङ खानेपानी मात्र ११ वटा आयोजना सुरू गराएको छु । अरु २५ वटा खानेपानी आयोजना बन्दै छन् । झण्डै ६६ करोड बजेट पठाएको छु ।
खेलकुदतर्फको पूर्वाधारको कुरा गर्दा सदरमुकाममा १७ करोडको लगानीमा भव्य रंगशाला बनिसक्यो । अरु २५ वटा जिल्लाभर खेलकुद पूर्वाधार तयार भएको छ । पर्यटन क्षेत्रको कुरा गर्दा मुन्धुम ट्रेल विश्वमै नमूना परियोजनाको रूपमा लगानी गरिएको छ । पर्यटन क्षेत्रमा लगभग २८ करोड बजेट खर्च गरेका छौं । शिक्षा, स्वास्थ्यमा पनि त्यत्तिकै योजना छन् । साढे ३ वर्षमा पौने ५ अर्ब जिल्लामा भित्रिनु भनेको धेरैका निम्ति सपनाजस्तै हो । तर, सम्भव भयो । एउटा हैसियत भएको मान्छे जन्माउन, बनाउन र पुर्याउन सक्दा २०औं ५०औं वर्ष नभएका काम पूरा हुँदोरैछ नि । त्यसैले मैले भन्ने गरेको छु । हाम्रै पालामा हाम्रै हात र नेतृत्वबाट विकास र समृद्धि सम्भव रहेछ नि । यसकारण केही गरेको छ फलानाले गरेको छ । अब पनि केही गर्छ उसैले गर्छ भन्ने स्थापित भएको छ । अब चुनाव जित्यो भने यो भन्दा ठूलो जिम्मेवारी पाएर अझ बढी केही गर्नसक्छ भन्ने भोजपुरबासीमा मनोविज्ञान छ । म जनतामाझ जाँदै गर्दा एमालेको कार्यकर्ता र नेतामात्र भन्दा पनि आज मैले बनाको व्यक्तित्व र पहुँचका हिसाबले म भोजपुरको साझा सम्पत्ति बनिसकेको छु । जिल्ला बनाउने, देश बनाउने सपनाका साथ मैले आफूलाई राजनीतिमा समर्पित गरेको छु । भोजपुरलाई थप उचाइमा लैजान आज मेरो नेतृत्वको आवश्यकता छ । म त्यो खुलेर भन्न सक्छु ।
– गरेका काम त भनिसक्नुभयो । अब चाहिँ के-के गर्छु भनेर जानुहुन्छ मतदातामा ? एजेण्डा के छन् ?
जनताको घरदैलोमा जाँदा मैले अघि भनेका काम जोड्नुपर्ने हुन्छ । थालेका काम र त्यसलाई पूरा गर्ने कुरा छन् । चुहारको पुल सक्नुपर्यो । संघीय सरकारको बजेटबाट सुनबालुवा, रानीटारको पुल, लम्सुवा घाटको पुल धिमाहा गतिमा छन् त्यसलाई छिटो सक्नुपर्नेछ । सतीघाटको पुलका लागि मैले राखेको बजेट ठेक्का प्रक्रियामा छ । त्यसलाई पनि छिट्टो अघि बढाउनुपर्नेछ । कोशी राजमार्गको वैकल्पिक राजमार्गको रूपमा चतरा-हसनपुर-घोडेटार-भोजपुर-दिङ्ला-संखुवासभा हुँदै चीनको नाका किमाथाङ्का जोड्नेगरीको सडक परियोजना एडीबीको फण्डिङमा पहिलो चरणमा कामको सुरू भइसक्यो । यीनलाई प्राथमिकतामा राख्ने । पालिकाबाट सदरमुकाम, पालिकाबाट हाइवे, वडाबाट पालिका कम्तीमा पीच तत्काल नभए पनि हिउँद बर्खा चल्ने गरी बनाउनुपर्नेछ । मध्यपहाडी राजमार्गकेन्द्रित जरायोटार, प्याउली, तिवारीभञ्ज्याङ, हिलेभञ्ज्याङ, श्यामसिला, दावाँ बजार, अन्नपूर्ण, चखेवालगायतको पनि बजार व्यवस्थित गर्नुछ । आउने ३ वर्षभित्र सबैको घरमा बत्ती पुर्याएर ‘उज्यालो जिल्ला’ घोषणा गर्नुछ । शिक्षालाई प्राविधिक धारसँग जोड्ने, कृषिलाई प्राथमिकता दिने, मुन्धुम ट्रेलको अझ प्रबर्द्धन गर्नेलगायतका काम गर्नुछ । यी काम पूरा गर्न पहुँच भएको र गर्नसक्ने मान्छे आवश्यक छ । मागेर मात्र सम्भव हुँदैन । दिनसक्ने हैसियतकै पुग्नुपर्छ । हामी योजनाबद्ध खाका साथ अघि बढेका छौं । त्यसका लागि एमाले भोजपुरले सबै दल, पालिकासँग समन्वय गरेर बढीभन्दा बढी जनसहभागितामा गुरुयोजना बनाइसकेको छ ।
– गठबन्धन एकातिर एमाले अर्कोतिर अहिलेको अवस्थामा भोजपुरमा यसपटकको भीडन्त रोचक नै देखिन्छ । अझ गठबन्धनबाट माओवादीका सुदन किरातीसँग तपाईँको तेस्रो भेट पक्कापक्की जत्तिकै छ । सुदनसँग तपाईँ एकपटक हार्नुभो, एकपटक तपाईँले हराउनुभो । ७४ मा त वामगठबन्धन थियो । कस्तो रहला त यो पटकको लडाइँ ?
स्थानीय चुनावमा पनि गठबन्धन भर्सेस एमाले भयो । यदी भत्किएन भने अबको चुनाव पनि गठबन्धनसँगै हुनेछ । यसका लागि हामी तयार छौं । भोजपुरमा पनि यही मनस्थितिका साथ अघि बढिसकेका छौं । सुदनजी र मबीच दुईपटक प्रतिस्पर्धा भएको छ । सम्भवत: आउने चुनावमा पनि हाम्रो बीचमा प्रतिस्पर्धा हुँदैछ । र, त्यो रोचक नै हुनेछ । मैले भोजपुरबासीको विचार, कुराकानी सुनिरहेको छु । भोजपुरको सन्दर्भमा गठबन्धन र एमालेको तुलना हुने स्थिति देखिँदैन । एमाले भोजपुरमा कहिल्ये नहल्लिएको पार्टी । एउटा हावाहुरी आयो (हाँस्दै) ६४ मा त्यो देशैभरी आयो । त्यसभन्दा अघि वा पछाडि एमालेले विजयको झण्डा गाड्दै आएको जिल्ला हो । त्यो त्यस्तो माटो हो अहिले पनि एमाले एक्लै अगाडि छ । सबै दल जोडेर हेर्दा अलिकति पछि जस्तो त देखिएला ।
– गठबन्धन हुँदा अलि भारी पर्ला नि ?
आउने चुनावमा त्यस्तो हुँदैन । दल खप्ठ्याएर जोडेर हेर्दा त उहाँहरूको अलिकति माथि देखिन्छ । तर, जनमतमा त्यस्तो हुँदैन । उम्मेदवारको तुलना पनि सायद हुन्छजस्तो लाग्दैन । यद्यपि यो जनताको रोजाइ र छनौटको कुरा हो । मतदातामाझ यो कुरा सुम्पन चाहन्छु ।
– केही दिनअघि तपाईँको प्रतिस्पर्धी सुदन किरातीले हामीसँगको कुराकानीमा कसले कति गर्यो हामी दुवैजनाको बही खाता जनताले बोकेर बसेका छन् भन्नुभयो । तुलना हुँदैन भन्दै गर्दा गठबन्धनमा केही गडबढ पनि हुनुपर्यो होला ?
बही वहाले भन्नुभो सही नै भन्नुभो । मतदाताले हिसाब-किताब राखेर बस्नुभएको छ । त्यो खाता खोलिन्छ । यो ५ वर्षमा संघीय माननीयको हैसियतमा उहाँले के-के गर्नुभो ? त्यो उहाँले भन्नुपर्ने हुन्छ । मैले साढे ३ वर्षमा के-के गरेँ त्यो मैले अघि भनि नै सकेँ । झण्डै ५ अर्बको बजेट त भोजपुरलाई संघीय प्रणालीको उपहार दिइनै सकेको छु । यो सबै खाताहरूमा आउँछ नै । यही बजेट तथा कार्यक्रमको हिसाबले पनि तुलना त नहुने नै भयो नि । उहाँले यसो सांसद विकास कोषको हिसाबले कति करोड आयो होला । तर, अरब त नाघ्दैन । हिसाबकिताब गर्ने, तुलना गर्ने, नम्बर दिने अनि साथ सबै अधिकार जनतामा रहेकोले भोजपुरका मतदातामाझ नै म यसको छिनोफानोको जिम्मेवारी सुम्पिन चाहन्छु । म त्यो मूल्याकंनको कठघरामा शीर ठाडो पारेर उभिन चाहन्छु र तयार पनि छु ।
– कतिपयले शेरधन राईलाई भाग्य खुलेको नेताका रूपमा पनि व्याख्या गर्छन् । माले-एमाले फुट्दा एमालेको नेतृत्वदेखि सांसदसम्म । अशोक राई, जिल्लाका नेताहरू हेमराज राई, अजम्बरलगायतका नेता एमाले छाड्दा तपाईँलाई नै फाइदा । यसो हेर्दा पनि सरसर्ती यस्तै पनि देखिन्छ नि हैन ?
म लट्री परेर, कसैको आशीर्वादमा, कसैले टीका लगाइदिएरु म आइराखेको छैन । म आफ्नै इमान नैतिक मूल्यको जग, क्षमता र आफ्नै विवेकबाट मूलबाटोमा हिँडिराखेको छु । मैले अहिलेसम्म जे जिम्मेवारी पाएँ राम्ररी निर्वाह गर्दै आएँ । भोजपुरमा चार-चार पटक नेतृत्व सम्हाल्दै गर्दा जिल्ला अधिवेशनहरू सर्वसम्मत भयो । वैकल्पिक केन्द्रीय सदस्य भएँ, पोलिटब्यूरो हुँदै युवा इन्चार्ज भएँ । युवाको लामो समयको क्रोनिक समस्या मैले समाधान गरेँ । संसदीय समितिको सभापतिको जिम्मेवारीमा हुँदा राम्ररी पूरा गरेँ । त्यससपछि सरकारको प्रवक्ताको जिम्मेवारी पनि पूरा गरेँ । त्यसपछि मुख्यमन्त्री बन्न यो योग्य भयो भनेर लिडरसिपले पत्यायो । मेरो आफ्नै मेहनत, श्रम र सफलताले नम्बर बढ्दै गएर जिम्मेवारी पनि थपिँदै गयो ।
– शेरधन राईमाथि लाग्ने एउटा आरोप के छ भने तीनजनामध्ये लामो समय प्रदेश १ को नेतृत्व सम्हाल्दै गर्दा एमाले पहिलो दल हुँदा माथि पनि एमालेकै सरकार हुँदा पनि नामाकरणमा चुक्यो । गठबन्धनले तपाईँविरुद्धको एउटा चुनावी एजेण्डा यसलाई पनि बनाइरहेका छन् । नचाहेको कि नसकेको ?
मैले राख्न सकिन मभन्दा पछिका दुईजना मुख्यमन्त्रीले के गर्नुभो भन्ने पनि सँगसँगै जोडिन्छ । पहिलो र अलि लामो समय मुख्यमन्त्रीको जिम्मेवारी बोकेको हैसियतले म यो प्रश्नको कठघरामा उभिनैपर्छ । अलि बढी प्रश्न मतिर तेर्सिन्छ । तर, मलाई सजिलो छ- किनभने मपछिका दोस्रो या तेस्रो मुख्यमन्त्रीले प्रदेशको नाम दिनुभएको भए एउटा नामर्द नामसम्म राख्न नसकेको असक्षम अयोग्य भन्ने स्पेस हुन्थ्यो । यो असाध्य धेरै बिक्न सक्थ्यो होला । तर, अरुले पनि सक्नुभएन ।
किन नाम राख्न सकिएन भन्ने चुरोमा पनि जानुपर्यो । मैले नेतृत्वको गरेको संसदीय दलमा दुईतिहाइ थियो । खप्टेर गन्दा दुईतिहाइ, नेकपा भन्दा एउटै तर मत र विचारमा जाँदा जाँदा अलगअलग अवस्था थियो । दुई दिन छलफल चलाउँदा पनि सकिनँ । कांग्रेस पनि तयार भएन । राजधानी तोक्नेक्रममा पनि मैले छलफल चलाएँ । कुनै पनि दल तयार भएनन् । कांग्रेस र अरु दलले अहिले थाती राखौं हामीभित्रै पनि विभिन्न मतहरू छन् । समय चाहिन्छ भने । छलफल र परामर्श गर्दै आइयो । कोभिडले बैठक बाक्लो बस्ने स्थिति आयो । पछि राजनीतिक कोभिडले फेरि हामी सबैलाई संक्रमित गर्यो । ५ वर्षका लागि निर्वाचित भएको मुख्यमन्त्री साढे ३ वर्षमै छाड्नुपर्यो । नाम राखेन भनेर बडो सजिलो गरी जोड्ने गरिएको छ । मुख्यमन्त्रीले तोक्ने प्रस्ताव गर्ने विषय थियो भने म १५ दिनभित्र गर्थे । तर, व्यवस्थापिका संसदले तोक्नुपर्ने विषय छ । संविधानले नै दुई तिहाइले टुंग्याउने भनेको छ । मुख्यमन्त्रीले त यसो सहजीकरण गर्ने गराउने मात्र हो । वस्थापिकाको अधिकार क्षेत्रभित्रको कुरालाई सकेन मुख्यमन्त्रीले भनेर मात्र हुँदैन ।
भीम आचार्य छोटो अवधिमा बाहिरिनै हाल्नुभो नामको स्थितिमा जानसक्ने अवस्था भएन । अहिलेको मुख्यमन्त्रीले त २/४ दिनमै टुंग्याइदिन्छु भनेजस्तो गर्नुभो एउटा सेन्टिमेन्टमा । विषय बुझेर वा नबुझेर फटाफट बोल्नुभो । बोलेजस्तो त थिएन । तेस्रो मुख्यमन्त्रीले सरकारको नीति तथा कार्यक्रममा नामका बारेमा कहिँ कमिटमेन्ट आएन । हामीले बोल्दा त्यो सोध्यौं । हाम्रो संसदीय दलको बैठक आयोजना गरेर पहल गरौं भनेर कार्यदल बनायौं छलफल सुरू गर्यौं । सभामुखले नै बैठक बोलाको बेला मुख्यमन्त्रीले नै छलफलको ढोका बन्द गर्दिनु भो । मैले भनेको नाम मान्यौं भने ठीक छ प्रक्रिया आरम्भ हुन्छ होइन भने दुईतिहाइ बनाएर कांग्रेस, एमाले अरु माननीयहरू आए म मञ्जुर छैन । प्रदेशसभा अहिले भंग गर्दिन्छु भनेपछि संवादको ढोकै बन्द भयो । तीनैजनाले नाम राख्न सकेनन् । मैले बोक्नुपर्ने कति मात्रा हो म त्यो बोक्न तयार छु मैले भनेकै छु । यो त मेरो टाउकोमा मात्र रहेन नि । अरुको थाप्लोमा पनि गयो । उहाँहरूको पालामा नाम पाको भा मलाई यसले नाम नै राख्न सकेन भन्थे अनुहार खुम्च्याउनुपर्थ्यो । तर खोइ त अहिले पनि । त्यो भएर यो अहिले बिक्दै बिक्दैन ।
– अन्तिममा फरक प्रसंग । तपाईँ पार्टी नेतृत्वमा पनि हुनुन्छ अहिले पछिल्लो समय चलेको हल्ला १० बुँदे पक्षधरलाई टिकट वितरणमा माफीसहित सर्तनामाको कुरो आइरहेको छ । त्यस्तो केही हो ?
सोर्है आना यो गलत हो । मान्छेहरू केही नपाएर एमालेमा लफडा छ भनेर मसला बनाउन खोजेका हुन् । लफडा चाहिँ गठबन्धनमा छ । भागबण्डामा उनीहरू अलमलिरहेका छन् । एमालेमा केही नै समस्या छैन । धेरैजसो सिंगल नामहरू प्रस्ताव भएको छ । सिफारिस भएको छ । यो कृतिम हल्ला हो । एमालेमा कुनै सर्त, भेदभाव दृष्टि पार्टी र नेतृत्वले न गरेको छ न त गर्छ नै । अब केही दिनमा सीट टुंगिँदैछ ।
महत्वपूर्ण समयका लागि यहाँलाई धन्यवाद ।