झापामा एमाले-राप्रपा तालमेल हुँदा पाँचै क्षेत्रमा गठबन्धन पछाडि (मत भारसहित) – Nepal Press

झापामा एमाले-राप्रपा तालमेल हुँदा पाँचै क्षेत्रमा गठबन्धन पछाडि (मत भारसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला झापामा दुई दलबीच चुनावी तालमेलको सहमति भएको छ । त्यसलाई औपचारिकता दिन बालकोटमा दुवै पक्षका नेताहरूबिच सम्झौता हुँदैछ

झापाका ५ निर्वाचन क्षेत्रमध्ये राप्रपाले अध्यक्ष लिङ्देन जितेको ३ नम्बर क्षेत्र पाउनेछ भने बाँकी चार सीट एमालेले पाउनेछ । त्यस्तै राप्रपाले प्रदेश सभातर्फ क्षेत्र नम्बर १ मा एउटा र क्षेत्र नम्बर ४ मा एउटा पाउने भएको छ ।

झापामा तेस्रो शक्ति रहेको राप्रपासँग एमालेको तालमेलसँगै सत्ता गठबन्धन सबै क्षेत्रमा स्थानीय चुनावको मतभार हेर्दा पछाडि पर्नेछ । झापामा नेकपा एसको मत अत्यन्तै कम रहेकाले गठबन्धनमा कांग्रेसलाई माओवादीको साथ हुँदा पनि मत धेरै दिन सक्ने अवस्था देखिँदैन । गठबन्धनमा माओवादीले २ र ५ नम्बर क्षेत्र पाउने भएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनलाई धेरै स्थानीय तहमा पराजित गर्दै एमाले नै पहिलो शक्ति बनेको थियो ।

एमाले र सत्तारूढ गठबन्धन आमने–सामने हुँदा निर्णायक बनेको राप्रपाले एमालेसँग तालमेल गरेसँगै गठबन्धनलाई सबै क्षेत्रमा चुनौति हुनेछ । स्थानीय तहमा वडाध्यक्षहरूले पाएको मतका आधारमा पाँच वटै क्षेत्रमा एमाले राप्रपा गठबन्धनको मत बढी देखिन्छ ।

कुन क्षेत्रमा कस्तो समीकरण ?

झापा-१

यो क्षेत्रमा एमालेका अग्नि खरेल र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भिड्ने सम्भावना छ । यद्यपि एमालेबाट रवीन कोइरालाको दाबी पनि छ ।

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनले यहाँ वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतमा एमाले सबैभन्दा अगाडि देखिएको छ । उसका वडाध्यक्षका उम्मेदवारहरूले ३१ हजार २३२ मत ल्याउँदा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २४ हजार ५९ पाएका छन् । यस्तै गठबन्धनकै अन्य दलहरू माओवादी ३ हजार ९०५ र नेकपा एसले १ हजार २५२ मत पाएका छन् । गठबन्धनका दलको जोडफल २९ हजार २१६ मात्रै हुन्छ ।

यहाँ राप्रपाका वडाध्यक्षका उम्मेदवारले पाएको ५ हजार ९२२ मत एमालेमा थपिदा एमाले निकै माथि पुग्छ ।

झापा-२

एमाले वडाध्यक्षका उम्मेदवारहरूले ३६ हजार ३९६ मत बटुल्दा कांग्रेसका उम्मेदवारहरूले ३२ हजार ६७२, माओवादी केन्द्रका उम्मेदवारहरूले २ हजार ४३७, जसपाका उम्मेदवारहरूले ५०६ र नेकपा एसका उम्मेदवारहरूले १७३ मत बटुलेका छन् ।

सत्तारूढ गठबन्धनका उम्मेदवारहरूको योगफल ३५ हजार ७८८ हुन आउँछ । जुन एमालेका उम्मेदवारभन्दा ६०८ मत कम हो । यहाँ राप्रपाका वडाध्यक्षका उम्मेदवारहरूले ९ हजार ५३१ मत पाएका छन् । यस कारण यो मतले एमालेलाई सुरक्षित जोनमा पुर्‍याउन सक्छ ।

झापा-३

२०७४ मा लिङदेनले सिटौलालाई हराएको क्षेत्र यही हो । अब पनि दुवै नेता आम्ने साम्ने हुने सम्भावना छ । अहिलेको स्थानीय तह निर्वाचनले यहाँ एक्ला एक्लैमा कांग्रेस बलियो देखिएको छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २५ हजार ९४९ मत बटुल्दा दोस्रोमा राप्रपा छ । जसका वडाध्यक्षका उम्मेदवारहरूले २१ हजार १५९ मत पाएका छन् । यस्तै तेस्रोमा एमालेको २१ हजार ८५मत, चौथोमा माओवादी केन्द्रको ६ हजार ६८८ मत, पाँचौँमा जसपाको ५३७ मत, छैटौँमा लोसपाको २०८ मत र नेकपा एसको १२ मत छ ।

एमाले र राप्रपाको मत जोड्दा यहाँ ४२ हजार २४४ हुन्छ भने सत्तारूढ गठबन्धनको ३३ हजार १८६ मत मात्रै हुन्छ ।

झापा-४

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट एमालेका लालप्रसाद साँवा लिम्बु ४३ हजार ५१५ मतसहित विजयी भएका थिए । कांग्रेसका देउकुमार थेवेले २६ हजार ८२२ मत पाएका थिए ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा दलका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतअनुसार यहाँ पनि राप्रपा नै निर्णायक देखिएको छ । यहाँ एमालेका उम्मेदवारहरूले ३१ हजार २७२ मत, कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २८ हजार १६५ मत, माओवादी केन्द्रका उम्मेदवारले ६ हजार ३८२ मत, राप्रपाका उम्मेदवारले ४ हजार ५५६ मत, नेकपा एसका उम्मेदवारले ७०२ मत, लोसपाका उम्मेदवारले २४८ मत र जसपाका उम्मेदवारले ११० मत पाएका छन् ।

एमाले राप्रपा तालमेलमा राप्रपाले कनकाई तर्फका एउटा प्रदेश सभा सीट समेत पाउने भएकाले साँवा बलियो बनेका छन् ।

झापा-५

यो एमाले अध्यक्ष ओलीको क्षेत्र हो । स्थानीय तहको निर्वाचनको नतिजा अनुसार यहाँ पनि राप्रपा नै निर्णायक देखिएको छ ।

यस क्षेत्रमा स्थानीय तह निर्वाचनमा एमाले एक्लैको ४१ हजार ६१९ मत छ । यस्तै सत्तारूढ गठबन्धनका कांग्रेसको २२ हजार २२, माओवादी केन्द्रको १० हजार ७८८ र नेकपा एसको १ हजार ९८८ मत छ । यसरी सत्तारूढ गठबन्धनका दलहरूको योगफल ३४ हजार ७९८ मत हुन्छ ।

जुन एमालेभन्दा ६ हजार ८२१ मत कम हो । यहाँ राप्रपाको ८ हजार ३५३ मत छ । गठबन्धनभन्दा एमाले एक्लै बलियो रहेको यो क्षेत्रमा राप्रपाको मत थपिँदा निकै फराकिलो मतान्तर देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर