कांग्रेसको बन्ध्याकरण–‘देउवा परिवार’को हल्लीचल्ली, जनप्रिय र निष्ठावानको विचल्ली – Nepal Press
विचार

कांग्रेसको बन्ध्याकरण–‘देउवा परिवार’को हल्लीचल्ली, जनप्रिय र निष्ठावानको विचल्ली

नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टीको रूपमा परिचित नेपाली कांग्रेस आज ‘लङ्गडो’ बनेको छ । अर्थात् ऊ विनासहारा बाँच्न नसक्ने भएको छ । कांग्रेस पार्टीको स्थापनाकालदेखि अहिलेसम्मको अवधिलाई मिहिन ढंगले केलाउने हो भने यस्तो हालतमा कसरी आइपुग्यो धेरै घोत्लिन पर्देन । तर, घोत्लिने, गहिराइमा समीक्षा गर्ने ल्याकत आफैंले आफैंलाई प्रजातान्त्रिक दाबी गर्नेहरूसँग छैन । यही नै हो, अहिलेको नेपाली कांग्रेसको समस्या ।

कुनै समय थियो, देश नै काँग्रेसमय । फरक विचार समूहलाई बाँच्न नै कठिन, तर समय फेरिएको छ । अहिले कांग्रेस फरक विचार समूहविना बाँच्न सक्दैन । फरक यति हो । यति धेरै परनिर्भरतामा कसरी पुग्यो कांग्रेस ?

जतिसुकै लोकतन्त्र, प्रजातन्त्र र विचारको सम्मान भनेता पनि त्यो त देखाउने दाँत मात्र रहेछ । काग्रेसमा भएको यही हो । पार्टीभित्रको विचार समूह पनि शक्ति र सत्ताको अगाडि लाचार हुँदो रहेछ, छायामा पर्दो रहेछ । जुन कांग्रेसको पछिल्लो महाधिवेशनमा ह्वाङ्गै भयो । १४औं महाधिवेशनको अघिल्लो दिनसम्म देउवाको विरोध गर्ने रामचन्द्र पौडल हुन् वा प्रकाशमान सिंह । यिनीहरूको विचार हेर्दा लाग्दथ्यो, अब कांग्रेसमा देउवाका विकल्प धेरै छन् । यति धेरै देउवाविरोधी स्वरहरू गुन्जिँदा देउवाको विरोध गर्नुभन्दा नेतामा अरु भाषण नै छैनजस्तो आभाष हुन्थ्यो ।

देउवाविरोधी नेताहरूको यो अभिव्यक्तिले जुर्मराएको कार्यकर्ता अब साँच्चै काग्रेसभित्र नेतृत्व र देशमा परिवर्तन हुने आशामा थिए । तर, देउवाका कट्टर विरोधी पौडेल नै उनको सारथी बनेसी आशामा तुवाँलो लाग्यो । अवसर नपाउँदा क्रान्तिकारी कुरा गर्ने प्रकाशमान सत्ता र शक्तिका लागि देउवाका पाउमा तत् शरणम भए । विमलेन्द्र निधि त त्यसै पनि देउवाका गुलाम नै थिए, देउवाले उठाएका पात्र । उनको समीक्षा नै असान्दर्भिक हुन्छ । फरक विचार समूह बोकेका शेखर कोइराला देउवाका १४औं महाधिवेशनमा कडा प्रतिस्पर्धी देखिए । नेतृत्व र शैली परिवर्तनका लागि लड्नेहरू शेखरको साथमा अविरल लागिरहे । महाधिवेशनमा भएको भीडन्तमा देउवाले २२५८ मत, शेखरले १७०२ मत, प्रकाशमान सिंहले ३७१ मत विमलेन्द्र निधिले २५० मत र कल्याण गुरुङ्गले २२ मत प्राप्त गरे ।

देउवा सारमा नेतृत्व गर्ने व्यक्ति होइनन् । व्यक्तिकेन्द्रित राजनीतिमा सफल देउवा जति पटक देशका प्रधानमन्त्री बने, देश र जनताले सम्झनलायक काम गरेनन् । यत्रतत्र विवादित देउवा कांग्रेसभित्रका सबैभन्दा अलोकप्रिय सभापति र प्रधानमन्त्रीसमेत हुन् । यो आम जनता र स्वयं कांग्रेस कार्यकर्ताको मूल्यांकन हो । तर, पनि फेरि देउवा ! प्रश्न यहीँ गम्भीर छ । यति धेरै अलोकप्रिय, असफल नेता पुन: पार्टी सभापति र प्रधानमन्त्री । पार्टी सामूहिकतामा चल्दछ भन्नेलाई गज्जबको झापड हो, देउवाको पुन: आगमन । कांग्रेस सामूहिकतामा नभई देउवाको इच्छा र चाहनाले चल्दछ भन्ने महाधिवेशनले मात्र होइन गएको स्थानीय चुनावले पुष्टि गरिसकेको छ । यो सिलसिला आसन्न मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा पनि थप उदाङ्गो बनाउँदैछ ।

१३ देखि १४औं महाधिवेशनको अवधिसम्म देउवाको सबैभन्दा ठूलो प्रतिपक्षका रूपमा थिए वरिष्ठ नेता रामचन्द्र पौडेल । नेतृत्वको नेतृत्वदायी भूमिकाको परीक्षण अप्ठ्यारो बेला हुने गर्छ । रामचन्द्रको परीक्षण पनि यही सन्दर्भमा भयो । त्यसैले उनको राजनीति भूमिका पनि यहीँबाट खुम्चियो । पदका लागि जता पनि बग्न सक्ने रामचन्द्रको हैसियत आम कार्यकर्ता र जनताले नजिकबाट बुझे । देउवाको राष्ट्रपति र अबको प्रधानमन्त्रीको उधारो आश्वासनमा फसेका पौडेल त्यसपछि देउवाका सवैभन्दा नजिकका पात्र बन्न पुगे । बाबु गणेशमानको नाम बेचेर राजनीतिमा सधैँ शक्ति र सत्तामा रहन माहिर प्रकाशमान पनि देउवाका शक्तिका अगाडि लाचार बने । नेतृत्व परिवर्तनको यो संघारमा रामचन्द्र र प्रकाशमानले शेखर कोइरालालाई साथ दिएको भए, देउवा न पार्टी सभापति हुन्थे, न प्रधानमन्त्री । तर, जब राजनीतिमा इमान र नैतिकताका साथ आवश्यकतामा जोड दिइँदैन, रामचन्द्र र प्रकाशमानसिंह जस्ता लेन्डुप दोर्जेहरूले देश र जनतालाई बन्धक बनाइराख्छन् । यी दुई नेताको भूमिका पनि यही हो । जसले आफ्नो राजनैतिक करिअर त सके नै, देश र जनताको भविश्यमाथि नै खेलबाड गर्ने पात्रका रूपमा दर्ज भए ।

१४औं महाधिवेशनको पहिलो प्रतिस्पर्धामा शेखरले १७०२ ल्याउँदा देउवाले २२५८ मत ल्याएका थिए । प्रकाशमान, विमलेन्द्र र कल्याणको मत मात्र ६४३ थियो । दोस्रो चरणका चुनावमा रामचन्द्र र प्रकाशमान शेखर कोइरालाको पक्षमा उभिएको भए शेखर सभापति बन्ने निश्चित थियो । तर, रामचन्द्र र प्रकाशमान पनि देउवाको कुटिल चालको साक्षी बने । कांग्रेसलाई यथास्थिति परिवर्तनविरोधी र लङ्गडो कांग्रेस बनाउन अहं भूमिका खेले ।

शेखरको १७०२ मत र देउवा बाहेकका ६४३ मत एकठाँउमा हुदाँ स्वत: शेखर नेपाली काग्रेसको १४ औ अधिवेशवाट निर्वाचित सभापति बन्थे । शेखर सभापति भएका भए कांग्रेस पुनर्जागृत र भरिलो बन्थ्यो । तर, नेतृत्वको सत्तालिप्सा, व्यक्तिकेन्द्रित र असक्षमताका कारण आज कांग्रेस दिन दुगुना, रात चौगुना ओरालो लाग्दैछ भने सभापति देउवा ज्योतिषीको भविश्यवाणी पूरा गर्न गठबन्धनका नारा ओकलिरहेका छन् ।

सत्तालिप्सा, असक्षमता र व्यक्तिकेन्द्रित राजनितीले देश र जनतालाई कति असर पार्दछ भन्ने कुराको उदाहरण हुन् देउवा । सभापति के का लागि ? प्रधानमन्त्री के का लागि ? पुन: सभापति र प्रधानमन्त्री हुनका लागि गरिएको तिकडममा आज कांग्रेसका निष्ठावान कार्यकर्ताहरू बिचल्ली बनेका छन् भने देश खोक्रो बनेको छ तैपनि नेताहरू गुलामी र चाकडीबाजमा नै आफ्नो भविष्य खोजिरहेका छन् । यही नै हो कांग्रेसको दुर्दशा । जसका कारण आम जनताले दु:ख, सास्ती भोगिरहेका छन् ।

प्रजातन्त्र र लोकतन्त्र पनि शक्ति र सत्ताका अगाडि लाचार हुने रहेछ, जुन देउवाले पुष्टि गरेर देखाइदिए । पटक-पटक शक्ति र सत्ता प्राप्तिका चालमा लोकतन्त्रका दाबेदारहरू नतमस्तक बनाइदिए । देउवाको यो व्यक्तिगत क्षमता हो । जहाँ देश र जनताको स्वार्थ लुकेको पाइँदैन । व्यक्तिको स्वार्थताका अगाडि देश नै बन्धक बन्दो रहेछ । अहिले नेपाली कांग्रेस र प्रधानमन्त्री देउवाको अवस्था योभन्दा भिन्न छैन ।

सधैँ लोकतन्त्र र प्रजातन्त्रको लडाइँ लडेको दावा गर्नेहरू अहिले देउवाको तानाशाही प्रवृत्तिको गुलाम बनेका छन् । देउवाको गुलामीभित्र प्रजातन्त्र र विकास देख्नेहरूले कांग्रेस र देशलाई नै लङ्गडो बनाएका छन् । देशको नै सबैभन्दा ठूलो पार्टी कांग्रेस र त्यसको नेतृत्व शेरबहादुर देउवा आज देशमा हुने कुनै पनि चुनाव एक्लै लड्ने हिम्मत राख्दैनन् । योभन्दा लज्जाको विषय अन्य के होला र ? गठबन्धन देश र जनताको हितमा छ ? शेरबहादुर देउवा र रामचन्द्र पौडेलबाहेक सवै गठबन्धनको विरुद्धमा छन् । तर, पनि नेतृत्वको अधिनायकत्वमा सती जानेहरूको कमी छैन, अबको चुनाव पनि यही हो । लोकतन्त्रमा प्रतिस्पर्धा सुन्दर पक्ष हो । कांग्रेसमा आस्थावान, त्याग, तपस्या र बलिदानीबाट बनेको यो सुन्दर पार्टी कहिल्यै उठ्न नसक्ने बनाउने पात्र हुन् देउवा । जसले लोकतन्त्रको नाममा जनमतको हुर्मत लिए ।

सबैभन्दा लामो समय सत्तामा रहेको कांग्रेस आज सत्तामा रहेर पनि कसैको वैशाखीमा हिँड्नै पर्ने बाध्यतामा छ । सत्तामा रहेर विपक्षी पार्टी एमालेविरुद्ध गठबन्धन, लोकतन्त्रमा जे पनि सहज हुने रहेछ । सत्ताबाहिर रहेका दलहरूको बीचमा गठबन्धन स्वाभाविक भएता पनि सत्तामा आसिन दलहरू नै गठवन्धन गरी विपक्षी पार्टीसँग लड्नुपर्ने बाध्यतामा देउवाले नै पुर्‍याए । आम कार्यकर्ताको भावना र विचारविपरीत सबैभन्दा ठूलो राजनीतिक प्रतिस्पर्धा र दुश्मन बनेको माओवादीसँगको गठबन्धनमा रमाएका छन् उनी । यो देश र जनताको लागि नभई देउवालाई पुन: प्रधानमन्त्री र रामचन्द्रलाई राष्ट्रपति वन्ने लालसाबाहेक केही होइन । रामचन्द्रलाई प्रधानमन्त्रीको लालसा देखाएर पार्टीभित्र शक्ति आर्जन गर्ने देउवाको रणनीति भनेको आफैं पुन: प्रधानमन्त्री बन्ने नै हो । देउवालाई पटक-पटक प्रधानमन्त्री बनाएर कांग्रेसले कस्तो लोकतन्त्र र प्रजातन्त्र अनि विकासको कुरा गरेको हो, लाज नै लजाउँछ ।

नेपाली कांग्रेसका तमाम कार्यकर्ताहरू कोही देउवाका पाउ मोल्दैछन् भने कोही उत्पीडन, अत्याचार र अधिनायकवादविरुद्ध संघर्ष गर्देछन् । जसले देउवाविरोधी गतिविधिमा सक्रिय सहभागिता जनाए उनीहरू नै हुन् कांग्रेसका सच्चा कार्यकर्ता । जसले देश र जनता परिवर्तनका नारा ओरालिरहनेछन् ।

देशलाई धेरै समय बन्धक बनाइसकेका देउवाको बहिर्गमनले नै देश र कांग्रेसका लागि हितकर हुनेछ । किनकी देउवा पटक-पटक असफलसिद्ध भइसके । हरेक राजनीतिक परिवर्तनमा गौरवशाली इतिहास बोकेको पुरानो र ठूलो पार्टी कसैको वैशाखीविना हिँड्न नसक्ने बनाउने देउवावाट अब कांग्रेस र देश परिवर्तनका आशा राख्नु भनेको मुर्खता शिवाय केही होइन ।


प्रतिक्रिया

One thought on “कांग्रेसको बन्ध्याकरण–‘देउवा परिवार’को हल्लीचल्ली, जनप्रिय र निष्ठावानको विचल्ली

  1. घिन लाग्दो बिचार । सँकुचित मानसिकताको उत्तेजना । उर्लदो आकाक्षाको बढ्दो निरासा । शेखरको फोटो राखेर लेख्ने । अनि देवत्वकरण गर्ने मतिहिन लेखक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर