जनकपुरको राजदेवी मन्दिरमा बाजागाजासहित भित्र्याइयो बेल


जनकपुरधाम । वडा दशैंको सातौँ दिन आज जनकपुरधामको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिरमा पनि फूलपाती भित्र्याइएको छ ।
फूलपातीको विधिलाई तराई/मधेसमा बेलतोरी विधि भनिन्छ । बाजागाजासहित हिजो आमन्त्रण गरिएको बेलको विधिपूर्वक पूजापाठ गरी आज मन्दिरमा भित्राइएको छ ।
बेलको रुखमा एउटै हाँगामा फलेको एक जोडा बेललाई कपडाले बाँधेर निमन्त्रणा दिने चलन छ । सोही अनुसार हिजो बेललाई विधिपूर्वक निमन्त्रणा दिइएको थियो ।
आज सो बेलको पूजापाठ पश्चात् तोडेर डोलामा सजाई भगवतीको रूपमा ल्याएर देवीको प्रतिमामा विराजमान गराइएपछि फूलपाती सम्पन्न भएको छ ।
फूलपाती विधिमा एमाले नेतृ तथा पूर्वमन्त्री जुली महासेठ, साधु सन्त, सुरक्षाकर्मी र सयौँको संख्यामा सर्वसाधारण सहभागी थिए ।
सशस्त्र प्रहरी र नेपाली सेनाले दुई/दुई तोपको सलामी समेत अर्पण गरे ।